समाज

सुन्दरीजलमा विद्युत् आपूर्ति अवरुद्धले मेलम्ची पानी प्रशोधन हुन सकेन

आज अपरान्हसम्म धारामा वितरण हुने

इकागज |
चैत १५, २०७७ आइतबार ९:४१ बजे

काठमाडौं : विद्युत् प्राधिकरणले हिजो शनिबार रातिदेखि यो समाचार तयार पारुञ्‍जेलसम्म सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रमा विद्युत् आपूर्ति गर्न नसक्दा मेलम्चीको पानी वितरण तालिका प्रभावित भएको छ ।

आज बिहान ८ बजेदेखि सर्वसाधारणको घरमा मेलम्चीको पानी वितरण गर्ने तालिका थियो । तर विद्युत् आपूर्ति नभएकाले पानी प्रशोधन हुन नसकेको खानेपानी सचिव माधव बेलबासेले बताए । 


उनका अनुसार विद्युत् चालू हुनेबित्तिकै प्रशोधन कार्य सुरु हुने र आज अपरान्हसम्ममा महाँकालस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेल) पानी ट्यांकीबाट मेलम्चीको पानी वितरण हुनेछ ।

मन्त्रालयले चैत १५ देखि मेलम्चीको पानी उपत्यकावासीलाई खुवाउन सुरु गर्ने सबै तयारी पूरा गरिसके पनि हिजो रातभर जम्मा भएको पानी प्रशोधन हुन नसक्दा पानी वितरण तालिका प्रभावित हुन गएको हो । यतिखेर प्राधिकरण कर्मचारीहरु विद्युत् आपूर्ति गराउन लागिपरेको जानकारी पनि सचिव बेलबासले दिए ।

महांकाल र अनामनगरको ओभरहेड ट्यांकीमा चार करोड लिटर पानी हिजो शनिबार नै जम्मा गरेर आज आइतबारदेखि वितरण गर्ने पूर्व तालिका थियो । ‘तर जे जस्ता प्राविधिक समस्या आइपरे पनि आजै हामी महांकाल क्षेत्र अन्तर्गतका जनतालाई पानी खुवाउँछौं,’ सचिव बेलबासेले आइतबार इकागजसँग भने ।


Author

थप समाचार
x