समाज

खुसी के हो हराएको बाइक भेट्नेलाई सोध्‍नुस्

सृजना खड्का |
चैत ११, २०७७ बुधबार ६:२९ बजे

काठमाडौँ : ललितपुर, इमाडोलका रिसभ यादव त्यस दिन आफ्नो पल्सर २२० बाइक चढेर दिदीको घर भक्तपुर गएका थिए । दिदीलाई गेटमै भेटेर घर फर्किने उनको सोच थियो । तर, दिदीले कफी पिएर जान जिद्धि गरेपछि उनले नकार्न सकेनन् । हतारमा बाइकमै चाबी छाडेर दिदीको घरभित्र पसे । 

यो १३ महिना पहिलेको कुरा हो । समय साँझ छ बजेको थियो । ‘दिदीले तयार गरेको कफी मैले हतार-हतार खाएँ,’ उनले भने, ‘पाँच मिनेटमा कफि खाएर तल झरे । तल झर्दा बाइक थिएन ।’ नजिकै एउटा भ्यान पार्किङ गरिरहेको थियो । रिसभले भ्यानका ड्राइभरलाई सोधे- यहाँको बाइक कता गयो थाहा पाउनुभयो ? उनको प्रश्नको जवाफ न ड्राइभरबाट आयो न ओल्लोपल्लो घरबाट ।


उनले त्यो बाइक डेढ वर्ष पहिले किनेका थिए । हराएको बाइक भेटिएला भन्‍ने आश कुनै कुनामा थिएन । ‘चोरले पार्टपार्ट झिकेर बेचिसक्यो होला भन्‍ने सोचेको थिएँ,’ उनले भने । त्यो बाइकको आश मारेर उनले नयाँ बाइक समेत किनिसकेका थिए । ‘कलेज टाढा भएकाले कलेज जानका लागि भएपनि नयाँ बाइक नकिनी सुख भएन,’ उनले भने, ‘बाइक चढ्ने बानी भइसकेको मान्छेलाई बाइक नहुँदा निकै गाह्रो भएको थियो ।’ 

गत शुक्रबार उनलाई नयाँ नम्बरबाट फोन आयो । उताबाट कसैको आवाज आयो - ‘तपाईँको बाइक भेटिएको छ ।’ रिसभ दंग परे । उनलाई विश्वास नै लागिरहेको थिएन । त्यस दिन उनी त्यो बाइक किनेको दिनभन्दा बढी खुशी भए । ‘त्यो मेरो जीवनको पहिलो बाइक थियो,’ उनले भने, ‘उसैगरी प्यारो पनि । जति घण्टा लागेपछि वर्कसपमा आफैँ बसेर सर्भिसिङ गराउँथेँ । आशै मरिसकेको बाइक भेटेपनि भुइँमा खुट्टा भएन ।’ 

उनी सोमबार ब्लूबुक लिएर बाइक लिन गए । ‘बाइक एक्सिडेन्ट गरेर छाडेको जस्तो थियो,’ उनले भने, ‘एक साइडको पुरै कामै नलाग्ने भएको थियो । वर्कसपवालाले बनाउन ४० हजार लाग्छ भनेको छ । जीवनको पहिलो बाइक अब जति हजार लागे पनि बनाउँछु ।’ 

भारती न्यौपानेको मित्रपार्कबाट हराएको प्लेजर स्कुटर टोखामा भेटियो । एक महिनाअघि उनको स्कुटर हरायो । बहिनीलाई भेट्न गएकी उनले त्यस दिन एउटा पार्टी प्यालेस बाहिर स्कुटर पार्किङ गरेकी थिइन् । आधा घण्टा बहिनीसँग भलाकुसारी गरेर निस्किदा उनको स्कुटर बाहिर थिएन । हराएपछि स्कुटरको खोजीमा उनी निकै भौतारिइन् । वरिपरिका सबैलाई सोधिन् । कतैपनि नभेटिएपनि उनलाई लाग्यो स्कुटर पक्कै चोरी भयो । ‘त्यो ट्राफिकले आएर लैजाने ठाउँ पनि थिएन,’ उनले भनिन्, ‘त्यसमा पनि राति ८ बजेको घटना हो । राति ट्राफिकले स्कुटर उठाउने चान्स नै थिएन ।’ 

स्कुटर हराएपछि कसैले उनलाई ‘भेटिन्छ नआत्तिनू’ भने, कसैबाट भने ‘अब आश मारे पनि हुन्छ’ भन्‍ने खालको प्रतिक्रिया आयो । त्यो उनको स्कुटर थिएन । आफ्नो स्कुटर एकजना भाइलाई दिएर उसको स्कुटर उनले चलाएकी थिइन् । ‘स्कुटर हराएपछि त्यो भाइलाई  पैसा तिर्नुपर्ने भएको थियो,’ उनले भनिन्, ‘आइतबार सहकारीबाट पैसा झिकेर दिनुपर्ला भन्‍ने सोचेको थिएँ । शुक्रबार बग्गीखानाबाट फोन आएर ‘तपाईँको स्कुटर भेटिएको छ भन्यो । असाध्यै खुशी लाग्यो ।’

स्कुटर हराएको एक महिना उनले निकै दुःख पाइन् । ‘बिहान म प्याकेटको दुधको पसलमा लैजाने काम गर्छु,’ उनले भनिन्, ‘स्कुटर हराएपछि हात खुट्टा सबै भाँचिएसरह भयो । यो एक महिना बोकेरै पसल- पसलमा दुध पुर्‍याउने काम गरे । पत्थरीको अपरेसन गरेको ज्यानले भारी बोक्नुपर्दा चोरलाई सराप्नु सरापेँ ।’

सुनेश लामाले ठमेलको पर्यटन प्रहरी पोस्ट अगाडि आफ्नो पल्सर २०० एनएस बाइक पार्क गरेका थिए । बाइक राखेर उनी तीन-चार घण्टा आफ्नो काममा लागे । फर्किएर आउँदा बाइक थिएन । बाइक नदेख्‍ने बित्तिकै उनले १०० मा फोन गरेर प्रहरीलाई खबर गरे । 

बाइक हराएको चार महिनापछि अचानक महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट उनलाई ‘बाइक भेटियो’ भन्दै फोन आयो । सोमबार उत्साहित हुँदै उनी बाइक लिन महाशाखा गए । त्यहाँ उनले आफ्नो बाइक नै चिन्‍न सकेनन् । नम्बर प्लेटदेखि बाइकका पार्टपूर्जा सबै परिवर्तन गरिएको थियो । ‘बाइक लिन जाँदा आफ्नो बाइक नै चिनिनँ,’ उनले भने, ‘ट्राफिकले मलाई यत्तिकै बोलायो कि क्या हो भन्‍ने पनि लागेको थियो । नम्बर प्लेटदेखि बाइकको प्रायः पार्टपूर्जा मोडिफाइ गरिएको थियो ।’ 

सुनेशको बौद्धमा रेस्टुरेन्ट छ । बाइक नहुँदा रेस्टुरेन्टको लागि सामान आवतनजावत गर्न उनलाई निकै मुस्किल पर्‍यो । उनले बाइक किनेको एक वर्ष पनि भएको थिए । त्यो बाइक भेटिएला भन्‍ने त झन् आशै थिएन । ‘बाइक भेटिएला भन्‍नेमा जेरो पर्सेन्ट पनि होप थिएन,’ उनले भने, ‘अस्ती अचानक म महाशाखाबाट फोन आउँदा म तीन छक परेँ ।’ 

त्यस्तै, स्मृति लामाको डियो स्कुटर हराएको तीन महिना भएको थियो । त्यसदिन उनी दिदीको घर गोंगबु गएकी थिइन् । एकैछिन बसेर निस्किहाल्ने उनको विचार थियो । १५ मिनेट दिदीसँग बसेर बाहिर निस्किदा उनको स्कुटर थिएन । ‘हराउला भन्‍ने डरले मैल ह्यान्डल लक गरेर राखेको थिएँ,’ उनले भनिन्, ‘ह्यान्डल लक गरेको स्कुटर राखेको ठाउँम नदेखेपछि मेरो सातोपुत्लो उडेको थियो ।’

त्यस दिन उनले निकै बेरसम्म धुइँधुइँ स्कुटर खोजिन् । नभेटिएपछि प्रहरीलाई खबर गरिन् । तर, स्कुटर फेरि फर्किएला भन्‍ने उनले सोचेकी थिइनन् । तर, महाशाखाबाट उनलाई पनि उसैगरी फोन आयो । हस्याङफस्याङ गर्दै उनी स्कुटर बुझ्न गइन् । तर, स्कुटर उनले जतनले चलाएको जस्तो कहाँ हुनु । ‘टायर पुरै फेर्नपर्ने भयो,’ उनले भनिन्, ‘ब्रेक पनि नलाग्‍ने भइसकेको थियो । स्कुटर सबै कोतारिएको थियो । आफूले जतनले चलाएको स्कुटर जताततै कोतरिएको थियो । हिजो बनाएर ल्याएँ ।’


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x