खेलकुद

बजेट अभावले पोखरा रंगशाला हस्तान्तरण भएन

धनबहादुर गुरुङ |
साउन ३, २०७९ मंगलबार १४:२३ बजे

पोखरा- पोखरा रंगशाला निर्माणकै चरणमा एक अन्तर्राष्ट्रिय, ३ राष्ट्रिय, ‘ए’ डिभिजन लिगका केही खेल र फुटकर प्रतियोगिता सम्पन्‍न भए । २०७५ साल पुस १३ गते निर्माण सम्झौता गरेर काम सुरु गरिएको रंगशालाको काम ९९ प्रतिशत बल्ल सकिएको छ । अझै पनि केही न केही प्रतियोगिताका तयारी खेलहरू यही हुने गर्छन् ।

साढे ३ वर्षमा सकिने छाँटकाँट देखिएपनि अझै एक प्रतिशत कामकाे बजेट बाँकी नै छ । बाँकी रहेको काम बजेट अभावले रोकिएको छ ।


बजेट नआएकै कारण आर्थिक वर्ष २०७८/०७९ मा हस्तान्तरण हुन नसकेको निर्माण कम्पनीको भनाइ छ । नयाँ आर्थिक वर्षमा बाँकी बजेट नआए निर्माणाधीन भनिएकै रंगशालामा अरु प्रतियोगिता र नवौं राष्ट्रिय खेलकुद हुने सम्भावना बढेको छ ।

रंगशालाको काम सकिएपनि बजेटका कारण हस्तान्तरण रोकिएको पोखरा रंगशालाका निर्माण कम्पनीका प्रोजेक्ट इन्जिनियर पुरुषोत्तम बरालले बताए । सरसफाई र विद्युतीकरणको काम बजेट नआएकाले रोकिएको हो । अन्तिम समयमा लगभग ३ प्रतिशत रकम बजेट नआएकाले हस्तान्तरण गर्न नसकिएको इन्जिनियर बरालले जानकारी दिए । ‘बजेट आएको भए सानातिना र बाँकी रहेका काम सकिहाल्थ्यौं,’ उनले भने, ‘गएको आर्थिक वर्षको बजेट आउने कुरा हुँदाहुँदै चुनाव आयो अनि आएन, अब यो आर्थिक वर्षमा आउला नि अनि बाँकी रहेको काम सकेर हस्तान्तरण गर्ने हो ।’

१ अर्ब २८ करोड लागतमा निर्माण भइरहेको रंगशालाको काम विभिन्‍न कारण ६ पटक म्याद थप गरेर अन्तिम चरणमा पुगेको हो । ‘सबैभन्दा बढी त कोरोनाले काममा प्रभाव पार्‍यो,’ उनले भने, ‘अनि अरु भनेको बेला बेलामा हुने प्रतियोगिताले पनि ढिलो बनाएको हो ।’ निर्माणाधीन रंगशालामा १३ औं साग अन्तर्गतको महिला फुटबल, आहा रारा गोल्डकपको ३ संस्करण, ‘ए’ डिभिजन लिगको केही खेल र छिटफुट प्रतियोगितासँगै ट्रेनिङ चलेको थियो । १६ हजार ५०० दर्शक क्षमताको अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशाला ६ महिनामा बनाउने लक्ष्यसहित शिलान्यास भएपनि लामो समय रङ्गशालाको ढाँचा तयार नहुँदा काममा ढिलाइ भएको थियो ।

भारतको ग्रेट स्पोर्ट्स इन्फ्रा (जीएसआई) र नेपाली कम्पनी एमए कन्स्ट्रक्सनको ज्वाइन्ट भेन्चरले रंगशालाको काम गरिरहेको हो । कम्पनी सम्झौता गरे अनुसार सबै काम पूरा भएको उनले बताए । स्टिल मोडुलर ग्राण्डस्ट्यान्ड (प्यारापिट) को सामान फ्रान्सबाट ल्याइएको हो । उक्त प्यारापिट जडानको लागि फ्रान्स बाट दुई जना प्राविधिक समेत पोखरा आएका थिए । पोखरा रंगशालामा जडित सिट रातो र निलो रंगको रहेको छ । उक्त सिट नेपालको झण्डासँग मिल्ने गरी राखिएको हो ।

फुटबल मैदान, खेलाडी चेञ्जिङ रुम, एथलेटिक्स ट्रयाक, तथा मिडिया सेन्टर, हल, शौचालय, प्यारापिटको पश्चिमको विशिष्ट कक्षमा छानो लगायतका पूर्वाधार तयार भइसकेका छन् ।

२०७५ पुस १३ मा १ अर्ब २८ करोड रूपैयाँमा स्टेडियम बनाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग सम्झौता भएको थियो । ६ महिनाभित्र स्टेडियम बनाउनुपर्ने सम्झौतामा उल्लेख भए पनि दुई महिना ढिलो काम सुरू भएको थियो । २०३९ मा निर्माण गरिएको पोखराको फुटबल रङ्गशालाको विशिष्ट कक्ष २०७२ को भूकम्पबाट क्षति पुगेको थियो ।


Author

थप समाचार
x