खेलकुद

ललितपुर मेयर वुमन्स च्याम्पियन्सिप : सिताको अर्धशतकमा एपीएफको जित

इकागज |
चैत २१, २०७७ शनिबार १३:३४ बजे

काठमाडौँ : ललितपुर मेयर वुमन्स च्याम्पियन्सिपको उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपीएफ विजयी भएको छ । त्रिभुवन विशवविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा शनिबार एपीएफले प्रदेश एकलाई आठ विकेटले हरायो । 

टस जित्दै पहिले ब्याटिङ गरेको प्रदेश एकले निर्धारित २० ओभरमा एक सय छ रन बनायो । उता विभागिय टोली एपीएफले १८ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पुरा गर्‍यो । 


एपीएफको जितमा ओपनर तथा कप्तान सिता राना मगरले अर्धशतक प्रहार गरिन् । सात चौकाको मद्दतमा सिताले अविजित ५२ रन जोडिन् । उनी खेलको प्लेयर अफ दी म्याच घोषित भइन् । अर्की ओपनर ज्योति पाण्डेले ४० बलको सामना गर्दा ३२ रन बनाइन् ।

त्यसैगरी सरिता मगरले छ रन बनाइन् भने इन्दु बर्माले अविजित आठ रनको योगदान गरिन् । बलिङतर्फ प्रदेश एककी कप्तान रुविना क्षेत्री र संगिता राईले एक-एक विकेट लिए । 

त्यसअघि प्रदेश एकका लागि ओपनर रुविनाले ४५ रन बनाईन् । त्यसैगरी रोमा थापाले ३३ रन जोडिन् । बाँकी खेलाडीले भने पराजित टिमका लागि उल्लेख्य रन जोड्न सकेनन् । एपीएफका लागि रेखा रावल, करुण भण्डारी, सिता राना मगर र विनु बुढाले एक-एक विकेट लिए । 


Author

थप समाचार
x