समाज

यसकारण तुवाँलोले ढाक्यो काठमाडौँ र आसपासको आकाश

भिजिविलिटी कम भएपछि हवाई सेवा अवरुद्ध

सन्तोष अधिकारी |
चैत १३, २०७७ शुक्रवार १६:४६ बजे

तुवाँलोले ढाकिएको काठमाडौँको आकाश र सूर्य

काठमाडौँ : काठमाडौँ र आसपासको आकाश तुवाँलोले ढाकिएको छ । वातावरणमा रहेको धुलो र डढेलोपछि निस्किएको धुवाँको कारण समस्या आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँको आकाशमा रहेको तुवाँलोले आँखा पोल्ने समस्या देखिएको छ । काठमाडौँ र आसपासको आकाशमा तुवाँलो लाग्ने समस्या तीन दिनदेखि देखिए पनि आज शुक्रबार बाक्लो तुवाँलो लागेको मौसमविद् राजु प्रधानाङगले इकागजलाई जानकारी दिए । 

‘काठमाडौँ र आसपासका क्षेत्रमा तुवाँलो लाग्ने समस्या तीन/चार दिन यतादेखि कै हो,’ उनले भने, ‘आज भने एक्कासी अति नै धमिलो भएको छ । धुलोको कणसँगै धुवाँ पनि मिसिएको अनुमान गरेका छौँ ।’ उनले देशका विभिन्न क्षेत्रका जंगलमा डढेलो लागेकोले यस्तो समस्या आएको उनको भनाइ छ । ‘स्याटलाइटबाट हेर्दा देशका १०/१२ ठाउँमा डढेलो लागेको देखिएको छ,’ उनले भने, ‘चितवन, मकवानपुर, पर्सा, प्रदेश १ तथा देशका विभिन्न ठाउँमा डढेलो लागेको देखिन्छ । सोही कारणले पनि तुवाँलो लागेको हो ।’ 


 त्यस्तै काठमाडौँको आकाशमा बाक्लो तुवाँलो बढेपछि त्रिभुवन विमानस्थलबाट हुने उडानहरू बन्द भएका छन् । आकाशमा आएको कर्णले भिजिविलिटी कम भएको कारण एयरपोर्टबाट हुने उडान तथा अवतरण बन्द भएको हो । पर्सा वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज तगा मकवानपुर, प्रदेश १ तथा देशका विभिन्न क्षेत्रका जंगलमा डढेलो लागेकोले काठमाडौँ र आसपासको आकाश तुवाँलोले ढाकिएको छ  ।

तुवाँलोको कारण त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय भए । जहाज उडानका लागि ८ सय मिटरको भिजिविलिटी हुनुपर्ने बताइएको छ । साना जहाज अवतरणका लागि एक हजार ६ सय मिटर भिजिविलिटी आवश्यक पर्छ भने ठूला जहाजको लागि २ हजार आठसय मिटर आवश्यक पर्छ ।  ‘विमानस्थल २ बजेदेखि बन्द थियो । २ घण्टा ४५ मिनेटपछि उडान खुलेको छ र,’ नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले इकागजसँग भने ।  

भारतको उत्तरप्रदेश, हरियाणा क्षेत्र धुलोले ढाकेको छ । हावाले सो क्षेत्रको धुलो उँडाएर नेपालतर्फ ल्याएको छ । पानी पर्न न्युन चाप भएको हावाले बादल ल्याउनुपर्ने भएपनि धुलोको कण र धुवाँ लिएर आएकोले यस्तो भएको बताइएको छ ।  मौसमविदहरुले  हावा चलेपछि प्रदुषण कम हुने अनुमान गरेका छन् ।  


Author

सन्तोष अधिकारी

अधिकारी राजनीति तथा अन्य समसामयिक विषयमा कलम चलाउँछन् ।


थप समाचार
x