खेलकुद

हालान्डका लागि बार्सिलोना र रियल म्याड्रिडको भिडन्त, कसले मार्ला बाजी ?

इकागज |
चैत २०, २०७७ शुक्रबार ८:५१ बजे

काठमाडौँ : युरोपियन क्लब फुटबलमा जारी सिजन सकिन धेरै समय बाँकी छैन । अधिकांश लिग मे महिनाको अन्तिममा समापन हुनेछन् । त्यसपछि सरुवा बजार खुल्नेछ । जसका लागि क्लब तथा खेलाडीका एजेन्ट अहिलेबाटै तयार छन् । 

यसपटकको सरुवा बजारमा धेरै ठूला क्लबका नजर बोरुसिया डर्टमन्डका स्ट्राइकर एर्लिङ हालान्डमाथि हुनेछ । विश्व फुटबलका धेरै फुटबल स्टारहरूका एजेन्ट रहेका मिनो राइओला हालान्डको सम्भावित सरुवाका विषयमा व्यस्त छन् । 


उनै राइओला हालान्डका लागि क्लब खोजीमा लागेका छन् । राइओला र हालान्डका पिता अल्फइन्ज बिहीबार स्पेन पुगे । जहाँ उनीहरूले बार्सिलोनाका नयाँ अध्यक्ष जोआन लार्पोटाका मुख्य सल्लाहकारलाई भेटे । क्याट्लन अखबार स्पोटर्सका अनुसार राइओला र सिनियर हालान्डले लार्पोटाका सल्लाहकारसँग बैठक गर्दा, विषय हालान्ड जुनियरको सरुवा थियो । 

स्पेनकाे बार्सिलोना मात्रै हालान्डलाई अनुबन्ध गर्न इच्छुक छैन । रियल म्याड्रिड पनि २० वर्षीय स्ट्राइकर खरिद गर्न इच्छुक रहेको छ । राइओला र अल्फइन्जले रियलका प्रतिनिधिसँग पनि कुरा गरेको बताइएको छ । 

उता डर्टमन्डका स्र्पोटिङ निर्देशक माइकल जोर्कलाई यस विषयमा प्रश्न सोधियो । ‘हामी के चाहन्छौँ त्यो सबै राइओलालाई थाहा छ,’ स्काई जर्मनीसँग छोटो कुराकानी गर्दै जोर्कले भने । उनको संकेत हालान्डको सरुवाका लागि डर्टमन्डले माग्ने रकमतर्फ थियो । जर्मन अखबारहरूका अनुसार डर्टमन्डले हालान्डको सरुवा रकममा वृद्दी गरेको छ । नर्वेजियन फरवार्डका लागी डर्टमन्ड एक सय पचास मिलियन युरो चाहन्छ । 

हालान्डका लागि दुई स्पेनी क्लब बाहेक म्यानचेस्टर सिटी, चेल्सी र म्यानचेस्टर युनाइटेड दौडमा छन् । राइओला र हालान्डका पिताले शुक्रबार इंग्लिस क्लबहरुका प्रतिनिधिसँग कुरा गर्ने युरोपियन सञ्चार माध्यमले लेखेका छन् । अल्फइन्ज सन् २००० देखि २००३ सम्म सिटीका लागि खेलेकाले पनि हालान्ड आफ्नो टिममा आउने पेप ग्वार्डिओलाको अपेक्षा रहेको छ ।


Author

थप समाचार
x