समाज

विश्व रामसार सूचिमा सुचिकृत घोडाघोडी ताल जोखिममा

संरक्षणको नाममा धमाधम पक्की संरचना निर्माण हुँदै

दीपक उपाध्याय |
बैशाख २५, २०७९ आइतबार २०:४३ बजे

कैलाली – विश्व रामसार सूचिमा सूचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पक्की संरचना निर्माण हुन थालेपछि प्राकृतिक संरचनासंगै ताल नै जोखिममा पर्ने सम्भावना बढेर गएको छ । 

सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र घोडाघोडी नगरपालिकाको संयुक्त लगानीमा ताल परिसरमा पक्की संचरना निर्माण हुन थालेपछि सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले यथाशिघ्र निर्माण कार्य रोक्नुपर्ने बताइरहेका छन् । 


पुर्व–पश्चिम राजमार्गसंगै जोडिएको ताल क्षेत्रको प्रवेशद्वारमै घोडाघोडी तालको बाँध पुनः निर्माण तथा प्रवेश पार्क निर्माण भनेर पक्की संरचना निर्माणको काम धमाधम भैरहेको छ । २ करोड ९८ लाख १९ हजार २४० रुपैया ३६ पैसाको स्टिमेड रकममा श्री देव सिंह/अन्जु जेविले आधा भन्दापनि बढी कम रकम १ करोड ९२ लाख ८४ हजार ९८८ रुपैया ९९ पैसामा ठेक्का सम्झौता गरी निर्माण गरिरहेको छ । २०७८ भाद्र २३ गते ठेक्का सम्झौता गरि २०७८ चैत्र २९ मा निर्माण सम्पन्न गर्ने गरि ठेक्का सम्झौता गरेको भएपनि अझै निर्माण कार्य भने पुरा हुन सकेको छैन । निर्माण कम्पनिले तालको प्रवेशद्वारमा पानीको फोहरा, तालको २५ मिटरसम्म जाने पक्की र्या‍म्प, पक्की प्याराफिट लगायतका अन्य पक्की संरचनाहरु निर्माण गरिरहेको छ ।

घोडाघोडी ताल २००३ मा रामसार सुचिमा सूचिकृत भएको थियो । कैलाली जिल्लामा अवस्थित यस तालको कूल क्षेत्रफल २५६३ हेक्टर रहेको छ । यस ताल क्षेत्रमा ठूला तर कम गहिरो ताल समेत गरेर दलदल, धापका साथै चुरे क्षेत्रमा वन पनि पाइन्छ । ठूला स–साना गरी २० वटा ताल तलैयाहरुलाई स–साना डाडाँहरुले छुट्याएको छ । यहाँ संकटापन्न प्रजातिहरु जस्तै कछुवा, ओत, गोही, चरा हाँस र अन्य स्तनधारीहरु पनि यहाँ पाइन्छन् । यहाँ ४५० प्रजाति वनस्पति, २९ प्रजाति माछा, ३२ प्रजाति पुतली, एक प्रजाति गोही, ७ प्रजाति सरिसृप, १४० प्रजाति रैथाने र घुमन्ते चराहरु पाइन्छन् ।

वर्ड सेन्च्युरी घोषणा 
विश्व रामसार सूचिमा सूचीकृत घोडाघोडी सिमसार क्षेत्रलाई नेपालकै पहिलो वर्ड सेन्चुरी (चरा अभय आरण्य क्षेत्र) घोषणा गरिएको छ ।

गतवर्ष फागुन २७ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले देशकै पहिलो वर्ड सेन्चुरी क्षेत्र घोषणा गरेका हुन् । चरा अभय आरण्य क्षेत्र भनेको भयरहित वातावरणमा चराले स्वतन्त्रपूर्वक आहारविहार गर्न पाउने क्षेत्र भन्ने बुझिन्छ । चरा अभय आरण्य क्षेत्र घोषणा भए पनि राष्ट्रिय निकुञ्जको जस्तो कडाइ हुँदैन । मान्छेले वर्ड सेन्चुरी घोषित क्षेत्रमा जान पाउने तर, चराको संसारलाई हस्तक्षेप गर्न भने पाइदैन । 

घोडाघोडी सिमसारमा रैथाने प्रजातिका साथै चरा प्रजातिको संख्या बढ्दै गएको छ । घोडाघोडी सिमसारमा सबैभन्दा बढी संख्यामा हरिहाँस पाइन्छन् । हरिहाँस यो सिमसारको सूचक प्रजाति हो । त्यसैगरी, भारतको केरलामा पाइने नाउदुन हाँसले सन २०१४ देखि घोडाघोडीमा पनि ‘ब्रिडिङ’ गर्दै आएका छन्। पहिले पाहुना चराको रुपमा केरलाबाट घोडाघोडी पुग्ने नादुल हाँस अब यहाँको रैथाने भइसकेका छन् ।

ताल परिसरमा पक्की संचरना निर्माण गर्दा वातावरणमा कुनैपनि प्रकारको हानी नोक्सानी गर्न नपाइने चराविद हिरुलाल डगौरा बताउँछन् । विश्व रामसार सूचिमा सूचिकृत घोडाघोडी ताल क्षेत्रलाई व्यवस्थित बनाउन अन्य कुनै उपायहरु अपनाउनु पर्ने बताउँदै चराविद् डगौराले पक्की संचरना नै निर्माण गर्दा पर्यावरणलाई ध्यानमा राख्दै निर्माण गर्दा कुनै हानीनोक्सानी भने हुन नहुने बताए । 

वतावरणीय प्रभाव मुल्यांकन गरेर मात्रै संचरनाहरु निर्माण गर्नुपर्ने लामो समयदेखि डल्फिल संरक्षणमा लागेका तथा राष्ट्रिय प्रकृति संरक्षण पुरस्कारबाट सम्मानित विजयराज श्रेष्ठले बताए । उनले पक्की संरचनाहरु निर्माण गर्दा यसले नकारात्मत असर श्रृजना गर्न सक्ने बताउँदै पर्यावरण मैत्री अस्थायी संरचना निर्माण गर्नुपर्ने बताए ।

घोडाघोडी नगरपालिकाका कार्याकारी दीपक आचार्यले प्रदेश सरकारको ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशत लगानीमा उक्त निर्माण कार्य भैरहेको बताए । उनले सिमसार क्षेत्रमा पक्की संचरना निर्माण गर्न पाउने नपाउने बारे आफुलाई जानकारी नभएको बताए । 


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x