खेलकुद

उपाय बिहिन जिदान, कमजोर रियल म्याड्रिड

इकागज |
कात्तिक २५, २०७७ मंगलबार ७:१९ बजे

आफ्नो घरेलु रगंशाला एस्ताडियो मेस्तायामा आइतबार रियल म्याड्रिडलाई स्वागत गर्नुअघि भ्यालेन्सिया स्पेनिस ला लिगाको पछिल्ला चार खेलमा जित विहिन थियो । तर कार्लोस सोलेर एक्लैले तीन गोल गरेपछि जाभी गार्सिया नेतृत्वको भ्यालेन्सियाले रियल म्याड्रिडविरुद्ध नसोचेको जित निकाल्यो ।

जितसँगै यस सिजनको रेलिगेसन उम्मेदवारका रुपमा चित्रित भ्यालेन्सियाले महत्वपूर्ण तीन अंक हासिल गर्दै नवौं स्थानमा उक्लियो । तर उता रियलका प्रशिक्षक जिनेदिन जिदानका लागि भने मेस्तायाको नतिजाले थप दबाब सिर्जना गरेको छ । जारी सिजनमा आठ खेल खेलिसकेको रियलको लागि यो दोस्रो हार हो । लिग जित्ने लक्ष्यका साथ सिजनको सुरुवात गरेको रियल पाँच जितका साथ चौथो स्थानमा छ ।


सोलेरले तीन गोल नै पेनाल्टीमा गरे । उनको पेनाल्टी ह्याट्रिक ला लिगामा २१ औ शताब्दीमा कुनै पनि खेलाडीले गरेको पहिलो पेनाल्टी ह्याट्रिक हो । २३ वर्षीय स्पेनिस मिडफिल्डर सोलेर अर्को एक पेनाल्टीमा भने चुके । भ्यालेन्सियालाई चार गोलले विजयी बनाउन रियलका डिफेन्डर राफाएल भारानले एक आत्मघाती गोल गरे । रियलका लागि एकमात्र गोल करिम बेन्जिमाले गरे ।

यो नतिजा पछि प्रशिक्षक जिदानमाथि प्रश्न त उठ्ने नै छ । साथै टीमका सिनियर खेलाडीहरूको पनि आलोचना हुनेछ । हिजोको खेलमा विशेषगरी रियलका चार खेलाडीले खराब प्रर्दशन गरेको स्पेनिस फुटबल विश्लेषकहरूले प्रतिक्रया दिए । त्यो सूचीमा कप्तान सर्जियो रामोस, भारान, मार्सेलो र इस्कोलाई राखिएको छ ।

रामोसले एउटा पेनाल्टी दिए भने भारानले आत्मघाती गोल गर्दै आफ्नो टीममाथि दबाब सिर्जना गरे । मार्सेलो र इस्को खेल पनि बिर्सनलायकको रह्यो । तर, रियल पराजित हुनुमा मूख्य खेलाडीहरू गुमाउनु पनि कारक रह्यो । कोभिड-१९ टेस्टमा पोजिटिभ देखिएपछि रियलका महत्वपूर्ण खेलाडीहरू कासेमिरो र एडन हार्जडले भ्यालेन्सियासँगको खेल गुमाए ।

चोट निको भएसँगै मैदान फर्केका हार्जाडले रियलका लागि प्रभावशाली प्रर्दशन गरिरहेका थिए । उनी नभएपछि रियलले आइतबारको खेलमा गोलका लागि पर्याप्त मौका सिर्जना गर्न सकेन । अनि कासेमिरो बिनाको रियलको मिडफिल्ड असन्तुलित देखियो । कासेमिरो डिफेन्सिभ मिडफिल्डर भएपनि उनले रियलको बिपक्षीविरुद्धको आक्रमणमा सधै महत्वपूर्ण भुमिका निर्वाह गर्थे ।

रियलले जारी सिजन अघि पहिलो एघारमा पर्ने खाल्का खेलाडी अनुबन्धन गरेन । बरु केही प्रभावशाली नामलाई क्लब छाड्न दियो । ग्यारेथ बेल, हामेस रोद्रिगेज, असरफ हाकिमी र सर्जियो रेगुईलोन जस्ता खेलाडीहरूलाई क्लब छाड्न दिइयो । अघिल्ला दुई खेलाडीहरू धेरै वर्षदेखि रियलका लागि आत्तरित्त खेलाडीका रुपमा रहे पनि हाकिमी र रेगुईलोन यस सिजन स्पेािस क्लबका लागि महत्वपूर्ण सदस्य बन्न सक्थे ।

रियलको टीममा कासेमिरो नुहँदा उनको स्थानमा खेल्न सक्ने खेलाडी छैनन् । त्यसकारण, जिदानले फ्रेन्च क्लब रेनका किशोर मिडफिलडर एडुवार्दो कामाभिङगालाई अनुबन्धन गर्न खोजेका थिए ।

जिदानले मार्सेलोलाई विश्वास गर्दै रेगुईलोनलाई टोटेनहम जान दिए । तर मार्सेलो न त शारिरक रुपमा बलियो दखिएका छन् न त टीमका लागि अपेक्षित योगदान नै गर्न सकेका छन् । पहिलो रोजाईका राईट ब्याक डानी कार्बहाल र त्यही स्थानमा खेल्न सक्ने अल्भारो ओडरियोजोलार र नाचो घाईते छन् । जसका कारण जिदानले विङगर लुकास भास्केजलाई त्यहाँ प्रयोग गरिरहेका छन् । यस अर्थमा पनि हाकिमीलाई क्लबमा नराख्नु गलत निर्णय साबित भएको छ ।

रियलको टीममा कासेमिरो नुहँदा उनको स्थानमा खेल्न सक्ने खेलाडी छैनन् । त्यसकारण, जिदानले फ्रेन्च क्लब रेनका किशोर मिडफिलडर एडुवार्दो कामाभिङगालाई अनुबन्धन गर्न खोजेका थिए । साथै पउल पोग्बामाथि पनि उनको नजर थियो । तर दुबै खेलाडी खरिद गर्ने वातावरण बनेन ।

भ्यालेन्सियासँगको खेलमा बेन्जेमाले चोट बोक्दै बाहिरिदा उनको स्थानमा मारियानो डियाज मैदान छिरे । डियाजका लागि यो खेल सिजनकै पहिलो थियो । जिदानले यी युवा खेलाडीलाई त्यती विश्वास गरेको देखिदैन । कोभिडले विषम स्थिति उत्पन्न गराएको भन्दै युरोपका धेरै जसो क्लबहरूले यो पटक खेलाडी खरिदमा ठूलो रकम खर्च गरेनन् । रियलले पनि खेलाडी स्थापित नाम खरिद गर्ने भन्दा भएकै खेलाडीको अधिकतम प्रयोग गर्ने भन्ने नीति लियो । नतिजा स्वरुप, रियल सोसिडडबाट मार्टिन आडेर्गाड रियल मयाड्रिड फर्किए । तर उनलाई पनि जिदानले पर्याप्त मौका दिएका छैनन् ।

सन् २०१७ मा लिग जित्दा जिदानले युवा खेलाडीहरूको ब्यापक प्रयोग गरेका थिए । रोद्रिगेज, इस्को र अल्भारो मोराटालगायतका खेलाडीहरूले रियललाई उपाधी जिताउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । गत सिजन रियलले लिग जित्दा, उसलाई बार्सिलोना लगायतका प्रतिद्वन्द्वीहरूले बलियो टक्कर दिएनन् । तर जिदानले आउदो सिजनका लागि भने खेलाडी किन्नुपर्ने माग राखेका थिए ।

जिदानका लागि दुर्भाग्य नै भन्नुपर्छ, केही युवा खेलाडीहरू किन्ने बाहेक रियलले ठूला नाममा पैसा खर्च गरेन । जिदानले त्यसको मूल्य चुकाइरहेका छन् । तर बार्सिलोनाले पनि अपेक्षित प्रर्दशन गर्न नसकिरहेकाले जिदानको असफलता अहिलेलाई छोपिएको छ । स्पेनका यी दुबै ठूला टोलीहरूले अपेक्षित प्रर्दशन गर्न नसक्ने हो भने ला लिगाको यो सिजन अनौठो तरिकाले अघि बढ्ने र अन्त्य हुनेछ । (गोल डट कमबाट)  


Author

थप समाचार
x