खेलकुद

म्यानचेस्टर सिटीसँग केभिन डे ब्रुएनाको नयाँ सम्झौता

इकागज |
चैत २५, २०७७ बुधवार १६:३५ बजे

काठमाडौँ: केभिन डे ब्रुएनाले म्यानचेस्टर सिटीसँग नयाँ सम्झौता गरेका छन् । बेल्जियमका प्लेमेकर डे ब्रुएनाले बुधबार सिटीसँग नयाँ चार वर्षे सम्झौता गरेका हुन् । नयाँ सम्झौँता अनुसार डे ब्रुएना सिटीमा सन् २०२५ सम्म रहनेछन् । 

गत वर्ष इंग्लिस प्रिमियर लिगमा वर्ष खेलाडी घोषित भएका डे ब्रुएना नयाँ सम्झौता अनुसार ३४ वर्षको उमेरसम्म सिटीमा रहनेछन् । डे ब्रुएनाले पछिल्लो पटक सिटीसँग गरेको सम्झौँता सकिन अझै दुई वर्ष बाँकी छ । तर मुख्य खेलाडीहरुलाई लामो समयसम्म क्लबमा राख्‍ने रणनीति अनुसार सिटीले डे ब्रुएनालाई नयाँ सम्झौता गराएको हो । 


सन् २०१५ मा सिटी आएका डे ब्रुएनाले सिटीमा आफू खुशी रहेको र करियरकै उच्च बिन्दुमा रहेको बताए । ‘पेप ग्वार्डिओलाको र मेरो फुटबल फिलोसफी एउटै छ । हाम्रो उदेश्य पनि मिल्छ । त्यसकारण पनि म उनको प्रशिक्षणमा खेल्न पाउँदा दंग छु,’ सिटसँग नयाँ सम्झौता गरिसकेपछि डे ब्रुएनाको भनाइ थियो, ‘यस सिजन हामी राम्रो खेलिरहेका छौँ । त्यसकारण सिजन सकिँदा लिग उचाल्ने हाम्रो लक्ष्य हो । टिमको त्यही लक्ष्यमा म सहयोग गर्न चाहन्छु ।’

जर्मन क्लब उल्फ्सबर्गबाट सिटी आएका डे ब्रुएनाले सिटीलाई दुई लिग, चार लिग कप र एउटा एफए कप जित्‍न मद्दत गरेका छन् । २९ वर्षिय प्लेमेकर डे ब्रुएनाले सिटीको जर्सीमा एक सय ७९ लिग खेल खेल्दा ४१ गोल गरेका छन् भने ७८ असिस्ट दर्ता गरेका छन् । उनले २०१९/२० सिजनमा २० असिस्ट दर्ता गरेका थिए । जुन लिगको एक सिजनमा कुनै पनि खेलाडीले दर्ता गरेको सर्वाधिक असिस्ट हो । यस्तो कीर्तिमान विगतमा थिएरी अनरीको नाममा थियो ।

 


Author

थप समाचार
x