विश्व कीर्तिमानी टोबीः जसको खेल सामग्रीमा बुबाले आगो लगाइदिएका थिए
ओरेगन- कीर्तिमानधारी टोबी अमुसान १०० मिटर हर्डल्सको विश्व च्याम्पियन बनेकी छन् । तर, उनी अझै पनि दौडका लागि प्रयोग हुने खेल सामग्री बुबाले आगो लगाइदिएको सम्झिन्छिन् ।
सन् २०१९ को विश्व एथलेटिक्स च्याम्पियनसिप तथा ढिला गरी भएको २०२० टोकियो ओलम्पिक दुवैमा चौथो स्थान हात पारेकी नाइजेरियन धाविका टोबीको दृढताले अन्ततः उनको नाम ट्र्याक र फिल्ड रेकर्ड बुकमा लेखिएको छ ।
अमेरिकामा भर्खरै सम्पन्न भएको विश्व एथलेटिक्स च्याम्पियनसिप अन्तर्गत २५ वर्षीया टोबीले १२.१२ सेकेन्डमा निर्धारित दूरी पार गर्दै विश्व कीर्तिमान कायम गरेकी थिइन् ।
तर यस्तो लाग्छ उनको खेल जीवनको सुरुवातदेखि नै बाधाहरुले उनलाई पछ्याइरहे।
‘मेरा आमाबुवा दुवै शिक्षक हुन्, उनीहरू कडा अनुशासनवादी हुन्,’ टोबी भन्छिन्, ‘यस्तो परिवारमा हुर्कंदा उनीहरूले तपाईले विद्यालयमा ध्यान केन्द्रित गर्नुपर्छ भन्ने अपेक्षा राख्छन् । एक महिला भएकोले उनीहरुलाई लाग्छ हामी अन्तै बहकिन सक्छौं ।’
तर टोबीले नदेखेको क्षमता उनमा उनकी आमाले देखिन् र छोरीलाई एक मौका दिनुपर्छ भन्ने लागे छ ।
टोबीका अनुसार उनकी आमाले बुबालाई छोरी चर्च गएको बताएपनि आफू अभ्यासमा जाने गरेको अथवा प्रतिस्पर्धामा सहभागी हुँदा विद्यालयको अतिरिक्त क्रियाकलापमा गएको बताउँथिन् ।
यसरी नै टोबीको यात्रा सुरू भयो ।
‘मैले दौडिरहेको थाहा पाएपछि मेरो बुबा एक पटक साँच्चै रिसाउनु भयो र मैले अभ्यासका लागि प्रयोग गर्ने सबै खेल सामग्री जलाएर मेरी आमालाई स्टेडियमको यात्रा मेरो लागि अन्तिम नै रहेको भनी सचेत गराउनुभयो,’ टोबी ती दिनहरु सम्झिन्छिन् ।
वर्षहरु बित्दै गए । जब गत सोमबार अमेरिकाको ओरेगनस्थित हेवार्ड फिल्डको पोडियमको माथिल्लो स्थानमा टोबी चढिन्, खुसीको आँशु बग्यो, किनभने विश्व एथलेटिक्स च्याम्पियनसिपमा पहिलो पटक नाइजेरियाको राष्ट्रिय गान बजेको थियो ।
‘प्रत्येक पटक शतप्रतिशत प्रदर्शन गर्दा पनि त्यो पर्याप्त भएन । प्रत्येक पटक चौथो भए । तर यस पटकको शतप्रतिशतले मलाई स्वर्ण मात्र दिलाएन, विश्व कीर्तिमान नै कायम भयो । आफैँलाई विश्वास गर्दा यो सम्भव भयो,’ टोबीले बताइन् । आफूलाई स्वस्थ राखेको भन्दै आफ्ना बुबाप्रति उनी कृतज्ञ पनि छिन् ।
फुटबल र रिले हुँदै हर्डल्स च्याम्पियन
उनका बुबाले शंका गरेपनि टोबीलाई भने आफ्नो क्षमतामाथि पूर्ण विश्वास थियो ।
सन् २०१६ मा नै उनले एक ट्वीटमा आफू अहिले अपरिचित भएपनि चाँडै अविस्मरणीय हुने र सफल नभएसम्म लागिरहने बताएकी थिइन् । सामाजिक सञ्जाल ट्वीटरमा उनको त्यो सन्देश ‘पिन्ड’ गरिएको छ जसले उनको सफलतालाई दर्साउँछ ।
तर उनको एथलेटिक्सको यात्रा भने नाइजेरियाको ओगुन राज्यको आवर लेडी अफ अपोस्टल्स सेकेन्डरी स्कुलको एउटा दुर्घटना नै मान्नु पर्छ ।
‘म फुटबल टोलीमा थिएँ, तर म पिचको सबै ठाउँमा हुन्थेँ,’ टोबी बताउँछिन्, ‘मेरो प्रशिक्षकले मलाई एथलेटिक्सको ट्र्याक टिममा प्रयास गर्न सुझाव दिए । म सो टिममा सबैभन्दा छिटो दौडिने खेलाडी भएँ र म स्कूलको रिले टिममा परेँ ।’
सन् २०१३ मा नाइजेरियामा भएको अफ्रिका युथ गेम्सका लागि उनी रिले टिममा नपरेपनि उनले लङ्गजम्पमा कास्य प्राप्त गरिन् ।
तर रिलेमा अधिकारीहरुले आफूलाई चाहिएको खेलाडीलाई मात्र स्थान दिने गरिएपछि खेल नै छाड्ने मनसाय बनाएकी टोबी केही प्रशिक्षकले हर्डल्समा जान सुझाव दिएपछि उनको यात्राले नयाँ मोड लियो ।
टोबीले सन् २०१५ मा कंगो-ब्राजाभिल्लमा भएको अफ्रिकन गेम्सको हर्डल्समा सिनियर टिममा पहिलो स्वर्ण जित्नुअघि अधिकारीहरुलाई आफूमाथि शंका नगर्न संघर्ष गर्नु परेको थियो ।
‘सामान्यतया नाइजेरियन दृष्टिकोण भनेको तपाईलाई यो गर्न सक्नुहुन्न भन्ने जस्तो विश्वास दिलाउन खोज्नु हो,’ उनले भनिन् ।
‘मबाट ती प्रतियोगितामा पदकको अपेक्षा गरिएको थिएन र अधिकांशले म स्वर्ण जित्न सक्दिनँ भन्ने धारणा व्यक्त गरेका थिए । तर मैले उनीहरुलाई देखाइ दिएँ र त्यसले मेरो जीवन नै परिवर्तन गर्यो,’ उनी थप्छिन् ।
त्यसपछि उनले अमेरिकामा छात्रवृत्ति प्राप्त गरिन् । युनिभर्सिटी अफ टेक्ससमा आएदेखि टोबीले पछाडि फर्केर हेर्नु परेको छैन ।
सन् २०१८ मा अष्ट्रेलियामा भएको कमनवेल्थ गेम्समा १०० मिटर हर्डल्सतर्फ स्वर्ण जितिन् र सोही वर्ष अफ्रिकन च्याम्पियनसिपको उपाधि हात पारिन् ।
विश्वस्तरमा भने उनले उपाधि हात पार्न धेरै कुर्नुपर्यो । तीन वर्षअघि दोहामा भएको विश्व च्याम्पियनसिप तथा गत वर्ष भएको टोकियो ओलम्पिकमा उनी चौथो भइन्
तर अमेरिकामा भएको विश्व च्याम्पियनसिपमा कीर्तिमान कायमसँगै स्वर्ण जितेकी टोबीले १ लाख अमेरिकी डलर समेत प्राप्त गरिन् । र, अबको उनको लक्ष्य भनेको इंग्ल्यान्डमा हुने कमनवेल्थ गेम्समा स्वर्ण जित्नु हो । सायद अब टोबीका बुबाले उनको उपलब्धि स्वीकार्ने छन् ।
(बीबीसी इंग्लिसका लागि लायनी वाचिराले लेखेको आलेखको भावानुवाद इकागजका सञ्जीव शाहले गरेका हुन्)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया