खेलकुद

रियल म्याड्रिडले बनायो जिदानलाई प्रतिस्थापन गर्नसक्ने प्रशिक्षकको सूची

इकागज |
चैत १८, २०७७ बुधबार १६:३४ बजे

काठमाडौँ: जिनेदिन जिदान रियल म्याड्रिडमा अर्को सिजन रहन्छन् वा रहदैनन् भन्‍ने विषयमा विभिन्‍न टिका-टिप्पणी भइरहेका छन् । रियललाई दुई पटक स्पेनी लिग र तीन च्याम्पियन्स लिग जिताएका फ्रेन्च प्रशिक्षक जिदान कमसेकम २०२१/२२ सिजनका लागि मात्रै भए पनि क्लबमा रहुन भन्‍ने धारणा अध्यक्ष फ्लोरेन्टिनो पेरेजको छ । 

उसै पनि जिदानको रियलसँगको सम्झौँता सन् जुन, २०२२ मा मात्रै सकिँदैछ । यद्यपि जारी सिजनको अन्त्यमा जिदानले रियल छाड्ने सम्भावना पनि उक्तिकै छ । स्पेनी अखबार एएसका अनुसार जिदानले क्लब छाडे उनको स्थानमा नियुक्त गर्न सकिने प्रशिक्षकको खोजी रियलले सुरु गरिसकेको छ । 


एएसका अनुसार रियलले जिदानलाई प्रतिस्थापन गर्नसक्ने प्रशिक्षकका रुपमा माउरिसियो पोचेटिनोलाई लिएको थियो । तर पूर्वटोटनहम प्रशिक्षक पोचेटिनो पेरिस सेन्ट जर्मेन (पीएसजी) लागेपछि रियलको ध्यान योकिम लो र क्लबकै पूर्वखेलाडी राउल गोन्जालेजतर्फ छ । 

हाल जर्मन राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक रहेका लोले आगामी युरोपछि जिम्मेवारी त्याग्‍‍ने घोषणा गरिसकेका छन् । जर्मन अखबार बिल्डका अनुसार लो हाल स्पेनी भाषा सिकिरहेका छन् । जसको संकेत भनेको लो ला लिगामा खेल्ने क्लबको प्रशिक्षक बन्‍न चाहन्छन् भन्‍ने हो । 

उता राउल भने रियल हाल म्याड्रिडको रिजर्भ टिमको प्रशिक्षकका रूपमा कार्यरत छन् । स्पेनको तेस्रो लिगमा खेल्ने रियल म्याड्रिड कास्टिलालाई गत वर्ष युईएफए युथ लिग जिताएका राउल पनि जिदानलाई प्रतिस्थापन गर्नसक्ने प्रशिक्षकका रूपमा हेरिएका छन् । 
   


Author

थप समाचार
x