खेलकुद

लिग-२: स्कटल्यान्डविरुद्ध बलिङमा नेपाल

इकागज |
असार २९, २०७९ बुधबार १४:५५ बजे

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आयोजक स्कटल्यान्डविरुद्ध पहिले बलिङ गर्ने भएको हो । टिटउडमा टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

सिरिजअन्तर्गत घरेलु टोली स्कटल्यान्डले पहिलो खेलमा नामिबियालाई ७७ रनले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । तर नेपालले भने पहिलो खेलमा नामिबियासँग ४० रनको पराजय भोग्न बाध्य भए ।


लिग-२ अन्तर्गत स्कटल्यान्ड तुलनात्मक रुपमा सहभागी ७ टिममध्येकै बलियो टोलीको रुपमा रहेको छ । र उसलाई उसैको घरेलु मैदानमा पराजित गर्न नेपालका लागि ठूलै चुनौतीको रुपमा रहनेछ ।

नामिबियाविरुद्ध स्कटल्यान्डले ब्याटिङ र बलिङ दुबैबाट शानदार सुरुवात गरेको थियो जसका कारण उसले ठूलो अन्तरको जित हात पार्न सफल भयो । पहिले ब्याटिङ गर्दै स्कटल्यान्डले पहिलो विकेट गुमाउँदा ५८ रन जोडेको थियो । त्यसैगरी, बलिङमा भने नामिबियाका ३ खेलाडीलाई ८ रनभित्रै आउट गर्न सफल भएको थियो ।

तर अर्कोतर्फ नेपालले भने नामिबियाको तीन विकेट लिदाँ उसले ६९ रन जोडिसकेको थियो । जवाफमा भने नेपालले ५८ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो ।

त्यसैले आजको खेलमा ब्याटिङमा नेपालले राम्रो सुरुवात गर्नुकासाथै बलिङमा सकेसम्म छिटो विकेट लिनुपर्ने हुन्छ ।


Author

थप समाचार
x