समाज

भोट हाल्न भारतबाट फर्कंदै नेपाली

इकागज |
बैशाख २५, २०७९ आइतबार १३:१७ बजे

फाइल तस्‍बिर

काठमाडौं– वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि छिमेकी देश भारतमा श्रमका लागि पुगेका नेपालीहरु फर्किने क्रम बढ्न थालेको छ ।

कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकीबाट घर फर्कने नेपालीको संख्या दिनदिनै बढ्न थालेको हो । गड्डाचौकी नाकाबाट अन्य दिन प्रतिदिन १ सयदेखि २ सय नेपालीहरु भारतबाट फर्किने गरेको भएपनि अहिले त्यो संख्या बढेर दिनमा ५ सय भन्दा माथिको संख्यामा घर फर्किरहेका छन् ।


कञ्चनपुरको गड्डाचौकी हेल्थ डेस्कका इन्चार्ज विकास भट्टले अहिले दिनमै ५ सयदेखि ८ सय जनासम्म मानिसहरु नेपाल फर्किरहेको र यो संख्या बढिरहेको बताए । उनले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर पश्चिमी नाकाहरुमा छिमेकी देश भारतमा काम गर्न गएका नेपालीहरु धमाधम नेपाल फर्किएको बताए ।

भारतबाट नेपाल फर्कने नेपालीहरुको संख्या बढेपछि नेपाली नागरिकको डाटा संकलन गर्ने काम भइरहेको छ । पछिल्लोसमय भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेकाले नेपाल आउनेहरुले अनिवार्य ७ क्वारेन्टाइनमा बस्न र कोरोनाबिरुद्ध खोप लगाउन छुटेकाहरुले खोप लगाउन तथा अनिवार्य स्वाथ्यका मापदण्डको पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

तर, भारतबाट फर्किएकाहरुले भने जुनकुनै उम्मेदवारलाई मत हाले पनि मतको कदर हुन नसकेको गुनासो गरे । उनीहरुले उम्मेदवारहरुले चुनावअघि विभिन्न प्रतिवद्धता जनाएपनि चुनावपछि पहिलाका प्रतिवद्धता बिर्सिने गरेको र आफ्नो लागि मात्रै सोच्ने गरेको भारतबाट फर्किदै गरेका कर्णसिंह धामीले आक्रोश पोखे । नेपालमै रोजगारुी सिर्जना गरेर नेपाली नागरिकलाई विदेश जानुपर्ने बाध्यताबाट मुक्त गर्नुपर्ने भारतबाट नेपाल फर्किएका नागरिकहरुको माग छ ।

दैनिक रुपमा भारतबाट स्वदेश फर्कने नेपाली नागरिकको संख्या बढ्दै जाँदा स्थानीय तहको निर्वाचनमा नेताहरुले जनाएको स्वदेशमै रोजगारीको प्रतिवद्धता भने चुनावपछि बिर्सिने गरेको स्वदेश फर्किएका नागरिकको दुःखेसो छ । यो समस्या सामाधान नहुँदा नेपाली नागरिकले पुनः रोजगारीको लागि विदेश जानुपर्ने बाध्यता रहँदै आएको छ । जसले राजनीतिक दल र नेताहरुमा नागरिकले विश्वास गर्न छोडेको महशुस गर्न थालेका छन् ।


Author

थप समाचार
x