खेलकुद

गण्डकीले आर्मीलाई दुई वर्षपछि हरायो

धनबहादुर गुरुङ |
भदौ १३, २०७९ सोमबार १७:३४ बजे

पोखरा- नेपालमा हुने पुरुष भलिबल प्रतियोगितामा विभागीय टिमको बर्चस्व छ । त्यसमा पनि धेरै जसो विजेता टिमको नाम हुने गर्छ, नेपाल आर्मी ।

खेलमा विभागीय टिमलाई पाखा लगाउन अरु टोलीलाई लागि हम्मेहम्मे पर्छ । पछिल्लो समय टिपटप हेल्प नेपालले विदेशी खेलाडीको भरले आर्मीलाई गाह्रो पार्ने गरेको छ । त्यो बाहेक गण्डकी भलिबल टिमले पनि टाउको दुखाउँछ ।


२०७७ सालमा पोखरामा भएको प्रथम टाइगर कपको फाइनलमा गण्डकीले आर्मीलाई पराजित गरेर च्याम्पियन बन्यो । त्यसपछि धेरैले अब गण्डकीले आर्मीलाई कही नछोड्ने भयो भनेर अड्कलबाजी गर्न थाले । तर भने जस्तो भएन गण्डकीको खेल ।

टाइगर कपमा हारेको आर्मीले त्यही वर्ष भएको एनभिए कप जितेर देखायो । गण्डकीले गतिलो प्रदर्शन गर्न सकेन । त्यसपछि भएको दोस्रो संस्करणको टाइगर कपमा पनि गण्डकीले अघिल्लो वर्षको शाख जोगाउन सकेन । त्यसलगत्तै भएको एनभिए कपमा पनि गण्डकी झनै खस्कियो । आर्मीलाई हराउने क्षमता राखेको गण्डकीको खस्कँदो स्थिती चल्यो ।

तर, गण्डकीले यस पटक फेरि आफूलाई अब्बल साबित गर्न सफल भएको छ । पोखरामा जारी लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा एक पटक फेरि आर्मीमाथि गण्डकी हाबी भएको छ । पोखरा १६ लामाचौरमा जारी प्रतियोगिताको छनोट चरणको खेलमा गण्डकीले आर्मीलाई रोमाञ्चक तरिकाले पाँचौ सेटमा १७–१५ को सेटमा पराजित गरेको हो । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा भएको प्रतियोगितामा समूह ‘ए’ मा रहेको गण्डकी विजेता र आर्मी उपविजेता बन्दै सेमिफाइनल पुगेको छ ।

आर्मीलाई जित्न गण्डकीलाई हम्मेहम्मे परेको थियो । बारम्बार स्थगित खेलमा सोमबार गण्डकी सफल बनेको हो । प्रतियोगितामा गण्डकीले आर्मीलाई जित्न ३ दिन पर्खनु पर्‍यो । वर्षा र खराब प्रकाशका कारण २ दिनसम्म १ सेट खेलेर स्थगित भएको थियो । प्रतियोगिताको पहिलो दिन शनिबार आर्मीले पहिलो सेट ३१–२९ ले जितेपछि खराब प्रकाशका कारण खेल स्थगित भएको थियो । त्यसपछि आइतबार पुनः खेलाइएको गण्डकीले आर्मीमाथि २५–१९ को सेटमा जित निकालेको थियो । त्यस खेल पनि खराब मौसमका कारण स्थगित भएको थियो । सोमबार भने वर्षा नभएकाले पूरा खेल खेलाइएको हो ।

सोमबार भएको खेलको पहिलो सेट गण्डकीले १९–२५ ले गुमाएको थियो । दोस्रो सेट २५–१५ ले सहजै आफ्नो पक्षमा पारेपछि गण्डकी खेलमा फर्किने संकेत दिएको थियो । तेस्रो सेट २०–२५ ले गुमाएको गण्डकीले त्यसपछिको दुवै सेटमा २५–२३ र १७–१५ ले जित निकाल्न सफल भयो । यसरी २ वर्षपछि गण्डकीले पुरुष भलिबलको कडा टिम आर्मीलाई २ वर्षपछि होम ग्राउण्डमा हराउन सफल भएको हो ।

जितपछि गण्डकीका प्रशिक्षक रमेश केसी निकै खुसी थिए । खेलाडीहरुले होम ग्राउण्डमा खुलेर खेलेका कारण जित सुनिश्चित भएको उनले जानकारी दिए । पहिले सरकारी क्षेत्रबाट भलिबल खेल र खेलाडीलाई वास्ता नगरेका कारण सोचेजस्तो नतिजा ल्याउन नसकेको उनको भनाई थियो । पछिल्लो समयमा नवौं राष्ट्रिय खेलकुद नजिकिदै जादा प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले पनि ध्यान दिन थालेको उनको प्रतिक्रिया थियो ।

‘अहिले हामीलाई प्रदेश भलिबल संघले आफ्नै खर्चमा ट्रेनिङको व्यवस्था मिलाएको थियो पछि युवा तथा खेलकुद मन्त्रालयले पनि साथ दियो,’ उनले भने, ‘प्रदेश भलिबल र युवा तथा खेलकुद मन्त्रालयको साथले तयारी राम्रो गर्न सकेका कारण सफल भएका हौं अनि सबैभन्दा त खेलाडीहरुले पनि खुलेर खेलिदिनुभयो ।’

सेमिफाइनलमा भेट हुने टिम एपिएफ राम्रो टिम भएपनि पराजित गर्दै फाइनल जितेर फेरि एक पटक गण्डकीलाई प्रमाणित गर्ने राम्रो अवसर भएको उनले बताए । 
गण्डकी भलिबलका टिम कप्तान हरि पाण्डे लामो समयपछि बलियो टिम आर्मीलाई पराजित गर्नुमा टिमका सबैको योगदान रहेको बताउँछन् । उनी पनि खेल संघसँगै प्रदेशको खेलकुद मन्त्रालयले साथ र सहयोग दिएका कारण गतिलो प्रशिक्षण गरेकाले जित संभव भएको सुनाउँछन् । प्रतियोगिता जितेर गण्डकीले नवौंका लागि तयारी गर्ने उनको भनाई थियो । सरकारले प्रतियोगिताहरु हुँदा मात्र नभएर खेल र खेलाडीहरुको भविष्य सुनिश्चित हुने खालको राष्ट्रिय योजना बनाएर अघि बढ्नुपर्ने उनको सुझाव छ ।

प्रतियोगिता अन्तर्गत सेमिफाइनलमा गण्डकीले एपिएफसँग र आर्मीले पुलिससँग खेल्नेछ । पुरुषतर्फ नै पुलिस र एपिएफ सेमिफाइनलमा प्रवेश गरिसकेको छ । यस्तै महिला टिमको छनोट चरणका खेलहरु भइरहेका छन् ।

दुवै विधातर्फको विजेताले समान १ लाख ५० हजार १ सय ११, उपविजेताले १ लाख १ सय ११ र तेस्रो हुनेले ५० हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीसहित विधागत रुपमा उत्कृष्टले पनि पुरस्कार प्राप्त गर्नेछ ।

प्रतियोगितामा महिलातर्फ नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र गण्डकी प्रदेशको टिमले भाग लिएका छन् । एपिएफ अन्तिम समयमा सहभागी भएन् । पुरुषतर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लबसहित बुटवलको मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको टिम गरी ५ टिमको सहभागिता छ ।


Author

थप समाचार
x