खेलकुद

नेपालको रणनीति परिवर्तन  :  अभिषेक र रविशंकरको ठाउँमा विशाल र सुनिल

इकागज |
चैत १६, २०७७ सोमबार १७:१३ बजे

काठमाडौ‌  : रणनीतिविना मैदानमा टोली उतारेको आरोप खेपिरहेका प्रशिक्षक बालगोपाल महर्जनले बंगलादेशविरुद्धको केही बेरमा सुरु हुन लागेको फाइनलका लागि ‘प्लेइङ इलेभेन’ दुई महत्वपूर्ण परिवर्तन गरेका छन् । नेपालले ५.३० मा हुन गइरहेको फाइनलका लागि सुनिल बल र बिशाल राईलाई आक्रमणको जिम्मा दिने निर्णय गरेको छ ।

योसँगै नेपालले खेलको संरचनामा पनि थोरै परिवर्तन गरेको छ ।  अघिल्ला दुई खेल ४–४–२ को संरचनामा खेलेको नेपाली टिमले आज भने ४–२–३–१ को संरचनाअनुसार खेल्ने भएको छ । यसको मतलब नेपालले एक जना स्ट्राइकरको भरमा खेल्नेछ । यसका लागि प्रशिक्षक महर्जनले अन्जन बिष्टको भरोसा गरेका छन् ।


अन्जनलाई त्रिदेव गुरुङ, बिशाल राई र सुनिल बलले सघाउनेछन् । अघिल्ला खेलमा भने विशाल राई र सुनिल बलले सब्सिच्युटमा मात्र खेल्न पाएका थिए । तेज तामाङ, सन्जोग राई मिडफिल्डमा रहेर खेल्ने छने भने रन्जित धिमाल, अनन्त तामाङ, रोहित चन्द, दिनेशराजवंशीले डिफेन्स सम्हाल्नेछन् । 

थ्रीनेशन्स कप अन्तर्गत पहिला भएका दुवै खेलमा नेपालले किर्गिस्तान र बंगलादेशसँग गोलविहिन बराबरी खेलेको थियो ।तर, किर्गिस्तानले आत्मघाती गोल गरेर बंगलादेशसँग अंक गुमाएपछि किर्गिस्तान खेलबाट आउट भएको थियो । दुवै टिमसँग बराबरी गरेको नेपालले यही सुविधाका आधारमा फाइनलमा ठाउँ बनाएको थियो । 

शनिबार भएको खेलमा नेपालको बिल्ड अप नपुगेको र फाइनल थर्डमा कमजोर साबित भएको टिप्पणी भएको थियो । सानो कदका नेपालीले हावामा बल खेलेर गोल गर्ने प्रयास गरेका थिए तर अग्ला बंगलादेशीको डिफेन्स सामु उनीहरूको प्रयास सफल हुन सकेको थिएन । तर, फाइनलमा भने नेपालले गोल गर्ने रणनीतिका हिसाबले खेल्ने महर्जनले बताउँदै आएका छन् । 


 


Author

थप समाचार
x