खेलकुद

सिटीमा दुलर्भ विरासत राख्‍ने अग्वेरोलाई प्रतिस्थापन कसले गर्ला ?

इकागज |
चैत १८, २०७७ बुधबार १४:२३ बजे

काठमाडौँ: म्यानचेस्टर सिटीले आफूलाई इंगल्यान्डको शक्ति बनाउन मद्दत गरेका खेलाडीहरूलाई लगातार बिदाइ गरिरहेको छ । जो हार्ट, पाब्लो जाबलेट्टा, याया टुरे, भिन्सेन्ट कम्पनी र डेभिड सिल्भा सबैले सिटीबाट बिदा लिइसके । त्यही सूचीमा अहिले सर्जियो अग्वेरो थपिएका छन् । 

सोमबार मात्रै सिटीले अग्वेरोले जारी सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गर्‍यो । सन् २०११-१२ सिजनमा इंग्लिस प्रिमियर लिग जित्‍ने सिटी टिमका बाँकी रहेका एउटै मात्र खेलाडी हुन, अग्वेरो । पूर्वी म्यानचेस्टरमा सधैँ म्यानचेस्टर युनाइटेडको छायाँमा परेको सिटीले ४४ वर्षमा पहिलो पटक लिग जित्दा अग्वेरो प्रमुख खेलाडीमध्येका एक थिए । 


नौ वर्षअघि स्पेनी क्लब एथलेटिको म्याड्रिडबाट सिटी आएका अग्वेरोले इंग्लिस क्लबका लागि कुल तीन सय ८४ खेल खेल्दा दुई सय ५७ गोल गरेका छन् । प्रिमियर लिगमा कुनै पनि विदेशी खेलाडीले अग्वेरोले भन्दा बढी गोल गर्न सकेको छैनन् । इंग्लिस लिगको इतिहासमा अग्वेरो भन्दा बढी गोल गर्ने जम्मा तीन खेलाडी मात्रै छन् । एलन सियरर, वायन रुनी र आन्ड्रिउ कोल । यी सबै इंग्लिस स्ट्राइकर हुन् । 

पछिल्लो १४ महिना अग्वेरोका लागि सुखद रहन सकेन । बारम्बार घुँडाको चोटबाट पिडित बनेका अग्वेरो कोभिड-१९ संक्रमणमा पर्दै धेरै समय मैदान बाहिर रहे । खेल्न तयार भएर सिटीको टिममा फर्कदा प्रशिक्षक पेप ग्वार्डिओलाको रोजाईमा उनी पर्न सकेनन् । त्यसैले पनि अग्वेरोको सिटी करियरको अन्त्य उनी आफैले चाहेको ढङ्गबाट हुने सम्भावना छैन । सिटीलाई पछिल्ला १० वर्षमा १० उपाधि जित्न मद्दत गरेका अग्वेरो दुई महिना पछि ३३ वर्षका हुँदैछन् । बढ्दो उमेर र ग्वार्डिओलाको युवा स्ट्राइकर अनुबन्ध गर्ने चाह कारण अग्वेरोलाई सिटीले नयाँ सम्झौताको प्रस्ताव राखेन । 

अग्वेरो सिटी बसाई लम्बयाउन चाहन्थे । सिटीले अग्वेरोलाई नयाँ सम्झौता प्रस्ताव गर्ने वा नगर्ने भन्ने निर्णय यस सिजनको अन्त्यमा मात्रै गर्ने बताएको थियो । सोमबार सिटीले निर्णय लियो । प्रशिक्षक ग्वार्डिओलाले अग्वेरोलाई आफ्नो कार्यलयमा बोलाए र निर्णय सुनाए । अग्वेरोलाई त्यही दिन क्लब अध्यक्ष खाल्दुन अल मुबारकले पनि टेलिफोन गरे । र, सिटीको सफलतामा महत्वपूर्ण योगदान गरेकोमा धन्यवाद दिए । त्यति मात्रै होइन, कम्पनी र सिल्भासँगै अग्वेरोको सालिक सिटी रंगशाला परिसरमा राखिने जानकारी पनि दिए । 

