खेलकुद

आहा रारा गोल्डकपको उद्घाटन खेलमा सहारा र एपिएफ खेल्ने

यस वर्ष राष्ट्रिय टोलीका फरवार्ड अभिषेकलाई समान गरिने

इकागज |
चैत १९, २०७७ बिहीबार ११:१२ बजे

पोखरा : आहा रारा गोल्डकपको पहिलो खेलमा आयोजक सहारा क्लब र सशस्त्र प्रहरी बलको एपिएफ खेल्ने भएका छन् । २१ गतेदेखि सुरु हुन लागेको प्रतियोगिताको यो खेल पहिलो क्वाटरफाइनल रहनेछ । 

दोश्रो खेलमा ए डिभिजन लिग विजेता मछिन्द्र क्लब र अफ्रिकन रुट एसोसिएसन, डाउला क्यामरुन खेल्नेछन् । तेस्रो क्वाटरफाइनलमा संकटा र मनाङ मर्स्याङ्दी क्लब खेल्दा अन्तिम क्वाटरफाइनलमा थ्रीस्टार र नेपाल पुलिस खेल्ने आयोजकले जनाएको छ ।


चैत २१ देखि २८ गतेसम्म पोखरा रंगशालामा चल्ने प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा एक करोड २९ लाख १ हजार आम्दानी र १ करोड १ लाख ८१ हजार बचत हुने आशा आयोजकको छ । बचत रकम सहाराको एकेडेमीमा खर्च गरिनेछ । हाल एकेडमीमा २४ बालक आश्रित छन् । 

यस्तै सहारा क्लब पोखराले राष्ट्रिय फुटबल टोलीका फरवार्ड अभिषेक रिजाललाई सम्मान गर्ने भएको छ । सहाराले ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७७’ बाट रिजाललाई सम्मान गर्न लागेको हो । पुरस्कारको राशी नगद ३५ हजार र दोसल्ला सहित सम्मान गरिन लागेको सहाराका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए ।

सहाराले हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ । अघिल्लो वर्ष राष्ट्रिय टोलिका कप्तान सुजल श्रेष्ठलाई सम्मान गरिएको थियो ।


Author

थप समाचार
x