समाज

‘अब म प्रश्न गर्छु’

सृजना खड्का |
चैत १३, २०७७ शुक्रबार ७:२९ बजे

सुर्खेत : भैरवी गाउँपालिका-३ दैलेखकी गोमादेवी तिमल्सिनाको आवाज कुनै समय दबिएको थियो । गुम्सिएको थियो । तर, हिजोआज ५१ वर्षीया गोमादेवी मौका पाउनेबित्तिकै बोलिहाल्छिन् । आफ्ना कुरा राखिहाल्छिन् । उनका ती आवाजले पीडा झल्काउँछन् । प्रश्न जन्माउँछन् । जिज्ञासा समेट्छन् ।

केही हप्ता पहिले सुर्खेतमा भएको कर्णाली उत्सवमा स्टेजमा बोल्ने वक्ताहरूसँग उनले प्रश्न गरिन् । ‘लोकतन्त्रको लय’ शीर्षकमा चर्चा गरिरहेका वक्तालाई दर्शकदीर्घाबाट उनले भनिन्- हजुरहरूले लोकतन्त्रको लय भनिरहनुभएको छ । तर, लोकतन्त्र आयो कि आएन हामी गाउँका आइमाइलाई थाहा छैन । पीडाका पहाडले वर्षौंदेखि थिचिएकी उनलाई जीवनको भोगाइले हो, यसरी प्रश्न गर्न सिकाएको । समाजका छोरी, बुहारी र श्रीमतीहरूले आफ्नोजस्तै जीवन भोग्‍न नपरोस् भनेर हो उनी बोल्न थालेको ।  


२०५० सालमा गोमाका बुबा बिते । बुबा बितेको पीडा एकातिर थियो भने किरिया कसले गर्ने भन्‍ने गल्फती अर्कातिर । गोमाका दाजुभाइ थिएनन् । उनकी एकजना दिदी थिइन् । उनीहरूले बुवाको किरिया आफैँ गर्छौं भनेर अड्डी कसे । उनीहरूको अड्डीका अगाडि कसैको केही लागेन । बुवाको चितामा दागबत्ती गोमादेवीले दिइन् । दिदी बहिनी मिलेर बुवाको किरिया गरे । ‘त्यो समयमा मरेको मान्छेको चितासम्म आइमाई मान्छे जानै पाउँदैनथे,’ उनले भनिन्, ‘छोरीले किरिया गरेको त झन् थाहै थिएन । श्रीमान् भएकाले सेतो लुगा लगाउनुहुँदैन भनेर हामीले हरियो लुगा लाएर बुवाको किरिया गर्‍यौँ । यसो गर्दा धेरैले हामीलाई ‘कस्ता बिग्रेका आइमाई’ भनेर विभिन्‍न लान्छना लगाए ।

१९ वर्षको उमेरमा गोमादेवीको बिहे भयो । छोरीले सुख पाउली भनेर उनका आमाबुवाले भएभरको सम्पत्ति दाइजो दिएका थिए । ‘तामाका ताउला, हुन्‍ना, गाग्री, चाँदीका माला के-के हुन् के-के,’ उनले सुनाइन्, ‘छोरीहरूले सुख पाउलान् भनेर बुवाले भएभरको सम्पत्ति दुई दिदीबहिनीलाई भाग लगाइदिनु भयो । तर, बुवाले सोचेजस्तो सुख मैले पाइनँ ।’

गोमादेवीका पाँच जना छोरी छन् । चार जना छोरी बिहे गरी लाखापाखा लागिसके । कान्छी छोरी अहिले उनको साथी बनेकी छिन् । चार जना छोरी पाइसकेपछि उनी फेरि गर्भवती भएकी थिइन् । चार छोरीको लालनपालन र घर व्यवहारको जिम्मेवारी सबै उनको काँधमा थियो । खानेपानी लिन चार किलोमिटर टाढा हिँडेर जानुपर्थ्यो । गर्भवती हुँदा पनि उनलाई गाग्रोले छाडेन । पानी लिन जाने बाटो एकदमै अप्ठ्यारो थियो । ‘कहिले उकालो आउँथ्यो, कहिले ओरालो,’ उनले भनिन्, ‘पानी बोक्दा बोक्दै बच्चाको टाउकोमा गाग्रीले चोट लागेछ । छोरा थियो, जन्मिनेबित्तिकै बित्यो ।’ 

त्यसपछि फेरि छोरा पाउने आशमा उनले पाचौँ छोरी जन्माइन् । छोरा नजन्माएको निहुँमा उनले निकै पीडा खपिन् । समाजबाट भोगेको पीडाको त उनीसँग लेखाजोखा छैन । तर, आफ्नै श्रीमान्का वचनले भने उनलाई घोचिरहन्थ्यो, अहिले पनि घोचिरहन्छ । ‘छोरा नपाएको निहुँमा उहाँले मलाई धेरै पीडा दिनुभएको छ,’ उनले भनिन्, ‘मलाई बारम्बार ‘छोरा नहुनेकी छोरी’ भनिरहनुहुन्छ । ५६ वर्षको हुनुभयो, अहिले पनि छोरा पाउन अर्को बिहे गर्छु भन्दै हिँडिरहनुभएको छ ।’

उनका श्रीमान् स्कुल पढाउँछन् । मास्टर भएर अरुलाई सम्झाउने उनलाई घरमा भने गोमादेवी आफैँले सम्झाउनुपर्छ । उनीहरू दुईको सम्बन्ध अहिले खासै राम्रो छैन । ‘उहाँ मसँग राम्ररी बोल्नुहुन्‍न,’ उनले भनिन्, ‘बोलेको बेला पनि नमीठो वचन लगाउनु हुुन्छ । हेला गर्नुहुन्छ ।’

