खेलकुद

च्याम्पियन्स लिग : स्पेनमा कमजोर नदेखिने लक्ष्यमा लिभरपुल

इकागज |
चैत २४, २०७७ मगलवार ६:२४ बजे

काठमाडौँ : च्याम्पियन्स लिगमा एकपटक फेरि रियल म्याड्रिड र लिभरपुल भिड्दैछन् । यी दुई टिम सन् २०१८ को च्याम्पियन्स लिग फाइनलमा पनि आमनेसामने भएका थिए । यसपटक भने उनीहरूको भेट क्वार्टरफाइनलमा हुन लागेको हो । 

रियल र लिभरपुल गत सिजन आ-आफ्ना लिगमा च्याम्पियन बनेका थिए । यस सिजन भने अवस्था उस्तै छैन । ला लिगा उपाधि होडमा रियल एथलेटिको म्याड्रिड भन्दा पछी छ भने लिभरपुल इंग्लिस प्रिमियर लिग अंक तालिकाको छैठौँ स्थानमा छ । घरेल लिगमा अपेक्षाकृत प्रदर्शन गर्न नसकिरहेको बेला दुबै टिमको नजर च्याम्पियन्स लिगमाथि छ । 


फेरि, रियल र लिभरपुलबीचको भिडन्त त्यसै पनि रोमाञ्चक हुने अपेक्षा गरिन्छ । लिभरपुलका लागि सन् २०१८ को फाइनलमा ब्यहोरेको पराजयको बदला लिने मौका छ । उता रियल भने लिभरपुललाई यसपटक पनि पराजित गर्दै आफू युरोपेली क्लब फुटबलको बलियो शक्ति भएको सन्देश दिन चाहन्छ । 

तीन वर्ष अगाडिको फाइनलमा लिभरपुलका गोलरक्षक लोरिस करियसले बिर्सनै नसकिने प्रकारको गल्ती गरेका थिए । मोहम्मद सलाह काँधको चोटका कारण मैदान छाड्न बाध्य भएपछि कमजोर बनेको लिभरपुल करियसको गल्तीले खेल गुमाउन बाध्य भएको थियो । च्याम्पियन्स फाइनलसँगै करियसको लिभरपुल करियरमा ब्रेक लाग्यो । सलाह भने लिभरपुललाई पुनः एकपटक च्याम्पियन्स लिग जिताउने लक्ष्यमा अघि बढिरहेका छन् । 

उसो त लिभरपुलले सन् २०१९ को च्याम्पियन्स लिग उपाधि उचाल्यो । त्यसको एक वर्षपछि योर्गेन क्लपको प्रशिक्षणमा लिभरपुलले इंग्लिस प्रिमियर लिग पनि जित्यो । ३० वर्षसम्म इंग्लिस च्याम्पियन बन्‍न नसकेको लिभरपुलका लागि गएको वर्ष महत्वपूर्ण साबित भयो । 
लगातार दुई वर्ष महत्वपूर्ण उपाधि जितेका लिभरपुलका लागि यो वर्ष भने सुखद रहन सकेको छैन । त्यसकारण पनि म्याड्रिडमा हुने च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा रियलको सामना गर्दा लिभरपुल आत्मविश्वासी हुने प्रयासमा रहनेछ । 

यस सिजन लिभरपुल आफ्नै मैदानमा पनि कमजोर देखिँदै आएको छ । करिब चार वर्ष एनफिल्डमा एकै खेल नहारेको लिभरपुलले यो सिजन सरासर चार खेलमा हार ब्यहोर्यो । लिभरपुलले यसअघि एनफिल्डमा लगातार छ खेलमा पराजय भोगेको थिएन । अनपेक्षित पराजय भोग्ने क्रम नरोकिएपछि लिभरपुलले यस पटक शीर्ष चारमा रही सिजन टुङ्गाउन संर्घषरत रहेको छ । 

त्यसो त लिभरपुल कमजोर बन्‍नुमा महत्वपूर्ण खेलाडीहरु घाइते हुनु पनि हो । भर्जिल भान डाइक र जो गोमज सिजनको सुरुवातबाटै मैदान बाहिर रहे भने कप्तान जोर्डन हेन्डरसन र जोएल माटिप पनि लामो समयका लागि उपलब्ध हुने छैनन् । उता थियागो अल्कन्ट्रा र डिएगो जोटाले चोटका कारण धेरै खेल गुमाउन बाध्य भए ।

यद्यपि पछिल्ला खेलहरूमा थियागो र जोटाको योगदान महत्वपूर्ण रह्यो । शनिबार आर्सनलसँगको खेलमा जोटाले गोल पनि गरे । त्यसअघि जोटाले उल्भ्स र आरबी लाइपजिगविरुद्ध पनि गोल गरेका थिए । जोटा रियलसँगको भेटमा पनि उही लयलाई कायम राख्‍ने धेयमा हुनेछन् । जोटा र थियागो बाहेक फाबिन्होको उपस्थितीले पनि लिभरपुललाई बलियो बनाउनेछ । 


Author

थप समाचार
x