खेलकुद

ललितपुर मेयर वुमन्स च्याम्पियन्सिपः सुदूरपश्चिमले ललितपुरलाई हरायाे

इकागज |
चैत २१, २०७७ शनिबार १६:५० बजे

काठमाडौँ: ललितपुर मेयर वुमन्स च्याम्पियन्सिपमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर एघारलाई सात विकेटले पराजित गरेको छ । च्याम्पियन्सिपको पहिलो दिनको दोस्रो खेलमा सुदूरपश्चिमले आयोजक ललितपुरमाथि सात विकेटको जित दर्ता गर्‍यो । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा ललितपुरले टस जित्दै पहिले ब्याटङि गर्ने निर्णय लियो । कन्चन श्रेष्ठले अर्धशतक प्रहार गरेपछि ललितपुरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय सात रनको योगफल तयार पार्‍यो । जवाफी ब्याटिङमा उत्रेको सुदूरपश्चिमले १९ ओभरमा तीन विकेटको क्षतिमा एक सय १३ रन बनायो । 


ललितपुरका लागि कन्चनले अविजित ६३ रन बनाइन् । ओपनरद्वय शोभा आले र अनुराधा चौधरी क्रमशः एक र चार रनमा पभेलियन फर्केपछि कन्चनले ललितपुरको इनिङ सम्हाल्ने प्रयास गरिन् । त्यस्तै, सुमन खतिवडा र अस्मिना कार्मचार्यले क्रमशः १६ र १३ रन बनाए । बाँकी खेलाडीले भने दोहोरो अंक छुन सकेनन् ।  
सुदुरपश्चिमका लागि कविता कुवँर, रितु कनौझिया र सम्झना खड्काले एक–एक विकेट लिए । 

सुदूरपश्चिमलाई जित दिलाउन ओपनर मन्जु बोकटीले ४१ रन बनाइन् । प्लेयर अफ दी म्याच समेत घोषित मन्जुले ४२ बल सामना गर्दा छ चौँका प्रहार गरिन् । अर्की ओपनर रेवती धामीले १८ रन जोड्दा डोली भट्टले २२ रन बनाइन् । मध्यक्रमकी कविता जोशीले १० रनको योगदान गरिन् । डोली र कविता अविजित रहे ।  बलिङतर्फ ललितपुरका सुमन खतिवडा र आरती बिडारीको नाममा समान एक–एक विकेट रह्यो । 


Author

थप समाचार
x