खेलकुद

लिफ्टमा अड्किए स्पेनका प्रशिक्षक

इकागज |
चैत १९, २०७७ बिहीबार १६:५६ बजे

काठमाडौँ: विश्वकप छनौट अन्तर्गत बिहीबार राती स्पेनले कोसोभोमाथि ३-१ को जित दर्ता गर्‍यो । डानी ओल्मो, फेरान टोरेस र जेरार्ड मोरेनोले एक-एक गोल गरेपछि स्पेनले सजिलो जित हात पार्‍यो । 

स्पेनले सहज जित दर्ता गरे पनि टिमका मुख्य प्रशिक्षक लुइस एनरिके भने सम्भावित नतिजा बारेमा चिन्तित थिए । आफू बसेकै होटलको लिफ्टमा अड्किएपछि एनरिके समयमै मैदानमा पुग्न सकेनन् । जसका कारण एनरिके आफ्नो टिमको प्रदर्शनका बारेमा चिन्तित बने । 


एनरिके स्पेनी प्रशिक्षण टिमका अन्य सदस्यहरुसँगै एक घण्टा लिफ्टका अड्किएका थिए । उनीहरु खेलस्थल ला कार्टुया रंगशालामा खेल सुरु भइसकेपछि पुगेका थिए । यद्यपि एनरिके र उनका सहकर्मी मैदानमा ढिलो पुगे पनि स्पेनको प्रदर्शनमा फरक परेन । 

लिफ्टमा अड्किनु बाहेक अर्को विषयका बारेमा पनि एनरिकेले प्रस्टिकरण दिनु पर्‍यो । विषय थियो पहिलो एघारमा स्पेनी कप्तान सर्जियो रामोसको अनुपस्थिती । रियल म्याड्रिडका रक्षक रामोस स्पेन र कोसोभोबीचको खेलको ८६ औँ मिनेटमा मात्रै मैदान प्रवेश गरे । 

रामोस पछिल्लो समय स्पेनी टिमको पहिलो रोजाइको रक्षक बन्न सकेका छैनन् । ३५ वर्षिय रामोसलाई पछिल्लो साता ग्रिसविरुद्ध पहिलो हाफमा खेलाइयो । तर आइतबार जर्जियासँगको खेलमा भने उनी बेन्चमै रहे ।  

रामोसको विषयमा सोधिएको प्रश्नमा एनरिकेले भने, ‘रामोसलाई मैले पहिलो एघारमा नराख्नु भनेको विशुद्द प्राविधिक कारण हो । उनी भर्खरै चोटमुक्त भएका हुन् । त्यसकारण पनि उनको उपयोग सावधानीपूर्वक गर्नुपर्ने हुन्छ । मैले लिएको निर्णयमा रामोसको कुनै आपत्ति छैन । उनलाई थाहा छ, टिम छान्ने काम प्रशिक्षकको हो,’


Author

थप समाचार
x