असंवेदनशील अड्डा : महिलाका विभिन्न अवस्था बुझ्ने व्यवस्था खै ?
काठमाडौं– काठमाडौँ असनस्थित त्यौड माविकी शिक्षक लक्ष्मी अर्यालको डेलिभरी डेट नजिकिँदै थियो । चिकित्सकले ‘आराम गर्नू’ भनी प्रेस्क्रिप्सन थमाएका थिए । लक्ष्मीले प्रधानाध्यापक सुरेन्द्र केसीलाई सुत्केरी बिदाका लागि निवेदन दिएकी थिइन् । तर, बिदा स्वीकृत हुनुको साटो उल्टै स्पष्टीकरण सोधियो । जागिर जान्छ भन्ने डरले अस्पताल भर्ना हुने दिनसम्म पनि उनले स्कुल गएर पढाइन् । २०७६ भदौ २ गते दिनभरि पढाएर साँझ थापाथलीस्थित प्रसूतिगृहमा भर्ना भइन् । उनको बच्चा अपरेसन गरेर निकालियो । तर, बच्चा मृत अवस्थामा थियो ।
घटनापछि लक्ष्मी न्यायका लागि राष्ट्रिय महिला आयोग हुँदै अदालतसम्म पुगिन् । संविधानको धारा ३८ मा ‘सुरक्षित मातृत्व वा प्रजननको हक’बारे उल्लेख गरिएको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनको दफा १३ मा ‘सुत्केरीअघि वा पछि ९८ दिन तलबी बिदा पाउने, त्यतिले अपुग भएमा डाक्टरको सिफारिसमा एक वर्ष बेतलबी बिदा पाउने’ उल्लेख छ । यो सुविधा सरकारी, गैरसरकारी र निजी संस्थामा काम गर्ने महिलाले पाउने ऐनमै व्यवस्था छ ।
तर, प्रधानाध्यापक केसीले शिक्षा नियमावली, २०५९ को नियम ११० मा उल्लेख गरिएको बिदा अधिकार नभएर सहुलियत मात्र हुने भन्ने व्यवस्थामा टेकेर बिदा स्वीकृत नगरेको बताएका थिए । अन्तमा गर्भवती लक्ष्मीलाई ‘यातनाजन्य व्यवहार’ गरेको मुद्दामा जिल्ला अदालत काठमाडौंले प्रधानाध्यापक केसीलाई दोषी ठहर गर्दै जरिवाना र क्षतिपूर्तिको आदेश दिएको थियो । डेढ वर्षपछि प्रधानाध्यापक केसी दोषी ठहर भएका थिए ।
०००
ललितपुर, बालकुमारी बस्ने अनुजा तिमल्सिना बिहेअघि एउटा एनजीओमा काम गर्थिन् । बिहेपछि अफिस टाढा भएकाले उनले जागिर छाडिन् । आफूलाई पायक पर्ने नजिकैको निजी कम्पनीमा जागिरका लागि आवेदन दिइन् । छनोटमा परेर उनलाई अन्तर्वार्ताका लागि बोलाइयो । अन्तरर्वार्तामा उनलाई उनको योग्यता, अनुभव र क्षमताबारे सोधिएन । ‘बिहे गर्नुभएको छ कि छैन ?’ भन्ने प्रश्न सबैभन्दा सुरुमा सोधियो । ‘मैले विवाहित हुँ, पहिलाको अफिस ओहोरदोहोर गर्न गाह्रो भएर नजिकै काम गर्ने विचार बनाएको हुँ भनेँ,’ उनले सुनाइन्, ‘मेरो जवाफ भुइँमा खस्न नपाउँदै बिहे गरेको हो भने त नराख्ने, एक दुई वर्ष हुन नपाई बच्चा पाइहाल्छन् सुत्केरीलाई बिदा पनि तलब पनि दिन सक्दैनौँ भन्ने जवाफ आयो ।’
कार्यालय प्रमुखको त्यस्तो प्रतिक्रिया सुनेर अनुजालाई भाउन्न छुट्यो । सर्टिफिकेट बोकेर ‘हवस् त’ भनेर निस्किनै लागेकी थिइन् । उताबाट प्रस्ताव आयो, ‘पाँच वर्षसम्म बच्चा नजन्माउने प्रतिबद्धता गर्नुहुन्छ भनेर जागिरमा राख्न सकिन्छ ।’ उनी केही नबोली त्यहाँबाट निस्किइन् । केही गर्छु भन्ने आत्मविश्वास बोकेर जागिर खोज्न जाँदा उनी यस्ता थुप्रै तीता अनुभवसँग ठोकिएकी छिन् । ‘बिहे कहिले गर्ने, आमा कहिले बन्ने त्यो त व्यक्तिगत स्वतन्त्रताको कुरा हो नि,’ उनले सुनाइन्, ‘तर, बिहे गर्दैमा, बच्चा पाउँदैमा कसैले काम नै गर्न नपाउने भन्ने पनि हुन्छ ?’
