खेलकुद

गण्डकीमा एक वर्षमा २ सय ५ खेल मैदान

धनबहादुर गुरुङ |
साउन ११, २०७९ बुधबार २०:४३ बजे

पोखरा- गण्डकी प्रदेश सभामा सांसद बनेर हाजिर भएको झण्डै साढे ३ वर्षपछि युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ प्रदेश सभामा बोले । त्यो पनि मन्त्रालयगत छलफलका क्रममा कुरा उठेपछि जवाफ दिने सन्दर्भमा । त्यो समयमा उनले आफूले सकेको काम गरिरहेको बताएका थिए ।

२०७५ साल माघ १४ गते सोमबार साँझ सपथ लिँदै सांसद बनेका उनी २०७९ असार २९ गते रोष्टममा बौल्दै गण्डकी प्रदेशमा गत वर्ष मात्र २ सय ५ वटा विभिन्न खेलको मैदान बनाएको जानकारी गराए । यो वर्ष १ सय ५२ वटा सम्पन्न हुँदै गरेको पनि रोष्टमबाटै जानकारी दिएका थिए । प्रदेशका ११ जिल्लामा बनिरहेका मैदान र कोर्टहरु आफ्नो कार्यकालको उपलब्धि मान्छन्, मन्त्री गुरुङ । सोही समयमा उनले आफ्नो कामले स्वास्थ्य मन्त्रालयलाई घाटा हुने व्यंग्य पनि गरेका थिए । 'खेलकुद मन्त्रालयकाे कामले स्वास्थ्य मन्त्रालयलाई घाटा हुन सक्छ किनभने मैले सुगरका बिरामी नहाेला जस्ताे देखेकाे छु,' उनले भने, ‘गाउँ गाउँमा २ सय ५ वटा ग्राउण्ड मात्र गत साल बनाएका छौं यो वर्ष १ सय ५२ वटा कम्प्लिट हुँदैछ ।’


पछिल्लो समय मन्त्री गुरुङ मन्त्रालयको सहयोगमा बनेको मैदान र संरचना उद्घाटनमा लागि परेका छन् । यसको शिलशिलामा उनी अहिले गृह जिल्ला मनाङमा छन् । मंगलबार उनले मनाङ ङिस्याङ गाउँपालिका ९ खांसारमा बनेको तिलिचो युवा क्लब आर्चरी मैदानको उद्घाटन गरे । बुधबार मनाङ ङिस्याङ ५ मा रहेको मुङ्जी बास्केट बल कोर्टको उद्घाटन गर्न भ्याए ।

५ नम्बर वडाको भ्राका युथ क्लबले निर्माण गरेको मुङ्जी बास्केट बल कोर्टमा २८ लाख लागतमा बनेको क्लबले जनाएको छ । प्रदेश सरकार कै सहयोगमा पालिकाको वडा नम्बर ६ मा पनि अर्को बास्केट बल कोर्ट बनेको स्थानीय विनोद गुरुङले जानकारी दिए । मनाङ कै खेलकुद मन्त्री हुँदा खेलकुदका संरचना बनेकोमा उनले खुसी व्यक्त गरे ।

मन्त्रालयको सहयोगमा बनेको संरचना बिस्तारै उद्घाटन गर्दै स्थानीयलाई हस्तान्तरण गर्ने योजना रहेको प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार लामाले जानकारी दिए । ‘मन्त्री ज्यू अहिले गृह जिल्ला मनाङमा हुनुहुन्छ त्यसपछि लमजुङ हुँदै आउनुहुन्छ,’ गुरुङले भने, ‘बनेका संरचना किन यति कै राख्ने? उद्घाटन भएपछि त स्थानीय युवायुवतीहरूले प्रयोग गर्छन् नि ।’


Author

थप समाचार
x