सिटीसँगको यात्रामा पूर्णविराम लागेसँगै अब अग्वेरो कता जालान् ? यो प्रश्नको उत्तरको खोजीमा उनका समर्थक मात्रै होइन, युरोपेली मिडिया पनि लागेका छन् । यसैबीचमा बार्सिलोनाले अग्वेरोलाई अनुबन्ध गर्न चाहेको खबर पनि आएका छ । तर अग्वेरोले भने अहिले नै केही भन्न नसकिने प्रतिक्रिया दिएका छन् । ‘सिजन अझै सकिएको छैन । अहिलेका लागि मेरो ध्यान सिटीलाई थप उपाधि जिताउनेतर्फ छ ।  जब जारी सिजन सकिन्छ तब मात्रै म नयाँ यात्राका बारेमा कुरा गर्नेछु,’ अग्वेरोले भनेका छन् । उता ग्वार्डिओलाले अग्वेरो अझैँ पनि उच्च स्तरको फुटबल खेल्न सक्षम रहेको बताए । 

अग्वेरो सिटीका सर्वकालिन उच्च गोलकर्ता हुन् । पछिल्लो एकवर्ष अग्वेरो पुरानो लयमा रहन नसके पनि उनको ‘फिनिसिङ’ माथि प्रश्न उठाउने ठाउँ छैन । त्यसैले पनि अब अग्वेरोको ठाउँमा को ? भन्ने प्रश्नले सिटीलाई पिरोलेको छ । युरोपियन क्लब फुटबलमा धेरै पैसा खर्च गर्ने क्लबमध्येको एक हो, सिटी । तर सरुवा बजारमा जति पनि पैसा खर्च गर्न सिटी तयार देखिए पनि अग्वेरोलाई प्रतिस्थापन गर्नसक्ने खेलाडी पहिचान र खरिद गर्न सजिलो छैन ।

अग्वेरो सिटीका सर्वकालिन उच्च गोलकर्ता हुन् । पछिल्लो एकवर्ष अग्वेरो पुरानो लयमा रहन नसके पनि उनको ‘फिनिसिङ’ माथि प्रश्न उठाउने ठाउँ छैन । त्यसैले पनि अब अग्वेरोको ठाउँमा को ? भन्‍ने प्रश्‍नले सिटीलाई पिरोलेको छ । युरोपियन क्लब फुटबलमा धेरै पैसा खर्च गर्ने क्लबमध्येको एक हो, सिटी । तर सरुवा बजारमा जति पनि पैसा खर्च गर्न सिटी तयार देखिए पनि अग्वेरोलाई प्रतिस्थापन गर्नसक्ने खेलाडी पहिचान गर्न र खरिद गर्न सजिलो छैन । 

अन्य ठूला क्लब जस्तै सिटीको पनि नजर एर्लिङ हालान्ड माथि छ । उसै पनि महंगा हालान्ड, चेल्सी र म्यानचेस्टर युनाइटेडसँग पनि जोडिँदै आएका छन् । अनि रियल म्याड्रिड पनि नर्वेजियन स्ट्राइकर अनुबन्ध गर्न तयार भएर बसेको छ । त्यसकारण, सिटीका लागि हालान्ड भित्र्याउने लक्ष्य सजिलै पूरा हुनेवाला छैन । 

यद्यपि सिटी आत्मविश्वासी देखिन्छ । त्यसको कारण छ । हालान्डका पिता एल्फीले सिटीका लागि तीन वर्ष खेलेका थिए । दुबै हालान्ड सन् २०१४ मा लिग कप फाइनलमा सिटीलाई समर्थन गर्न इंगल्यान्ड पनि पुगेका थिए । यही नाताको उपयोग गर्दै सिटी बोरुसिया डर्टमन्डका युवा फरवार्डलाई म्यानचेस्टर ल्याउन धुनमा छ । 

हालान्ड बाहेक सिटीसँग अन्य विकल्प नभएको होइन । इन्टर मिलानका रोमेलु लुकाकु, टोटनहमका ह्यारी केन र एथलेटिकोका जोआओ फिलिक्स पनि सिटीको नजरमा छन् । सिटीले यसअघि समयमै नयाँ रक्षक खरिद नगरी भरपर्दा खेलाडी कम्पनीलाई क्लब छाड्न दिएर गल्ती गरिसकेको छ । सिटी फेरि त्यस्तै गल्ती गर्ने पक्षमा छैन । त्यसैले ग्वार्डिओला नयाँ सिजन सुरुहुन भन्दा अगाडि नै नयाँ स्ट्राइकर भित्र्याउने धेयमा छन् । 

तर ग्वार्डिओलाले जो सुकै खेलाडीलाई अग्वेरोको उत्तराधिकारी चुने पनि अर्जेन्टिनाका फरवार्डले छाडेको छापलाई प्रतिस्थापन गर्न सजिलो भने हुने छैन । 

गोल डटकमबाट 


Author

थप समाचार
x