खेलकुद

नवौं राष्ट्रिय खेलकुद : तनहुँमा भदौ ९ गतेदेखि खेलाडी छनौट

इकागज |
भदौ ७, २०७९ मंगलबार ६:३२ बजे

दमौली - गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्ला खेलकुद विकास समितिले यही भदौ ९ गतेदेखि जिल्लास्तरीय खेलाडी छनौट गर्ने भएको छ । 

जिल्लाका विभिन्न ठाउँमा खेल सञ्चालन गरी सो प्रतियोगिताका लागि खेलाडी छनौट गरिने समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए । राष्ट्रिय खेलकुद परिषद्बाट तोकिएका ३६ खेलमध्ये १४ खेलको विशेष प्रशिक्षण र २२ खेलको प्रतियोगिता नै सञ्चालन गरी खेलाडी छनौट गरिने उनले बताए । 


भदौ ९ गते उसुको घिरिङमा, भदौ ९ गते बक्सिङको खैरेनीटारमा र भदौ ९ गते नै क्रिकेटको निर्मल माविमा खेल सञ्चालन गरिने जनाइएको छ । त्यस्तै भदौ १० गते फुटबल, भलिबल , व्याडमिन्टन, एथलेटिक्स,कबड्डीको  दमौली र तेक्वान्दोको खैरेनीटारमा खेल सञ्चालन गरिनेछ । 

भदौ ११ गते भलिबल, बास्केटबल, टेवलटेनिस, बुद्धिचाल, र कराँतेको दमौलीमा, आइटिएम तेक्वान्दोको भिमाद र फुल कन्ट्याक्ट कराँतको शुक्लागण्डकीमा खेल सञ्चालन हुने कार्यतालिका सार्वजानिक गरिएको छ । 

करिब चार दशकपछि गण्डकी प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्ने अवसर प्राप्त गरेको छ । विसं २०४० मा दोस्रो संस्करणको आयोजनापछि पोखरालाई नवौं संस्करण आयोजनाको मौका मिलेको हो । 

राष्ट्रिय खेलकुदमा दुई प्रदर्शनसहित ३८ खेल सञ्चालन हुनेछन् । अधिकांश खेल पोखरामा र केही खेल पोखरा बाहिर गर्ने तयारी छ । प्रदेशका ११ वटै जिल्लामा कम्तिमा एक खेल सञ्चालन गर्ने योजना बनाइएको छ ।

तनहुँमा बास्केटबल खेलाउने सम्भावना

प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशका प्रत्येक जिल्लामा कम्तिमा एउटा खेल खेलाउने तयारी गरिएको छ । यसका लागि तनहुँमा बास्केटबलको सम्भावना छ । व्यास नगरपालिका–१ स्थित निर्मल माध्यमिक विद्यालयमा खेलकुद परिषद्कै सहयोगमा मापदण्ड अनुसारको बास्केटबल कोर्ट निर्माण गरिएकोे अध्यक्ष पाण्डेले बताए । 

प्रतियोगिता अन्तर्गत गठित खेल व्यवस्थापन उपसमितिलाई पनि सोही सुझाव दिइएको जनाइएको छ । गण्डकी प्रदेशमा हुन लागेको नवौ खेलकुद प्रतियोगिता सफल पार्नु सबै प्रदेशवासीको जिम्मेवारी भएको जनाउँदै तनहुँ पनि उक्त जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको अध्यक्ष पाण्डेले बताए । रासस
 


Author

थप समाचार
x