खेलकुद

राष्ट्रिय खेलकुदमा प्रदेशको भूमिका नभएकोमा लोकतान्त्रिक खेलकुद संघको आपत्ति

इकागज |
साउन २०, २०७९ शुक्रबार १७:२८ बजे

पोखरा । पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशका खेल विज्ञहरुलाई नसमेटेको प्रति नेपाली काँग्रेस भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघले आपत्ति जनाएको छ ।

दोस्रो संस्करणको राष्ट्रिय खेलकुद सम्पन्न भएको ३९ वर्षपछि गण्डकी, प्रदेशको राजधानी पोखरामा आयोजना हुने प्रतियोगिताको तयारी र त्यससँग सम्बन्धित समिति र उपसमितिहरुमा पूर्व खेलकर्मी र खेलसँग सम्बन्धित संघसंस्थालाई कुनै भूमिका नदिएको भन्दै संघले आपत्ति जनाएको हो ।


संघले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै गण्डकी प्रदेशमा आयोजना हुने खेलकुदको वृहत कार्यक्रममा राज्यले सम्बन्धित प्रदेशकै खेल विज्ञहरुलाई नसमेटेको संघका अध्यक्ष देवेन्द्र शेरचनको आरोप छ । नवौंको आयोजनाका लागि निर्माण गरिएको खेलस्थल सम्बन्धी उपसमितिमा मात्र गण्डकी प्रदेशको सरोकारवालाको प्रतिनिधित्व रहेको छ ।

पोखरामा हुने प्रतियोगितामा प्रदेशकै पूर्व खेलाडीहरुको अनुभवका आधारमा काम गर्नुपर्नेमा जोड दिंदै प्रदेशभरका पूर्व खेलाडी तथा खेल संघसंस्थालाई कुनै न कुनै भूमिका दिनुपर्ने शेरचनको भनाई थियो । संघले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनामा स्थानीय व्यवस्थापनको निम्ति प्रदेशका सरोकारवालाहरुलाई समेटेर ब्यवस्थापन गर्न माग गरेको छ । वृहत नवौं खेलकुद प्रतियोगिताको आयोजनाको समुखमा रहँदा समेत प्रदेश स्तरीय खेलाडी छनौट र तयारी नदेखिएकोले आवश्यक पूर्व तयारी अविलम्ब गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।

राष्ट्रिय खेलकुदको आयोजना दशै र तिहार जस्तो महान चाडसँग जुधाएर गरेकोमा सो समयलाई परिमार्जन गर्नुपर्ने, गण्डकी प्रदेशको भौगोलिक अवस्था अनुसार स्थान सुहाउँदो जिल्लाहरुमा खेलहरु विभाजन गरी आयोजना गरिनुपर्ने, अन्तराष्ट्रिय मापदण्ड अनुसार खेल मैदानको व्यवस्थापन गरिनुपर्ने, आर्थिक हिसाब पारदर्शी गरिनुपर्ने र खेलाडीको सुरक्षा र हकहितको सुनिश्चितता हुनुपर्ने माग गरिएको छ ।

संघले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता राष्ट्रको सम्मानसँग जोडिएको र प्रदेशको गौरवका विषय भएकाले प्रतियोगिता सम्पन्न गर्न प्रतिबद्ध भएर सहयोग गर्ने समेत जनाएको छ ।


Author

थप समाचार
x