समाज

कान्तिपुर टेलिभिजन प्रकरण : दीपालाई विभिन्‍न पेशागत संघसंस्थाद्वारा तत्काल पुनर्बहाली गर्न माग

इकागज |
बैशाख ८, २०७९ बिहीबार १२:२१ बजे

काठमाडौँ- कान्तिपुर मिडिया ग्रुपको कान्तिपुर टेलिभिजनले आफ्नो संस्थामा कार्यरत पत्रकार दिपा दाहाललाई पुरानो घटनाको प्रतिशोध साँधेर निश्कासन गरेकोमा विभिन्‍न पेशागत संघसंस्थाहरूले आफूहरूको गम्भीर ध्यानाकषर्ण भएको जनाएका छन् ।

विभिन्‍न पेशागत संघ संस्था तथा लब्ध प्रतिष्ठित पत्रकारहरूले आज बिहीबार संयुक्त अपील प्रकाशित गरी पत्रकार दाहाललाई अविलम्ब पुनर्बहाली गर्न माग गरेको छ । कान्तिपुर मिडिया ग्रुपकै कान्तिपुर एफएममा झण्डै एक दशक अघि दाहालले आफूमाथि भएको हिंसाको घटनाको विरोध गरेको बहानामा उनलाई कान्तिपुर टेलिभिजनले निकालेको (वि.स २०७८ मंसिर २८ गते) अपीलको निष्कर्ष छ । 


पत्रकार दाहाललाई पीडामाथि पीडा थप्ने कान्तिपुर टेलिभिजनको व्यवस्थापन र सम्पादकीय नेतृत्वको कदमविरुद्ध नेपाल पत्रकार महासंघले जारी राखेको आन्दोलनप्रति उनीहरूले आफ्नो पूर्ण समर्थन रहेको जनाएका छन् ।

‘पत्रकार दाहालमाथि भएको यो घटनाको जिम्मेवारी कान्तिपुर टेलिभिजनका साथै सिंगो कान्तिपुर मिडिया ग्रुपको व्यवस्थापन र सम्पादकीय नेतृत्वले लिनुपर्छ भन्‍ने हाम्रो माग छ,’ संयुक्त अपीलमा छ, ‘पत्रकार दाहाललाई यस मिडियाले सम्मानपूर्वक पुनर्बहालीको माग गर्दछौँ ।’

पत्रकार दाहालको न्यायका लागि नेपाल पत्रकार महासंघले पटक–पटक कान्तिपुर टेलिभिजनलाई पत्राचार गरेको तर त्यसको चित्तबुझ्दो जबाफ नदिएपछि महासंघले अघिल्लो महिना (२०७८ चैत्र १० गते) देखि त्यसविरुद्ध आन्दोलन गर्ने भनेर अन्तिम  जानकारी गराएको थियो । 

त्यसपछि कान्तिपुर मिडिया ग्रुप महासंघसँग वार्ता गर्न तयार भएको थियो ।  वार्तामा सहभागी कान्तिपुर मिडिया ग्रुपको व्यवस्थापनका प्रतिनिधि केशव खड्का र परमानन्द खनालले दाहालमाथि भएको अन्याय स्वीकार गरेतापनि त्यसपछि दाहाललाई न्याय दिन बेवास्ता गरेकाले महासंघ यही वैशाख ५ गतेदेखि आन्दोलनमा उत्रिएको अपीलमा उल्लेख छ ।

‘र, महासंघको यो आन्दोलनप्रति हाम्रो पूर्ण ऐक्यवद्धता छ । यी विषयसँग सम्बन्धित मागहरू यस मिडिया ग्रुपले पुरा नगर्दासम्म पत्रकार महासंघले थालेको आन्दोलनमा हाम्रो ऐक्यवद्धता निरन्तर रहने जानकारी गराउँछौँ,’ अपीलमा छ, ‘कान्तिपुर टेलिभिजनले त्यहाँ कार्यरत अन्य पत्रकारको पनि श्रमको सम्मान र लैंगिक संवेदनशीलतालाई विशेष ख्याल गर्दै उनीहरूलाई कामको वातावरण सुनिश्चित गर्नुपर्ने विषय निर्विवादित हो ।’

कान्तिपुर टेलिभिजनमा विभिन्‍न बाहानामा श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, दबाबपूर्ण विदामा राख्ने, तलव–भत्ता कटौती गर्ने, अनुचित सरुवा गर्ने र न्यूनतम पारिश्रमिक नदिनेजस्ता अनेक खाले समस्याहरू बढ्दै जान थालेको घटनाप्रति पनि आफूहरूको गम्भीर ध्यानाकषर्ण भएको उल्लेख छ  । ‘तसर्थ यो विषयमा पनि कान्तिपुर मिडिया ग्रुप गम्भीर हुन अनुरोध गर्दछौँ,’ अपीलमा छ ।

अपीलमा सरोकारवालाका मागहरू :
१) पत्रकार दिपा दाहाललाई पुनर्बहाली गर 
२) न्यूनतम पारिश्रमिक तत्काल लागू गर 
३) श्रमजिवी पत्रकार ऐनको कार्यान्वयन गर 
४) स्ट्रिन्जर र रिपोर्टरलाई स्थायी गर 
५) सरकारसँग लिएको सहुलियतपूर्ण ऋणलाई पत्रकारको हितमा लागू गर 
६) विभिन्‍न बहानामा निस्कासित पत्रकाहरूलाई पुर्नवहाली गर 

प्रतिवद्धता जनाउने पत्रकारिता क्षेत्रका संघ संस्थाहरू/पत्रकारमा बिमला तुम्खेवा (सञ्चारिका समूह, अध्यक्ष), संगिता लामा (कार्यवहाक अध्यक्ष, डब्लुडब्लुजे) सलोजा दाहाल (नेपाल प्रेस युनियन), हिरामान लामा (प्रेस चौतारी, महासचिव), विश्वमणी सुवेदी (समाजवादी प्रेस संगठन, वरिष्ठ उपाध्यक्ष), आस्था केसी (प्रेस सेन्टर नेपाल), नारायण शर्मा (प्रगतिशील पत्रकार संघ), गजुरधन राई (फोनिज) मोहन सिंह (मधेशी पत्रकार समाज), दामोदर प्रसाद दवाडी (लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाज) र नारायण शर्मा (प्रगतिशिल पत्रकार संघ) छन् ।

यसैगरी दाहालको पुनर्बहालीको माग गर्दै संयुक्त अपील गर्ने पत्रकारहरूमा पूनम पौड्याल, निशा वली, रामकला खड्का, राधा खानाल, लक्ष्मी बस्नेत, राधिका अधिकारी, मञ्जिमा ढकाल, पवित्रा सुनुवार, शुभेच्छा विन्दू, सुमन मानन्धर, नुनुता राई, मुकुन्द भण्डारी, यसोदा तिमिल्सिना, निर्मला शर्मा, दिपक आचार्य, अञ्जना शाह रावल, ईश्वर अर्याल, सुनिता मैनाली, सविता नेपाली, रामकृष्ण अधिकारी, विकास कार्की, वसन्ती बास्तोला, दिपा रेग्मी छन् ।

यसैगरी अधिकार क्षेत्रमा काम गर्ने संघ संस्थाहरू /अधिकारकर्मीहरूले पनि पत्रकार दाहालको पुनर्बहालीको माग गरेका छन् । यसरी माग गर्नेहरूमा डा. रेनु अधिकारी (अध्यक्ष,महिला पुन:स्थापना केन्द्र, ओरेक, निवर्तमान अध्यक्ष, महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल), प्रेरणा शाक्य (तरंगिनी फाउण्डेसन) सरिता तिवारी (सारथी), अर्चना थापा, मिना पौडेल, निती अर्याल, रेखा थापा, लुना भट्टराई, रक्षा बस्याल र अमृता लम्साल छन् ।

र, यो पनि


Author

थप समाचार
x