मकवानपुरमा भोलिदेखि रग्बी खेल हुँदै
मकवानपुर- मकवानपुर जिल्लामा पहिलो पटक रग्बी खेल हुँदैछ । भोलिबाट मकवानपुरको हेटौंडा ५ क्याम्पा रङ्गशालामा खेल हुनेछ ।
आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै मकवानपुर रग्बी संघले यसबारे जानकारी गराएको हो । खेलमा मकवानपुर रग्बी संघ र चितवन रग्बी संघका रग्बी टिमले मैत्रीपूर्ण खेल खेल्नेछन् । महिला रग्बी टिम र पुरुष रग्बी दुबै टिमले मैत्रीपूर्ण खेल खेल्नेछन् ।
पत्रकार सम्मेलनमा मकवानपुर रग्बी संघका अध्यक्ष लिला कुमार घलानले नवौं राष्ट्रिय खेलकुदका लागि छनौट अगाडी मैत्रीपूर्ण खेल हुन लागेको बताए । खेलले दुई जिल्लाका खेलाडीबीच सम्बन्ध र मैत्रीभाव प्रकट हुने उनले बताए । अहिले मकवानपुरमा रग्बी नयाँ खेल जस्तै भएकाले कुनै संघसंस्थाले यस खेललाई चासो नदिएकोमा उनले गुनासो गरे । चासो कम भएकै कारण आर्थिक जोहो गर्न नसक्दा खेलाडीहरुसँग समेत रकम संकलन गरेको उनले बताए ।
मकवानपुर जिल्ला खेलकुद विकास समितिका निमित्त कार्यालय प्रमुख माधव कोइरालाले जिल्ला खेलकुद विकास समितिले रग्बी खेलको विकासमा आवश्यक सहयोग गरिने बताए ।
रग्बी संघ मकवानपुरका प्रशिक्षक विक्रम भारतीले अहिले मकवानपुरका रग्बी खेलाडीहरुले नियमित प्रशिक्षण गर्दै आएको बताए । रग्बी अन्य खेलको तुलनामा जिल्लामा नयाँ भएका कारण खेलाडीले थोरै मिहिनेत गरेमा राम्रो स्थान पाउन सक्ने उनले बताए ।
शनिबार हुने मैत्रीपूर्ण खेलमा मकवानपुर रग्बी टिमको पुरुषतर्फको कप्तानी विकल भोलन र महिलातर्फको टिमको ज्योती बोम्जनले कप्तानी गर्नेछन् । यस्तै चितवनको रग्बी टिमको पुरुषतर्फ यदु अधिकारी र महिलातर्फको टिमको पुस्तिका वाग्लेले कप्तानी गर्नेछिन् ।
यसअघि मकवानपुर रग्बी टिमले अन्य जिल्लाहरुमा आयोजना भएको प्रतियोगिताहरूमा भने सहभागिता जनाउँदै आएको थियो । मकवानपुरका पुरुष रग्बी टिमले गत वैशाखमा चितवनमा भएको प्रतियोगितामा द्वितीय हुन सफल भएको थियो । यस्तै महिला रग्बी टिमले गत वर्ष काठमाडौंमा आयोजना भएको प्रतियोगितामा प्रथम हुँदै उपाधि जितेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया