खेलकुद

बिराटनगरले यान ललाई मुख्य प्रशिक्षक बनाउने, प्रमुख स्ट्राइकरमा अनुभवी पेड्रो मान्जी

इकागज |
चैत २०, २०७७ शुक्रबार २०:३५ बजे

काठमाडौँ: बैशाख ११ बाट सुरु हुन लागेको नेपाल सुपर लिग (एनएसएल) का लागि बिराटनगर एफसीले यान ललाई मुख्य प्रशिक्षक बनाउने भएको छ । भारतीय घरेलु फुटबलमा स्थापित प्रशिक्षक यान बिराटनगरको जिम्मेवारी लिन राजी भइसकेको क्लबका प्रमुख कार्यकारी अधिकृत शुभाशिश कोइरालाले जानकारी दिए । 

हाल भारतीय घरेलु फुटबलमा दोस्रो श्रेणीको मानिने आइ लिगमा पन्जाब एकेडेमी एफसी, मोहम्मेडन स्पोर्टिङ क्लब र अइजवाल एफसीको प्रशिक्षक रहिसकेका यानले एएफसी ए कोचिङ लाइसेन्स २५ वर्षकै उमेरमा प्राप्त गरेका थिए । २८ वर्षका यानले २० वर्षको उमेरबाटै प्रशिक्षण करियर सुरु गरेका थिए । 


सन् २०१९, जुलाईमा पन्जाबको जिम्मेवारी सम्हाल्दा सबैभन्दा कम उमेरमा आइ लिग क्लबको प्रशिक्षक बन्‍ने कीर्तिमान राखेका यान भारतीय फुटबल इतिहासमा सबैभन्दा सानो उमेरमा एएफसी ए कोचिङ लाइसेन्स लिने प्रशिक्षक पनि हुन् । हालै सम्पन्‍न आइ लिगमा आइजवाललाई सातौँ बनाएका यान अर्को साता नेपाल आउने तालिका छ । 

एनएसएल क्लबमध्ये विदेशी प्रशिक्षक नियुक्त गर्ने दोस्रो क्लब बन्‍न लागेको बिराटनगरले विदेशी खेलाडी पनि ल्याउने भएको छ । यसअघि नै १६ नेपाली खेलाडी अनुबन्ध गरिसकेको बिराटनगरले तीन विदेशी खेलाडी ल्याउने तयारी गरेको हो । जसमा पेड्रो मान्जी मुख्य स्ट्राइकरका रुपमा क्लब भित्रने छन् । 

उरुग्वेमा जन्मिएका स्ट्राइकर मान्जी स्पेनी क्लब इस्पान्योलका उत्पादन हुन् । स्पेनको समेत नागरिकता लिएका ३२ वर्षिय मान्जीसँग आइ लिगका साथै जापानको दोस्रो श्रेणीको लिग खेलेको अनुभव छ । भर्खरै सकिएको आइ लिगमा मोहम्मेडनको जर्सीमा आठ खेल खेल्दा मान्जीले छ गोल गरेका थिए । २०१८-१९ मा चेन्‍नाई सिटी एफसीका लागि खेल्दा मान्जीले १८ खेलमा २१ गोल गरेका थिए । 

बिराटनगरले अनुबन्ध गर्ने अन्य विदेशी खेलाडीमा अडेलेजा सोमिडे र उलरिच सिवे रहेका छन् । दुबै खेलाडीसँग नेपालमा खेलेको अनुभव छ । मिडफिल्डर र फरवार्ड बनेर खेल्न सक्ने नाइजेरियाका सोमिडे पछिल्लो पटक मछिन्द्र क्लबसँग आबद्व थिए । उनीसँग भारतका इस्ट बंगाल, चेन्नाई सिटी, गोकुलम एफसी लगायतका क्लबका लागि खेलेको अनुभव रहेको छ । उता क्यामरुनका सिवेले हिमालयन शेर्पाक्लबबाट खेलेका थिए । 

 


Author

थप समाचार
x