माल्दिभ्सको फुटबल मैदानमा किरणले राखे कन्चनलाई प्रेम प्रस्ताव
काठमाडौँ - नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङले माल्दिभ्सको फुटबल मैदानमा आफ्नी प्रेमिकलाई प्रेम प्रस्ताव राखेका छन् । माल्दिभ्सको शीर्ष डिभिजन लिग धिवेही प्रिमियर लिगको उपाधि जितेसँगै किरणले प्रेमिका कन्चन निरौलालाई मैदानमै प्रेम प्रस्ताव राखेका हुन् ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा किरण आवद्ध माजिया स्पोर्ट्स एण्ड रिक्रिएसनले लिगको उपाधि जितेपछि उत्सव मनाउँदै गर्दा टिमका खेलाडी तथा पदाधिकारीमाझ नै किरणले कन्चनलाई प्रेम प्रस्ताव राखे ।
एयर होस्टेज रहेकी कन्चन र किरण पछिल्लो डेढ वर्षयता प्रेममा रहेको बताइन्छ । किरणले प्रेम प्रस्ताव राखेपछि कन्चनले पनि लजाउँदै प्रस्ताव स्विकार गरेकी थिइन् ।
सोमबार भएको फाइनलमा क्लब इगल्सलाई ५-० ले पराजित गर्दै माजिया लिग च्याम्पियन बनेको थियो । किरण लिगको उत्कृष्ट गोलरक्षक समेत घोषित भए ।
उपाधिपछि उत्सव मनाउने क्रममा किरणले प्रेमिकालाई हात समातेर मैदानमा बोलाएर घुँडा टेक्दै प्रेम प्रस्ताव राखेका थिए । किरणले कन्चनलाई औँठी लगाउँदै गर्दा कन्चन भने लजाइरहेकी थिइन् । तर कन्चनले किरणको प्रस्ताव स्विकारेपछि एकअर्कालाई अंगालो हालेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया