खेलकुद

युद्ध हारेको अर्मेनियामा फुटबलले ल्याएको खुशी

इकागज |
चैत २२, २०७७ आइतबार ६:३० बजे

काठमाडौँ : केही महिनाअघि अर्मेनिया छिमेकी अजरबैजानसँग युद्धमा रह्यो । युद्धविराम भएपछि केही भूभाग अजरबैजानलाई बुझाउन बाध्य भयो । युद्ध र भूभाग गुमाउनुको पिडामा रहेको अर्मेनियामा अहिले फुटबलले खुशी ल्याएको छ । 

विश्‍वकप छनौट अन्तर्गत मार्च २६ देखि ३१ सम्म अर्मेनियाले तीन खेल खेल्यो । तीन खेल नै जित्यो पनि । लिचटेनस्टाइन, आइसल्यान्ड र रोमानियाविरुद्ध जित हासील गरेपछि अर्मेनियाले महत्वपूर्ण नौ अंक बटुल्यो । शतप्रतिशत जितले अर्मेनिया समूह ‘जे’ को शीर्षस्थानमा छ । अर्मेनिया आफ्नो इतिहासमा पहिलो पटक विश्‍वकप छनौट समूहको शीर्षस्थानमा पुगेको हो ।   


अजरबैजानसँगको युद्धमा हार व्यहोरेपछि अर्मेनियामा राजनीतिक संकट पनि निम्तियो । तर विश्वकप छनौटमा प्राप्त प्रारम्भिक सफलताले अर्मेनियाका नागरिकले राहत महसुस गरेका छन् ।

‘अर्मेनियाका नागरिक निरन्तर तनाबमा रहँदै आएका छन् । तर फुटबलले हामीलाई केही हदसम्म खुशी हुने मौका दिएको छ,’ ६५ वर्षीय खाचाटुर खाराटिनले एफपीसँग कुरा गर्दै भने, ‘अर्मेनियनहरू सजिलै पराजित हुँदैनन् । जस्तोसुकै अवस्थामा पनि लड्न तयार हुन्छन् भन्ने सन्देश फुटबलले दिएको छ ।’
 
गत बुधबार अर्मेनियाले घरेलु मैदानमा रोमानियाको सामना गर्‍यो । राजधानी यरभनस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा अर्मेनिया ३-२ ले विजयी भयो । त्यसअघि अर्मेनियाले आइसल्यान्डलाई २-० र लिचटेनस्टाइनलाई १-० पराजित गरेको थियो । नतिजास्वरुप अर्मेनिया विश्‍वकप जितिसकेको जर्मनीसमेत रहेको समूहको शीर्षस्थानमा उक्लियो ।
 
अर्मेनियाले लगातार तीन जित हासिल गरेपछि त्यहाँका प्रधानमन्त्री निकोल पासिनयानले फेसबुकमा खुशीयाली मनाए । ‘हारपछिको जित । म यो क्षणमा अजरबैजानसँगको युद्धमा ज्यान गुमाएका अर्मेनियनहरूलाई सम्झिरहेको छु,’ पासियानले लेखेका छन् । 

गत सेप्टेम्बरमा अर्मेनिया र अजरबैजानबीचको युद्ध करिब छ साता चल्यो । जसमा छ हजार भन्दा बढीले ज्यान गुमाए । रुसको मध्यस्थतामा भएको युद्धविरामले अर्मेनिया र अजरबैजानलाई युद्धस्थलबाट फर्कायो । तर अर्मेनियाले युद्ध हारेको अनुभुती गर्‍यो । किनभने वर्षौदेखि आफ्नो नियन्त्रणमा रहेको नार्गोनो काराबाखको कयौँ भूभाग अजरबैजानलाई सुम्पिनु पर्‍यो । 

जसका कारण अर्मेनियामा आन्दोलन सुरु भयो । प्रधानमन्त्री पासियानको राजीनामा माग गरियो । महिनौँसम्म चलेको आन्दोलनका कारण प्रधानमन्त्री पासियानले दबाब महसुस गरेका छन् । सरकार नै ढल्ने अवस्था आएपछि पासियानले निर्वाचनको घोषणा पनि गरेका छन् ।
 
अर्मेनियन नागरिक फुटबलमा प्राप्त सफलता राजनीति गर्नेहरूका लागि पाठ हुनसक्ने धारणा राख्छन् । ‘एकताबद्ध हुँदा जितिन्छ भन्ने सन्देश फुटबलरहरूले दिएका छन् । हामी एक भए मुलुक बलियो हुन्छ । सबै अर्मेनियनहरूले यो तथ्य बुझ्‍न जरुरी छ,’ स्थानीय २९ वर्षीय अनुश सेरोब्यानले भने ।

अर्मेनिया पूर्वसोभियत संघबाट छुट्टिएको मुलुक हो । यदि कतार विश्वकपका लागि अर्मेनिया छनौट हुने हो भने उ विश्वकपमा छनौट हुने तेस्रो पूर्वसोभियत संघ सदस्य हुनेछ । यसअघि रुस र युक्रेनले विश्वकपको अनुभव बटुलिसकेका छन् ।


 


Author

थप समाचार
x