आफू अन्यायमा परेका कुरा उनले धेरै जनालाई धेरै पटक सुनाइसकिन् । तर, उनको समर्थन कतैबाट भएन, भयो त मात्र थम्थम्याउने काम । ‘गाउँमा कति ठाउँमा गएर रोइकराई पनि गरेँ तर, कसैले सुनेनन्,’ उनले भनिन्, ‘जसलाई पीडा पोख्थेँ उनीहरू सबैले ‘आफ्नो श्रीमान्‌ले जे गरे पनि सहनुपर्छ’ भने । सहँदा सँहदै यो उमेर भयो । अब चाहिँ सहनु हुँदैन भन्‍ने लाग्‍न थालेको छ ।’

माओवादी द्वन्द्वकालमा पनि उनी र उनको परिवारले निकै दुःख पायो । ‘माओवादीहरू घरमा आउँथे, धम्काउँथे, खान्थे, जान्थे,’ उनले भनिन्, ‘राइफल ल्याएर घरमा ठड्याउँथे आफूले नखाइ-नखाइ भए पनि उनीहरूलाई खुवाउँथ्यौँ ।’ त्यो भात गोमादेवीले आफूजस्ता अन्यायमा परेका महिला दिदीबहिनीहरूले न्याय पाऊन् भनेर खुवाएकी थिइन् ।

तर, गोमादेवीले अहिलेसम्म अनुभूति गरेकी छैनन्- न्याय कस्तो हुन्छ ? अधिकार भनेको के हो ? उनलाई थाहा छैन । लोकतन्त्र र गणतन्त्रको त उनले नाम मात्रै सुनेकी छिन् । ‘घर र जंगल चहार्दै भैँसीको गोबर फ्याँक्दैमा जिन्दगी गयो,’ उनले भनिन्, ‘हामीजस्तालाई केका लोकतन्त्र, केका गणतन्त्र ?’

तैपनि, लोकतन्त्र र गणतन्त्र आएको थाहा नपाउने गोमादेवीलाई चुनाव आएको भने बेलैमा थाहा हुन्छ । ‘चुनाव चाहिँ आउनुभन्दा महिनौँ दिन अगाडि थाहा हुन्छ,’ उनले भनिन्, ‘जब चुनाव आउँछ नेताहरू घरदैलोमा ‘लौ है दिदीबहिनी हामी त आयौँ है’ भन्दै आउँछन् ।’उनीहरू सबैलाई गोमादेवीको प्रश्न छ- के राजनीति भनेको यही हो ? गाउँका आइमाईको जिन्दगी सुधार्ने बाटो यही हो ? गणतन्त्र आएको यही हो ? लोकतन्त्र ल्याएको यही हो ?

गोमादेवीले मानेका दैलेखका एकजना दाइ छन् । उनको नाम टिकाप्रसाद पोखरेल हो । उनैले गोमालाई आजभोलि विभिन्‍न कार्यक्रममा लिएर जान्छन् । कार्यक्रममा कुराहरू सुन्दा गोमालाई लाग्‍न थालेको छ- ओहो ! जमाना त यस्तो पो आइसकेछ । ‘हामी पनि बोल्न पाउँछौँ, हाम्रो पनि अधिकार हुन्छ भनेर बल्लतल्ल थाहा पाउँदै छु,’ गोमादेवीले भनिन्, ‘हामीले बोल्नुपर्छ, सहनु हुँदैन भन्‍ने कुरा बिस्तारै सिक्दै छु ।’ 

गोमादेवीले स्कुल गएर पढ्न पाइनन् । केही समय पहिले उनको गाउँमा प्रौढ शिक्षा आयो । प्रौढ शिक्षामा सिकेका कुराले उनी अक्षर चिन्‍ने र लेख्‍न सक्ने भएकी छिन् । ‘पढ्न एकदमै इच्छा लाग्थ्यो,’ उनले भनिन्, ‘घाँसको डोको बिसाउनै नपाई हस्याङ्फस्याङ् गर्दै पढ्न जान्थेँ । अहिले पढ्न र लेख्‍न सक्ने भएको छु । अक्षर चाहिँ खासै राम्रा छैनन् ।’

गोमादेवी आजकाल आफ्नो दैनिकी कापीमा लेख्छिन् । सुनेका कुरा घर आउनेबित्तिकै टिप्छिन् । उनले दुःखका गीत पनि लेखेकी छिन् । ‘गीत कतिओटा लेखेँ, त्यो त गनेकी छैन,’ उनले भनिन्, ‘एउटा ठूलो कापीभरि गीतैगीत छन् । अर्को कापीमा नेताहरूबारे लेखेको छु, आफ्नो जीवनको संघर्षबारे लेखेकी छु ।’ 

कर्णाली उत्सवमा गएको दिनलाई उनले कापीमा यसरी उतारेकी छिन्- ‘आज दाइले कर्णाली उत्सवमा लैजानुभयो । कार्यक्रममा गएर धेरै नयाँ-नयाँ कुरा सुन्‍न पाइयो । मन्त्रीलाई देख्‍न पाइयो । प्रश्न गर्न पाइयो । अब म अरु कार्यक्रममा पनि यसैगरी जान्छु, बोल्छु, प्रश्न गर्छु ।’


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x