खेलकुद

रियल म्याड्रिडको अध्यक्षमा उम्मेद्‌वारी दिन न्यूनतम शर्त, १२ करोड यूरोको बैंक ग्यारेन्टी

इकागज |
चैत २१, २०७७ शनिबार ९:५९ बजे

काठमाडौँ : स्पेनी क्लब बार्सिलोनाले नयाँ अध्यक्ष पाएको धेरै समय भएको छैन । बार्सिलोनाको प्रतिद्वन्द्वी क्लब रियल म्याड्रिडले पनि अध्यक्षका लागि निर्वाचन प्रक्रिया अघि बढाउने भएको छ । 

बार्सिलोनामा जस्तै रियलमा पनि अध्यक्षको पदमा उम्मेद्‌वारी दिन केही शर्तहरू छन् । त्यसमा पनि मुख्य शर्त भनेको बैंक ग्यारेन्टी हो । रियलको अध्यक्ष हुन चाहने उम्मेद्‌वारले १२ करोड ४० लाख यूरो बराबरको बैंक ग्यारेन्टी देखाउनु पर्नेछ । त्यो भनेको रियलको बार्षिक बजेटको १५ प्रतिशत हो । 


स्पेनका दुई ठूला क्लबको निर्वाचनमा बैंक ग्यारेन्टीको महत्व उच्च छ । सन् २००९ को जुन यता रियलका अध्यक्ष रहेका फ्लोरेन्टिनो पेरेजलाई आगामी निर्वाचनमा टक्कर दिन चाहने जो कोहीले पनि पहिले बैंक ग्यारेन्टी पेश गर्नुपर्नेछ । रियलको अध्यक्ष बन्न बैंक ग्यारेन्टी मात्रै पर्याप्त छैन । विगत २० वर्षदेखि क्लबको सदस्य रहेको पनि हुनुपर्छ । 

पेरेज सन् २००० मा पहिलो पटक रियलका अध्यक्ष बनेका थिए । उनको नेतृत्वमा रियल विश्व फुटबलमै बलियो ब्रान्ड बन्यो । तर मैदानमा रियलले अपेक्षाकृत प्रदर्शन गर्न नसकेपछि सन् २००६ मा पेरेजले राजीनामा दिए । त्यसपछि अध्यक्ष बनेका रामोन काल्डेरोनले सन् २००९ मा पद त्यागेपछि पेरेज पुरानै जिम्मेवारीमा फर्किए । दोस्रो पटक क्लबको अध्यक्ष बनेपछि पेरेजले क्रिस्टियानो रोनाल्डो लगायतका खेलाडी भित्र्याए । जसका कारण रियलले मैदानमा अपेक्षाकृत सफलता हासिल गर्‍यो ।

निर्वाचनको मिति घोषणा नगरिए पनि २०२१-२२ सिजनको बीचमा हुने अनुमान गरिएको छ । सन् २०१३ र २०१७ को निर्वाचनमा निर्विरोध अध्यक्ष बनेका पेरेजले यसपटक पनि कसैबाट अवरोध सामना नगर्ने अपेक्षा गरिएको छ । बैंक ग्यारेन्टीको रकम धेरै भएकाले जो कोहीले उम्मेद्‌वारी घोषणा गर्नसक्ने अवस्था छैन । स्पेनकै सबैभन्दा ठूलो सिभिल इन्जिनियरिङ तथा निर्माण कम्पनी एसीएसका अध्यक्ष रहेका पेरेजको सम्पत्ति १.८ बिलियन अमेरिकी डलर रहेको र्फोब्सले जनाएको छ । जसका कारण ७४ वर्षिय पेरेजलाई बैंक ग्यारेन्टी बुझाउन गाह्रो छैन । 

अध्यक्षका लागि उम्मेद्‌वारी दिनुअघि पेरेजले किलियान एमबाप्पे र एर्लिङ हालान्ड जस्ता युवा स्टार अनुबन्ध गर्न चाहेको स्पेनी अखबारहरूले लेखेका छन् । त्यस्तै क्लब कप्तान सर्जियो रामोसलाई क्लबमै राख्‍ने चुनौति पनि उनको सामु रहेको छ । त्यसैगरी नयाँ स्वरुपको सान्टियागो बर्नबाउलाई पनि उनले आफ्नो सफलताका रुपमा प्रचार गर्न चाहेका छन् । 


Author

थप समाचार
x