खेलकुद

संकटाले जित्यो आहा रारा गोल्डकप

इकागज |
चैत २८, २०७७ शनिबार १९:८ बजे

काठमाडौँ : अफ्रिकन रुट्सलाई टाई-ब्रेकरमा पराजित गर्दै संकटा क्लबले पोखरामा सम्पन्‍न १९औं संस्करणको आहा रारा गोल्डकपको उपाधि जितेको  छ । गोलकिपर राजा बाबु थापाको उत्कृष्ट प्रदर्शनबाट संकटले पेनाल्टी सुटआउटमा ४-२ को जित निकाल्दै उपाधि उचाल्न सफल भएको हो । 

टाई-ब्रेकरमा अफ्रिकन रुट्सका दुई खेलाडीले सदुपयोग गर्न नसक्दा संकटाका अमित तामाङ, सुवास गुरुङ, निरज बस्‍नेत र आयुष घलानले गोल गरे । सरोज दाहालको प्रहार अफ्रिकनका गोलकिपरले बचाए । अफ्रिकनका यानिक र रिमले गोल गरे । तर, कुइटेको प्रहार बाहिरिएको थियो भने एमबाकोपको प्रहार संकटाका गोलकिपर राजाबाबु थापाले बचाएका थिए ।


निर्धरित ९० मिनेट १-१ गोलको बराबरी सकिएपछि अतिरिक्त समयमा धकेलिएको खेलमा थप गोल हुन नसक्दा खेलको निर्णय टाई-ब्रेकरबाट लिइएको हो । निर्धारित ९० मिनेटको खेलमा भने भ्रमणकारी अफ्रिकन रुट्सले अग्रता लिएको थियो । ११ औं मिनेटमा मौसाको पासमा बासिकले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । 

त्यसपछि दबाबमा रहेको संकटा खेलमा फर्किन निकै संघर्ष गर्‍यो । तर पहिलो हाफमा सफल हुन सकेन । पहिलो हाफमा पछि परेको संकटले दोस्रो हाफमा भने सम्हालिएको परिपक्क खेल देखाउन सफल भयो । ५२ औं मिनेटमा ग्लोरिले गोल गर्दै खेल बराबरी अवस्थामा ल्याएका थिए । 

त्यसपछि दुवै टोली स्पष्ट जितका लागि आक्रामक खेल खेले पनि सफल हुन नसक्दा निर्धारित समय १/१ गोलको बराबरीमा सकियो । अतिरिक्त समयमा पनि दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल टाई-ब्रेकरमा लगिएको थियो । टाई-ब्रेकरमा संकटा भाग्यमानी रहँदै पहिलो पटक आहा रारा गोल्डकपको उपाधि उचाल्न सफल भयो ।

जितसँगै संकटले नगद नगद १० लाख १ हजार रुपैँया हात पारेको छ । उपविजेता अफ्रिकनले नगद ५ लाख १ हजारमा चित्त बुझायो ।

आठ क्लबको सहभागिता रहेको प्रतियोगितामा उपाधि उचालेको टोली संकटाका उत्कृष्ट खेलाडी गोलकिपर राजा बाबु थापा घोषित हुँदा संकटाकै निरज बस्‍नेत उत्कृष्ट डिफेन्डर भए । 

यस्तै अफ्रिकन रुट्सका राफायल रिम उत्कृष्ट मिडफिल्डर हुँदा अफ्रिकन रुट्सकै बासिकले उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकको उपाधि पनि अफ्रिकन रुट्सका सेर्गी बोरिसले  हात पारे । उनीहरूले जनही २५ हजार रुपैयाँ हात पारे । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी राजा बाबु थापा चुनिँदै एक थान स्कुटर प्राप्त गरे ।  


Author

थप समाचार
x