पेरिस ओलम्पिकको एथलेटिक्समा रिपिचेज लागू हुने
काठमाडौँ- सन् २०२४ मा फ्रान्सको पेरिसमा हुने ओलम्पिकको ट्रयाक इभेन्टको व्यक्तिगत विधातर्फ रिपिचेज लागू हुने भएको छ । विश्व एथलेटिक्स परिषदले सोमबार ओलम्पिकको एथलेटिक्सतर्फ रिपिचेज राउन्डको सुरुवात भएको जनाएको आईएएनएसले उल्लेख गरेको छ ।
पेरिस ओलम्पिकमा अब २ सय मिटरदेखि १५ सय मिटर दौडसम्मका व्यक्तिगत ट्रयाक इभेन्ट साथै हर्डल्समा रिपिचेज लागू हुने छ । १०० मिटर दौडमा पहिलो चरणअघि हिट चरण हुने हुँदा यसमा भने रिपिचेज लागू हुने छैन ।
यस नियम अनुसार मुख्य प्रतिस्पर्धाका लागि छनोट हुन नसकेका खेलाडीले रेस्लिङ तथा फेन्सिङ झै सेमिफाइनलसम्म पुग्नका लागि रिपिचेज हिटमा सहभागिता जनाउन पाउनेछन् ।
यसको अर्थ हिट राउन्डमा सर्वाधिक छिटो निर्धारित दूरी पूरा गरे मात्र अघि बढ्ने यसअघिको नियम खारेज हुनेछ । यससँगै ती प्रतिस्पर्धाहरूमा अब चार चरण हुनेछन्- पहिलो चरण, रिपिचेज चरण, सेमिफाइनल तथा फाइनल ।
नयाँ नियम अनुसार एथलेटिक्स अन्तर्गतका उक्त विधाका खेलाडीहरूले ओलम्पिक्समा कम्तिमा दुईपटक दौडिन पाउने विश्व एथलेटिक्स परिषदले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया