खेलकुद

आधुनिक फुटबल

च्याम्पियन्स लिगले नयाँ स्वरुप पाउँदै, के के परिवर्तन हुँदैछ ?

इकागज |
चैत १९, २०७७ बिहीबार ६:५० बजे

काठमाडौँ : च्याम्पियन्स लिग फुटबलको ढाँचामा परिवर्तन गर्ने योजना नयाँ होइन । युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगितामा सुधार गर्ने भन्दै युरोपेली फुटबल संघ (युईएफए) र क्लबहरूबीच केही वर्षयता छलफल भइरहेको छ । जुन छलफल अन्तिम चरणमा रहेको युरोपियन सञ्चार माध्यमले लेखेका छन् । 

च्याम्पियन्स लिगमा के के परिवर्तन गर्ने भन्ने विषय आउँदो अप्रिलमा प्रष्ट हुने युरोपियन सञ्चार माध्यमले लेखेका छन् । यस अंग्रेजी वर्षको सुरुवातमै युईएफएबाट नयाँ घोषणा हुने अपेक्षा थियो । तर युईएफए र क्लबबीच ‘कर्मसियल राइट्स’ सम्बन्धि बुँदामा सहमति नजुटेपछि घोषणा मिति धकेलिएको एएफपीले आफ्नो रिर्पोटमा उल्लेख गरेको छ । 


च्याम्पियन्स लिगको परिवर्तन सन् २०२४ बाट लागू गर्ने योजना छ । 

क्लबको संख्यामा वृद्धी 

च्याम्पियन्स लिगमा हाल ३२ क्लब समूह चरणका लागि छनौट हुन्छन् । जसलाई आठ समूहमा विभाजन गरिन्छ । ती क्लबहरूले ‘होम एण्ड अवे’ गरी एक आपसविरुद्ध खेल्छन् । र, प्रत्येक समूहका शीर्ष दुई क्लब अन्तिम १६ का लागि छानिन्छन् ।  च्याम्पियन्स लिग सन् २००३ देखि नै यही नियममा सञ्चालन भइरहेको छ ।
 
तर अब परिवर्तित नियम अनुसार च्याम्पियन्स लिगको समूह चरणमा ३६ क्लब हुनेछन् । यद्यपी युईएफए र क्लबहरूबीच ३६ भन्दा बढी क्लबलाई समूह चरणमा प्रवेश गराउने सहमती हुने सम्भावना पनि रहेको छ । बेलायती अखबार दी टाईम्सका अनुसार घरेलु प्रतियोगिता मार्फत च्याम्पियन्स लिगमा छनौट हुन नसकेका तर युरोपा लिगमा छनौट भएका बलिया टिममध्ये दुईलाई च्याम्पियन्स लिगको समूह चरणमा स्थान दिइनेछ । 

युरोपियन लिगहरूको वरियतामा पाँचौँ स्थानमा रहेको फ्रेन्च लिग वानबाट हाल शीर्ष दुई क्लबले च्याम्पियन्स लिगको समूह चरणमा सिधा प्रवेश पाउँछन् । परिवर्तित ढाँचा अनुसार फ्रेन्च लिगबाट तीन क्लब च्याम्पियन्स लिगको समूह चरणमा सिधा छनौट हुनेछन् ।

स्विस ढाँचा 

नयाँ स्वरुपको च्याम्पियन्स लिगमा समूह चरणका फरक तरिकाले सञ्चालन गरिनेछ । च्याम्पियन्स लिग स्विस मोडलमा खेलाइनेछ । कुल ३६ क्लबलाई चार ‘पोट’मा विभाजित गरी युईएफए वरियता अनुसार विपक्षी दिइनेछ ।
 
जस अनुसार प्रत्येक क्लबले १० खेल खेल्नेछन् । फरक–फरक विपक्षीका विरुद्ध । पाँच खेल घरेलु मैदानमा खेल्नेछन् भने बाँकी पाँच भने विपक्षीको मैदानमा । त्यसबाट शीर्ष आठमा अट्ने क्लब अन्तिम १६ का लागि छनौट हुनेछन् भने अन्य १६ टिमले प्ले–अफ खेल्नेछन् । जसबाट आठ टिम प्रि–क्वार्टरफाइनल प्रवेश गर्नेछन् । बाँकी रहेका १२ टिम भने च्याम्पियन्स लिगबाट बाहिरिनेछन् । 

खेल संख्यामा वृद्धि 

अहिलेको ढाँचामा च्याम्पियन्स लिगको समूह चरणमा रहेको एउटा क्लबले छ खेल खेल्न पाउँछ । तर परिवर्तित ढाँचामा समूह चरणमा रहेको एउटा क्लबले १० खेल खेल्नेछ । समूह चरणमा कुल एक सय ८० खेल खेलिनेछन् । हाल ९६ खेल खेलाइन्छ । 

नकआउट चरणमा खेल संख्यामा परिवर्तन नहुने भएपनि प्रतियोगिताको कुल खेल संख्या ह्वात्तै बढ्नेछ । हाल च्याम्पियन्स लिगमा कुल एक सय २५ खेल हन्छ भने परिवर्तित च्याम्पियन्स लिगमा कुल खेल संख्या दुई सय २५ पुग्नेछ । जसको मतलब हो, च्याम्पियन्स लिगको फाइनल पुग्ने टिमले कम्तीमा १७ खेल खेल्नेछ । अहिलेको अवस्थामा भने फाइनल पुग्ने टोलीले १३ खेल खेल्छ ।   


Author

थप समाचार
x