खेलाडी छनोट प्रक्रिया अघि बढाउन प्राविधिक कर्मचारीको अभाव
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता
काठमाडौँ- नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीको लागि विभिन्न प्रदेशमा प्राविधिक कर्मचारीको अभाव रहेको बताइएको छ । युवा तथा खेलकुद मन्त्रालयद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय तथा स्थानीय समन्वय, सहजीकरण तथा छलफल बैठकमा विभिन्न प्रदेशका प्रतिनिधिले खेलाडी छनोट प्रक्रिया अघि बढाउन प्राविधिक कर्मचारीको अभाव रहेको बताएका हुन् ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले सातै प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तीव्रता दिनुपर्ने भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा भएको प्राविधिक र अनुभवी जनशक्तिको आवश्यकता हेरी परिचालन गर्ने बताए ।
राखेपमा रहेका प्रशिक्षकले नभ्याए प्रदेशले आ-आफनो तरिकाले राखेप बाहेकका प्रशिक्षकलाई ‘हायर’ गरी प्रतियोगिताको तयारी गर्न मन्त्री गहतराजले सातै प्रदेशलाई आग्रह गरे । उनले नवौँ खेलकुदको लागि पर्याप्त समय भएको बताउँदै प्रदेशका मन्त्रालयले समन्वय गरेर प्रतियोगिताको तयारी गर्नुपर्ने बताए । त्यस्तै प्रदेश-१ का सामाजिक विकास मन्त्री राजन राईले प्रदेश-१ मा जनशक्ति अभाव रहेको भन्दै युवा तथा खेलकुद मन्त्रालयले राखेपका प्राविधिक कर्मचारीलाई प्रदेशमा काजको रुपमा पठाएर सहयोग गरिदिन आग्रह गरे ।
वागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि नौ वटा खेलको छनोट प्रक्रिया सकिसकेको बताउँदै प्रदेशबाट ३६ खेलमा नै खेलाडीलाई सहभागी गराउने योजना रहेको जिकिर गरे ।
मधेश प्रदेशका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहले प्रदेश-१ मा जनशक्तिको अभावसँगै अनुभवको कमीका कारणले गर्दा पूर्णरुपमा प्रतियोगिताको तयारी गर्न नसकेको बताए । उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि रु एक करोड २५ लाख बजेट छुट्याएको भन्दै युवा तथा खेलकुद मन्त्रालयले खेलसम्बन्धी जानकार व्यक्तिलाई प्रदेशमा पठाइदिन आग्रह गरे ।
राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघको नियमानुसार सञ्चालन गरिने भन्दै खेलगत, खेलाडी र प्रशिक्षकको नाम दर्ता आगामी भदौ १५ गतेभित्र गरिसक्नुपर्ने बताउनुभयो । उहाँका अनुसार खेलगत खेलाडी प्रशिक्षक पोसाकको साइज पनि भदौ १५ गतेभित्र दर्ता गराइसक्नु पर्नेछ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने तालिका रहेको छ । उक्त प्रतियोगितामा विभिन्न ११ टोलीको सहभागिता रहनेछ भने ३६ खेल समावेश गरिने निर्णय भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया