कतार विश्वकप : श्रम शोषणमा परेका कामदारले क्षतिपूर्ति पाएनन्
काठमाडौँ – कतारमा यसै वर्ष हुने फिफा विश्वकपको पूर्वाधार निर्माणका क्रममा भएको गम्भीर श्रम शोषण र दुर्व्यवहारका लागि लाखौं आप्रवासी कामदारहरूलाई आर्थिक क्षतिपूर्ति वा पर्याप्त उपचार प्रदान नगरिएको ह्युमन राइट्स वाचले जनाएको छ ।
गत मे १९ मा ह्युमन राइट्स वाच, एमनेस्टी इन्टरनेशनल, फेयरस्क्वायर तथा आप्रवासी कामदारसँग सम्बन्धित संगठनहरु, अन्तर्राष्ट्रिय फुटबल समर्थक, दुर्व्यवहार पीडितसहित अधिकार समूहले फिफा तथा कतार सरकारसँग आर्थिक क्षतिपूर्ति तथा पर्याप्त उपचार प्रदानका लागि माग गरेको समेत ह्युमन राइट्स वाचले उल्लेख गरेको छ ।
सन् २०१० मा कतारले विश्वकप आयोजना गर्ने अधिकार पाएपछि भौतिक पुर्वाधार निर्माण तथा त्यससँग सम्बन्धित कार्यमा संलग्न हजारौ आप्रवासी कामदारको निधन हुनुका साथै लाखौं कामदारको श्रम शोषण भएको अन्तर्राष्ट्रिय संस्थाहरुले प्रतिवेदनहरु सार्वजनिक गर्ने गरेका छन् ।
ह्युमन राइट्स वाचले फिफाले तुरुन्तै क्षतिपूर्ति उपलब्ध गराउन तथा फिफा विश्वकपलाई 'वर्ल्डकप अफ शेम' हुनबाट बचाउनु पर्ने जनाएको छ ।
ह्युमन राइट्स वाचका अनुसार नेपालकी ३८ वर्षीया मन्जु देवीका ४० वर्षीय श्रीमान कृपाल मण्डलको यसै वर्ष कतारमा विश्वकपको निर्माणसम्बन्धि कामका क्रममा मृत्यु भयो । उनको मृत्यु हृदयघातका कारण भएको बताइएको थियो ।
अहिले मन्जुसँग विश्वकपको एउटामात्र 'विरासत'को रुपमा श्रीमानले लिएको ऋण हो जुन उनले चर्को ब्याज दरमा कतार जानका लागि लिएका थिए । तर मन्जुले कुनै क्षतिपूर्ति पाएकी छैनन् ।
कतारले आप्रवासी कामदार निशुल्क ल्याइने नियम लागू गरेपनि सरकारले विरलै यो नियम लागू गरेको ह्युमन राइट्स वाचले उल्लेख गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया