खेलकुद

एन्फा निर्वाचन : मतदान सकिँदा ८४ मत खस्यो

इकागज |
असार ६, २०७९ सोमबार १९:४२ बजे

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ कार्यसमिति चयनका लागि मतदान सम्पन्‍न भएको छ । सोमबार बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा बन्द सत्रपछि सुरू भएको मतदानमा कूल ८४ मध्ये ८४ मत नै खसेको छ ।

एन्फाको केन्द्रीय निर्वाचनका लागि कूल ८७ मत भए पनि दुई वटा जिल्ला भक्तपुर र सिन्धुलीमा चुनाव हुन नसक्दा मताधिकारबाट वञ्चित भएका थिए ।


यस्तै, सिराहा जिल्लाबाट मताधिकार पाएका एन्फा कार्यसमिति सदस्य प्रवीणकुमार यादवले समयसीमा भित्र कार्यसमितिबाट राजीनामा नदिएका कारण उनी मतदानमा सहभागी हुन पाएका थिएनन् ।

मतदानमा कैलालीको स्टार सिटी युवा क्लबले अन्तिम भोट हालेको थियो । स्टार सिटीबाट नरेन्द्र शाहले मत हालेका हुन् ।

एन्फाको विधानअनुसार निर्वाचनमा खस्‍ने कूल मत ८७ हो । एन्फासँग सम्बन्धित ४८ मध्ये ४५ जिल्लाले मताधिकार पाउँछन् । गण्डकी प्रदेशका ८ मध्ये ६ र प्रदेश नम्बर १ बाट ११ मध्ये १० जिल्ला केन्द्रीय निर्वाचनमा मताधिकारका लागि चुनिन्छन् । यसपालि गण्डकीबाट गोरखा र कास्की तथा प्रदेश नम्बर १ बाट संखुवासभा प्रदेशको निर्वाचनमा पराजित भएर मताधिकारबाट वञ्चित छन् ।

यस्तै, सहिद स्मारक ‘ए’ डिभिजन लिगका १४, ‘बी’ डिभिजन लिगका १४ मध्ये ११ र ‘सी’ डिभिजन लिगका १४ मध्ये ९ क्लबले मताधिकार पाइसकेका छन् । त्यसबाहेक राष्ट्रिय लिगका लागि छनोट भएर खेल्नका लागि दुई वर्षदेखि प्रतीक्षा रत चार वटा क्लबसँगै एन्फामा आबद्ध चार वटा संघले मताधिकार पाउँछन् । रेफ्री, प्रशिक्षक, खेलाडी र महिला संघले एक–एक भोट सुनिश्चित गरिसकेका छन् ।

एन्फाको आगामी चार वर्षे कार्यसमितिको अध्यक्षताका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ अध्यक्षका लागि चुनावी मैदानमा छन् । दुवै अध्यक्षका आकांक्षी सदस्यसम्म आफ्नो प्यानल नै लिएर चुनावी मैदानमा होमिएका छन् । उनीहरू दुई जनालाई राजीव पौड्यालले चुनौती प्रस्तुत गर्दैछन् ।

शेर्पाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली र नेम्वाङ प्यानलबाट वीर बहादुर खड्काले उम्मेदवारी दिएका छन् । मतदान सकिए पनि मतगणना भने केही बेरपछि सुरू हुनेछ ।


Author

थप समाचार
x