खेलकुद

नवौं राष्ट्रिय खेलकुदको मिति परिवर्तन हुँदैन : सदस्य सचिव घिसिङ

इकागज |
साउन २३, २०७९ सोमबार १६:४७ बजे

पोखरा- राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद निर्धारित मितिमै हुने बताएका छन् । ३९ वर्षपछि पोखरामा हुने प्रतियोगिता आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म तोकिएको छ ।

नवौं खेलकुदको मिति धेरै पटक तोकिए पनि हुन नसकेको अवस्थामा अहिलेको मिति कुनै हालतमा नसर्ने उनको जिकिर थियो । पोखरा रंगशालामा सोमबार पत्रकार सम्मेलनमा सदस्य सचिव घिसिङले निर्वाचनको मिति तोकिएसँगै धेरैले फेरि मिति परिवर्तन हुने शंका गरेकाले मन्त्री परिषदबाट तोकिएको मिति अब नसर्ने बताएका हुन् ।


‘प्रतियोगिता २०७५ सालमा हुने भनिएको थियो, १० औं खेलकुद हुने बेलासम्म पनि नवौं खेलकुद भएको छैन । कोरोनाका कारण भनिएको छ । आरोप कसैलाई लगाउँदैन,’ उनले भने, ‘अब यो, या त्यो बहानामा नवौं सार्नु हुँदैन ।’

निर्वाचनले प्रतियोगितालाई प्रभाव नपार्ने गरी कार्यसूची निकाल्न निर्वाचन आयोगलाई राखेपबाट परिपत्र गरिएको घिसिङले बताए । ‘सरकारले मंसिर ४ गते निर्वाचनको मिति घोषणा गरेको छ, नोमिनेशन दर्ता कार्यक्रम १ महिना अगाडि जसो हुन्छ, निर्वाचनले नोमिनेशनका कार्यक्रम नवौं खेलकुदसँग नजुध्‍ने गरी मिति तोक्न परिपत्र गरेका छौं,’ उनले भने ।

राष्ट्रिय खेलकुदको तयारी थालिसकेकाले पनि कुनै शंका नगर्न उनको आग्रह थियो । कार्यकारिणी समिति, अनुगमन समितिसँगै १४ वटा उपसमिति गठन गरेर तयारी सुरु भईसकेको उनले जानकारी दिए ।


Author

थप समाचार
x