०००
बैंकमा काम गर्ने सिर्जना पौड्याल शर्मा सुत्केरी हुने अघिल्लो दिनसम्म कार्यालयमा गएर काम गरिन् । उनी क्यास काउन्टरको जिम्मेवारी सम्हाल्थिन् । ‘बिहानदेखि बेलुकासम्म क्यासमा श्वास फेर्ने फुर्सद पनि हुन्नथ्यो,’ उनले भनिन्, ‘बीचमा गाह्रो भयो भने निस्किन पनि मिल्दैनथ्यो । अफिसमा सुत्केरी हुनेअघि गर्भवतीले बिदा बस्न पाउने नियम पनि थिएन ।’ बल्लतल्ल पाएको जागिर सिर्जनालाई गर्भवती भएकै कारण गुमाउन मन थिएन । सुत्केरीपछि उनले दुई महिना तलबी र एक महिना बेतलबी बिदा पाइन् । तर, तीन महिना उनका लागि पर्याप्त भएन । उनी पुनः अफिस धाउन थालेको दुई हप्ता भयो । अफिसमा बच्चा लैजान मिल्ने वातावरण छैन । यता अफिसमा बच्चालाई सम्झिएर उनी छटपटिन्छिन्, उता घरमा उनलाई सम्झिएर बच्चा छटपटाउँछ । यता उनको दूध यत्तिकै खेर जान्छ, उता बच्चालाई परिवारले फर्मुला दूध खुवाउँछ । ‘दिउँसो एकपटक मिलाएर दूध खुवाउन घर जान्छु भन्ने सोचेको थिएँ,’ उनले भनिन्, ‘तर, बैंकमा आफूले कारोबार गरेको क्यास बीचमै छाडेर हिँड्न नमिल्ने भएकाले जान पाउँदिनँ । बच्चाको मायाले बेला–बेला जागिरै छाडौँ झैँ लाग्छ ।’
०००
उदयपुर, गाईघाटकी विनिता बस्नेत गर्भवती भएको आठ महिना भयो । अहिलेसम्म उनी नियमित अफिस ओहोरदोहोर गरिरहेकी छिन् । विनिता सब–इन्जिनियर हुन् । इन्जिनियर भएकाले उनी अफिसभन्दा बढी फिल्डमा खटिनुपर्छ । ‘अफिसभन्दा बढी फिल्डमा जानुपर्छ,’ उनले सुनाइन्, ‘हाकिमलाई फिल्डको काम घटाइदिनुप¥र्यो भनेर धेरै पटक अनुरोध गरिसकेँ । गाह्रो भयो भन्दा पनि सुनेको नसुन्यै गर्नुहुन्छ ।’ अफिसका साथीहरूबाट उनले केही दिनमा अर्को ठाउँमा सरुवा हुने हल्ला सुनेकी छिन् । ‘केही दिनमा अर्को ठाउँमा सरुवा गरिदिने हल्ला सुनेको छु,’ उनले सुनाइन्, ‘यस्तो अवस्थामा नयाँ ठाउँमा गएर थप जिम्मेवारी कसरी सम्हाल्नु सम्झिँदै अत्यास लागेर आउँछ ।’ बच्चा जन्मिनुअघि नै जागिर कसरी जोगाउने उनी चिन्तामा छिन् । ‘न घरमा कोही हेरिदिने मान्छे छ, न अफिसमा बच्चा लैजान मिल्छ,’ उनले भनिन्, ‘आजभोलि म हरेक दिनजस्तो यही सोचेर टोलाउँछु । त्यत्रो दुःख गरेर इन्जिनियरिङ पढियो अहिले आएर कि बच्चा कि काम रोज्नुपर्ने भयो ।’
‘महिलाको स्वास्थ्यप्रति असंवेदनशील सरकार–समाज’
जनस्वास्थ्यविज्ञ डा. अरुणा उप्रेतीले पनि सुत्केरी हुँदा बिदा पाइनन् । यो २०४३ सालको कुरा हो । जतिबेला सुत्केरीलाई ४५ दिन बिदा दिने नियम थियो । तर, डा. उप्रेतीले भने सुत्केरी भएकै कारणले जागिर गुमाउनुप¥यो । ‘त्यो बेला मैले थापाथली प्रसूति गृहमा जागिर खाएको एक वर्ष भएको थियो,’ उनले सम्झिइन्, ‘मलाई करारमा नियुक्त गरिएको थियो । त्यस बेला मैले सुत्केरी हुँदा पनि बिदा पाइनँ । भइपरी आउने बिदा १० दिन जोगाएर राखेको थिएँ । त्यही १० दिन बिदा बसेँ । पछि काममै नआउनू भनियो ।’
बच्चा पाएकै कारणले धेरै महिलाले आफ्नो करिअर दाउमा राख्नुपरेको डा. उप्रेतीले बताइन् । उनी आफ्नो समय र अहिले तुलना गर्दा खासै केही फरक पाउँदिनन् । अहिले पनि अवस्था उस्तै देख्दा उनलाई दुःख लाग्छ । ‘अहिले पनि कुनै महिलालाई हाकिमले सुत्केरी बिदा दिएन भने भन्न जाने ठाउँ कतै छैन,’ उनले गुनासो पोखिन्, ‘औपचारिक काम गर्नेहरूले केही समय बिदा पाउँछन् । तर, अनौपचारिक क्षेत्रमा काम गर्नेको हकमा हामीले कहिल्यै सोचेकै छैनौँ । गाउँघरका महिलाहरू अहिले पनि सुत्केरी भएको हप्ता दिन नबित्दै डोको नाम्लो बोकेर हिँड्नुपर्ने अवस्था छ ।’
डा. उप्रेती सुत्केरीमा एक महिना हुँदै सुत्केरी बिदा तीन महिना पुग्नुलाई सकारात्मक मान्छिन् । तर, सुत्केरी हुनुभन्दा अगाडि पनि धेरै महिलाहरू विभिन्न स्वास्थ्य समस्या देखिने उनले बताइन् । ‘उच्च रक्तचाप हुने, मधुमेह देखिने, बच्चा सानो हुने, खान मन नलाग्ने जस्ता समस्या हुन्छन्,’ उनले भनिन्, ‘त्यो बेलामा उनीहरूलाई लगातार काममा खटाउँदा झनै समस्या निम्तिन सक्छ । तर, यस्तो बेला छुट्टी दिने प्रावधान छैन ।’ सुत्केरी वा गर्भवतीलाई कतिपय कार्यालयहरूले काममा राख्नै नखोज्ने उनले बताइन् । यसबाट मानव अधिकारको हनन भएको उनको तर्क छ । ‘पुरुष गर्भवती हुनुपर्ने भएको भए कडा नियम कानुन बन्थ्यो होला,’ उनले भनिन्, ‘तर, महिलाको स्वास्थ्यप्रति कोही संवेदनशील छैन । गर्भावस्था, सुत्केरी, स्तनपान, महिनावारीको विषयमा कार्यस्थलमा कसैलाई चासो छैन ।’
डाक्टर आफैँ पीडित
आमा पनि जागिर पनिको कुरा गर्दा डा. कुमकुम झा आफैँ भावुक हुन्छिन् । आफ्नै दिनहरू सम्झिन्छिन् । जतिबेला उनी आफूकहाँ आउने सुत्केरी महिलालाई छ महिनासम्म आमाको दूध खुवाउने सल्लाह दिन्थिन् । आफू भने दिनरात नभनी ड्युटीमा खटिन्थिन् । ‘हामी डाक्टरहरूलाई झनै दुःख छ,’ उनले भनिन्, ‘९८ दिनपछि ड्युटी नजाँदा स्पष्टीकरण दिनुपर्छ । हामी अरू सुत्केरी हुँदा कम्तीमा छ महिना आमाको दूध खुवाउनुपर्छ भन्छौँ । आफैँ सुत्केरी हुँदा खुवाउन पाउँदैनौँ ।’
नेपालका अधिकांश कार्यस्थलहरू गर्भवतीमैत्री नभएको उनको गुनासो छ । ‘खुट्टा झुण्ड्याएर घण्टौँसम्म काम गर्नुपर्ने अवस्था छ, उनी भन्छिन्, ‘त्यसरी काम गर्दा उनीहरूको खुट्टा सुन्निने समस्या हुन्छ । मकहाँ धेरै गर्भवती सुन्निएको खुट्टा लिएर आत्तिँदै आउँछन् ।’ उनका अनुसार सुरुको तीन महिना हर्मोनल परिवर्तनका कारण वाकवाकी लाग्ने, गन्ध आउने, खान मन नलाग्ने, ट्वाइलेट गइरहन मन लाग्ने जस्ता लक्षण देखिन्छ । यस्तो बेलामा अफिसको वातावरण गर्भवती महिलामैत्री हुनुपर्छ । ‘उनीहरूलाई गाह्रो भयो भने एकैछिन भए पनि झकाउन मिल्ने ठाउँ बनाइदिनुपर्छ,’ उनले भनिन्, ‘कुर्सीमा बसेर काम गर्ने कर्मचारी छ भने कुर्सीमुनि टुल राखिदिएर उनलाई सजिलो बनाइदिने कोसिस गर्नुपर्छ ।’
सुत्केरीपछि कम्तीमा छ महिना बिदा हुनुपर्ने उनको तर्क छ । ‘त्यसमा सरकारी र गैरसरकारी कर्मचारी भनेर छुट्याउन हुँदैन,’ उनले भनिन्,, ‘आमा भनेको आमा नै हो । ऊ चाहे सरकारीमा काम गरोस् वा निजीमा उसले पाउने सेवासुविधा एउटै हुनुपर्छ । सुत्केरी वा गर्भावस्था र कामको तालमेल मिलाउन नसकेर धेरै गर्भवतीहरू डिप्रेसनको सिकार भएको उनले बताइन् । ‘काम र बच्चासँगको तालमेल मिलाउन नसक्दा उनीहरू न राम्रो आमा बन्न सक्छन्, न राम्रो कर्मचारी,’ उनी भन्छिन्, ‘यही कुरा सोच्दा सोच्दै उनीहरू डिप्रेसनको सिकार हुनुपर्छ । कतिपयले जागिरै छाड्नुपर्छ ।’
संसारका विशेषगरी विकसित मुलुकहरूमा गर्भवतीको हकमा विशेष प्रावधान छ । स्क्यान्डिनेभियन देशहरू जस्तैः नर्वे, स्विडेन, डेनमार्क, फिनल्यान्डमा गर्भवती र सुत्केरीलाई एकदमै राम्रो सेवा–सुविधा छ । जहाँ सुत्केरीले लगभग वर्षदिन जसोे बिदा पाउँछन् । केही देशमा सुत्केरीलाई मात्रै नभएर उनका श्रीमान्लाई पनि बिदा दिने व्यवस्था छ । स्विडेनमा सुत्केरीलाई चार सय ८० दिन तलबी बिदा दिइन्छ । त्यसमा आधा बुवाले आधा आमाले लिनुपर्ने व्यवस्था छ । नेपालको छिमेकी देश भारतमा पहिला सुत्केरीलाई १२ हप्ता बिदा दिइन्थ्यो । अहिले बढाएर २६ हप्ता बनाइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया