समाज

होली खेल्दा स्वास्थ्यको पनि ध्यान दिने कि !

डा. सविना भट्टराई |
चैत १५, २०७७ आइतवार ६:२४ बजे

होली रङसँग जोडिएका चाड हो । र, रङ स्वास्थ्यसँग जोडिएको विषय हो । होलीमा हामीले विभिन्न प्रकारका रङहरूको प्रयोग गर्छौ । ति रङमा अनेक केमिकल मिसिएका हुन्छन् । केमिकलले रङलाई टल्काउने, चम्काउने काम गर्छ । रङ जति गाढा र टल्किने खालको हुन्छ उति नै त्यसले छालामा हानी पुर्‍याउँछ ।

हरियो रङमा ‘कपर सल्फेट’, सिल्भरमा ‘एल्युनियम ब्रोमाइड’, रातोमा ‘मर्करी सल्फाइड’ कालोमा ‘लिड अक्साइड’ जस्ता केमिकल हुन्छन् । यि केमिकलले छालामा मात्रै नभएर स्वास्थ्यमा समेत हानी गर्छ । 
यसले विशेषगरी छाला, कपाल, नङ र आँखामा असर पुर्‍याउँछ । छाला रातो हुने, चिलाउने स-सानो पानीको फोका आउने हुन्छ । आँखा रातो हुने, सुन्‍निने हुन्छ । कपालको जरामा पनि इन्फेक्सन भएर पिप भरिने, चिलाउने हुन्छ । त्यसैले, हामीले सकेसम्म प्राकृतिक रङहरूको प्रयोग गर्नुपर्छ । बजारमा अहिले केमिकल नमिसाइएका रङहरू पनि पाइन्छन् ।
 
होली खेल्दा कपाल र छाला सुख्खा हुने भएकाले म्वइस्चराइजर वा तेल दलेर मात्र खेल्नुपर्छ । त्यसले छालामा रङलाई प्रत्यक्ष सम्पर्क हुन दिँदैन । यसरी होली खेल्दा रङ पखाल्न पनि सजिलो हुन्छ । सावधानी अपनाएर खेल्दा पनि एलर्जी भयो भने तुरुन्तै पानीले पखालिहाल्नु पर्छ । छालामा रङ जति छिटो पखाल्यो, एलर्जी उति कम हुन्छ । लामो समयसम्म छालामा रङ राख्दा त्यसले छालाको क्यान्सरसमेत निम्त्याउने विभिन्न अध्ययनले देखाएका छन् । मृगौला, कलेजोलाई समेत असर गर्ने गरेको पाइएको छ ।


रङ पखाल्दा वा धुदा धेरै कडा खालका स्याम्पू वा साबुनको प्रयोग गर्नुहुँदैन । त्यो रङ आज नगए भोलि जाला तर, एकैदिन मेट्ने भनेर घोटी–घोटी माड्दा छालामा असर गर्छ । पहिलाका वर्षहरूमा एलर्जी भएकाहरू यस वर्ष रङसँग होली खेल्नुहुँदैन । एलर्जी हुन सक्ने भएकाले सतर्कता अपनाउनुपर्छ । त्यस्तै, छालासम्बन्धि रोग भएकाहरू पनि सजग हुनुपर्छ । छाला रोग हुनेहरूलाई रङको कन्ट्याक्टले झनै एलर्जी गराउँछ । 

गर्भवती महिलाले पनि होलीमा विशेष ध्यान पुर्‍याउनुपर्छ । केमिकलयुक्त रङले छालाबाट भित्र गएर बच्चालाई असर गर्छ । उनीहरूले सकेसम्म प्राकृतिक रङको प्रयोग गर्नुपर्छ । घरमै पाइने बेसारलाई पनि रङ बनाएर खेल्न सकिन्छ । 

त्यस्तै, यो पर्वमा बच्चाहरूको विशेष ख्याल राख्नुपर्छ । उनीहरूको छाला पातलो हुने भएकाले केमिकल भएका रङहरू छुन दिनु हुँदैन । प्राकृतिक रङसँग खेल्दा पनि लामो समयसम्म राखिदिनु हुँदैन । सकेसम्म चाँडै पखालिदिनुपर्छ । 

कोभिडको महामारी बढिरहेको छ । दोस्रो लहर आएको हुनाले नेपालमा संक्रमितहरू बढिरहेका छन् । यस्तो अवस्थामा भिडभाड नगरी मास्क लगाएर र सामाजिक दूरी कायम गरेर होली खेल्नुपर्छ । 
(वरिष्ठ छाला रोग विशेषज्ञ डा. सविनासँग कुराकानीमा आधारित)


Author

थप समाचार
x