खेलकुद

चेल्सीलाई फेरि पनि आवश्यकता स्ट्राइकर कै

इकागज |
चैत ३०, २०७७ सोमबार ६:२८ बजे

काठमाडौँ : थोमस टुचेल जनवरीको अन्तिम साता चेल्सीको प्रशिक्षक बने । त्यसयता चेल्सी इंग्लिस प्रिमियर लिगका पछिल्ला १२ खेलमध्ये एकमा मात्रै पराजित भएको छ । च्याम्पियन्स लिगको सेमिफाइनल नजिक पुगेको छ । अनि एफए कपको उपाधि होडमा छ ।
 
जर्मनीका टुचेलले इंग्लिस क्लबमा सुरुवात बलियो गरेका छन् भन्न मिल्छ । तर एउटा समस्या भने अझैँ समाधान भएको छैन । जुन समस्या, स्ट्राइकरसँग सम्बन्धित छ ।  चेल्सीमा राम्रा मान्‍न सकिने केही स्ट्राइकर छन् । त्यो पनि फरक-फरक शैलीमा खेल्न सक्ने । तर टुचेल कसको भर पर्ने भन्‍नेमा अन्यौलमा छन् ।  अन्यौलताकै कारण टुचेलले मुख्य स्ट्राइकर छनौट गर्न सकेका छैनन् ।

टुचेलले यस सिजन चार खेलाडीलाई स्ट्राइकरका रूपमा प्रयोग गरेका छन् । टिमो वेरनर, काई हार्बट्स, ओलिभर जिरड र ट्यामी अब्रहामले चेल्सीको अग्रपंक्ति सम्हालेका छन् । तर उनी चेल्सीको प्रशिक्षक बनेर आएपछि उल्लेखित खेलाडीहरूले जम्मा तीन लिग गोल मात्रै गर्न सकेका छन् ।
 
टुचेलले लिगमा वेरनरलाई सबैभन्दा धेरै समय स्ट्राइकर बनाएर खेलाएका छन् । जर्मनीका वेरनरले ७३६ मिनेट खेलेका छन् । अनि सबैभन्दा कम समय पाउने स्ट्राइकर चाँहि अब्रहाम हुन् । उनले १२३ मिनेट मात्रै मैदानमा बिताएका छन् । टुचेलले लिगमा कम समय दिएपनि अब्रहाम चेल्सीका उच्च गोलकर्ता हुन् । २३ वर्षीय इंग्लिस स्ट्राइकर अब्रहामले यस सिजन १२ गोल गरेका छन् ।
 
यद्यपि टुचेलले खेलाडीहरूको मुल्यांकन जनवरी २७ यता गरेको प्रदर्शनबाट मात्रै गर्ने बताएका छन् । ‘म चेल्सीको प्रशिक्षक बनेपछि खेलाडीहरूले कस्तो प्रदर्शन गरेका छन् भनेर मुल्यांकन गरिरहेको छु । त्यसकारण मेरा लागि ट्यामी (अब्रहाम) उच्च गोलकर्ता होइनन् । हो, समग्र सिजनको कुरा गर्ने हो भने उनी उच्च गोलकर्ता हुन् । तर मेरा लागि म चेल्सीमा आइसकेपछि उनले कति गोल गरे भन्‍ने विषय महत्वपूर्ण हो,’ टुचेलले भने ।
 
टुचेलले पछिल्लो समय हार्बट्सलाई ‘फल्स नाइन’ को रूपमा प्रयोग गरिरहेका छन् । क्रिस्टल प्यालेससँगको खेलमा पनि हार्बट्स सोही भूमिकामा देखिए । र, एक गोल पनि गरे । हार्बट्सले टुचेल नेतृत्वको चेल्सीमा अर्का स्ट्राइकर जिरुडले भन्दा बढी समय मैदानमा बिताएका छन् । हार्बटसलाई टुचेलले एभरटनसँगको खेलबाट ‘फल्स नाइन’ का रूपमा प्रयोग गर्न सुरु गरेका हुन् ।


नयाँ स्ट्राइकरको खोजी सुरु गरेको चेल्सीले कुनै समय आफ्नै टिममा रहेका रोमेलु लुकाकुसँगै एर्लिङ हालान्डमाथि नजर लगाएको छ । चेल्सी प्रशिक्षक टुचेलले टिममा ‘स्कोरिङ’ को समस्या रहेको भन्दै नयाँ स्ट्राइकर भित्र्याउने संकेत दिएका छन् । 

त्यसपछिका खेलमा पनि हार्बटसले नै चेल्सीको अग्रपंक्ति सम्हालिरहेका छन् । टुचेल हार्बट्सलाई नै आफ्नो मुख्य ‘एट्याकर’ का रूपमा निन्तरता दिने मुडमा छन् । 

उसो त चेल्सीले नयाँ स्ट्राइकरको खोजी सुरु गरिसककेको बताइएको छ । कुनै समय आफ्नै टिममा रहेका रोमेलु लुकाकुसँगै एर्लिङ हालान्डमाथि चेल्सीको नजर छ । टुचेल आफैँले पनि टिममा ‘स्कोरिङ’ को समस्या रहेको बताइसकेका छन् । जसको संकेत हो, चेल्सी प्रशिक्षक नयाँ स्ट्राइकर भित्र्याउन चाहन्छन् । ‘आउँदो सरुवा बजारमा नयाँ स्ट्राइकर खोज्‍न सकिन्छ । त्यस बारेमा हामी योजना बनाइरहेका छौँ,’ टुचेलले भनेका छन् ।
 
यदि चेल्सीले नयाँ स्ट्राइकर खरिद गरेमा अब्रहामका भविष्य अन्यौलमा पर्नेछ । त्यसै पनि उनले चेल्सीमा अपेक्षाकृत मौका नपाइरहेको गुनासो गरिरहेका छन् । फ्रान्क लाम्पार्ड हुँदा भने अब्रहाम चेल्सीका प्रमुख स्ट्राइकर थिए । लाम्पार्ड नेतृत्वको चेल्सीमा अब्रहामले यस सिजन १६ लिग खेलमा मौका पाए । जसमा उनले छ गोल गरे । उता वेरनरले भने १९ खेलमा चार गोल गरेका थिए । जिरुड र हार्बट्सले क्रमशः तीन र एक गोल गरे ।
 
टुचेल आफ्ना स्ट्राइकरबाट गोलको मात्रै अपेक्षा गर्दैनन् । मैदानमा कत्तिको मेहेनत गरिरहेका छन् भनेर विश्लेषण पनि गर्छन् । जस्तै, सहकर्मीका लागि पास मिलाउने देखि विपक्षीबाट बल खोस्ने कार्यसम्म ।
  
चेल्सीका फरवार्डहरूसँग टुचेललाई प्रभावित पार्न केही महत्वपूर्ण खेलहरू बाँकी नै छन् । घरेलु लिग बाहेक च्याम्पियन्स लिग र एफए कपमा उनीहरूले राम्रो खेल देखाए टुचेलले नयाँ स्ट्राइकरको खोजलाई रोक्न सक्छन् । सिजन उत्तरार्धमा पुग्दै गर्दा चेल्सी कठिन परीक्षाबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा टुचेलले टिममा रहेका फरवार्डहरूबाट पर्याप्त गोल निकाल्न सके, उनको पहिलो सिजन सकारात्मक तवरमा अन्त्य हुने सम्भावना रहन्छ । त्यसबाहेक, सरुवा बजारमा चेल्सीको प्राथमिकता पनि परिवर्तन हुनेछ । 
(बेलायती अखबार दी टेलिग्राफको सहयोगमा )


Author

थप समाचार
x