खेलकुद

एएफसी कप छनौटः आर्मीका लागि आफ्नो स्तर जाँच्‍ने मौका

इकागज |
बैशाख १, २०७८ बुधबार १६:१५ बजे

काठमाडौँ: एएफसी कप २०२१ को प्रारम्भिक छनौटको दोस्रो चरणमा त्रिभुवन आर्मी क्लबले बुधबार साँझ भारतीय विपक्षी बेंगलुरु एफसीको सामना गर्दैछ । गोवास्थित जीएमसी बाम्बोलिन रंगशालामा हुने खेलमा विजय हुने टिमले प्ले-अफमा स्थान पक्का गर्नेछ ।  

आर्मी र बेंगलुरुबीचको विजेताले प्ले-अफमा बंगलादेशको अबहानी लिमिटेड वा माल्दिभ्सको इगल्सको सामना गर्नेछ । प्ले-अफमा जित दर्ता गर्ने टिम एएफसी कपको समूह चरणमा पुग्‍नेछ । जहाँ उसले ग्रुप डीमा भारतकै एटीके मोहन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजियाको सामना गर्नेछ । 


आर्मी गत वर्षको शहिद स्मारक ए डिभिजन लिगमा दोस्रो भएको टिम हो । ए डिभिजन च्याम्पियन मछिन्द्र क्लबसँग एएफसी क्लब ए लाइसेन्स नभएपछि एएफसी कपको छनौट खेल्ने मौका विभागीय टिम आर्मीले पाएको हो । उता बेंगलुरु भने इन्डियन सुपर लिग (आइएसएल) २०१९/२० सिजनमा तेस्रो भएको हैसियतले एएफसी कप छनौट चरण खेल्न पाएको हो । 

भारतीय घरेलु फुटबलमा पहिलो श्रेणीको लिग मानिने आइएसलमा च्याम्पियन बन्‍ने टिमले सिधैँ एएफसी च्याम्पियन्स लिग खेल्न पाउँछन् । त्यस्तै दोस्रो श्रेणीको आइ-लिग जित्‍ने क्लब एएफसी कपको समूह चरणका लागि छनौट हुन्छ । गत सिजन आइ-लिग जित्‍ने मोहन बगान र आइएसएल प्ले-अफको उप-विजेता एथलेटिको डे कोलकाता मर्ज भएपछि आइएसएल लिग चरणमा तेस्रो हुने बेंगलुरुले एएफसी कपको छनौट चरणमा भाग लिने मौका पाएका हो । 

प्रारम्भिक छनौटको पहिलो चरणमा आर्मीले दशरथ रंगशालामा श्रीलंकन क्लब श्रीलंका पुलिसलाई ५-१ ले हराएको थियो । दोस्रो चरण खेल्न गोवा पुगेको आर्मीका लागि भारतीय विपक्षीसँगको खेल कठिन परीक्षा हुनेछ । आर्मीका प्रशिक्षक नविन न्यौपाने बेंगलुरुविरुद्धको खेलमा आफ्नो स्तर पत्ता लाग्‍ने बताउँछन् । ‘बेंगलुरु पक्कै पनि बलियो टिम हो । हामी यस खेलका लागि उत्साहित छौँ । बेंगलुरु जस्तो बलियो टिमसँग खेल्दा नै हामीले आफ्नो स्तर जाँच्‍ने मौका पाउने हो,’ प्रशिक्षक न्यौपानले भने । 

सन् २०१६ को एएफसी कपमा उप-विजेता बनेको बेगंलुरु गत वर्ष भने समूह चरण पुग्‍न सकेन । मार्चमा सम्पन्‍न आइएसएलमा खासै राम्रो प्रदर्शन गर्न नसकेको बेंगलुरुले हालै नयाँ प्रशिक्षकमा मार्को पेज्जाइओलीलाई नियुक्त गरेको गरेको छ । जसले आर्मी क्लबसँगको खेलबाट भारतीय लिगमा आफ्नो करियर सुरु गर्दैछन् । 

यसअघि जर्मन क्लब फ्रान्कफर्टको युवा टोली सम्हालेका ५२ वर्षिय पेज्जाइओलीले आर्मीलाई काउन्टर अट्याक गर्न नदिने रणनीति बनाउने बताएका छन् । ‘आर्मीसँग तिब्र गतिमा खेल्न सक्ने खेलाडीहरू छन् । उनीहरूको उदेश्य काउन्टर अट्याक गर्दै हाम्रो रक्षापंक्ति तोड्ने हुनेछ । तर हामी उनीहरूलाई त्यसो गर्न नदिन सचेत छौँ,’  पेज्जाइओलीले मंगलबार साँझ भारतीय सञ्‍चार माध्यमसँग कुरा गर्दै भनेका छन् । नेपाली टिम बलियो भएको तर उसलाई पराजित गर्न पनि आफूहरू सक्षम रहेको उनको भनाइ थियो । 

बेंगलुरुका कप्तान सुनिल क्षेत्री आर्मीले श्रीलंका पुलिसविरुद्ध उत्कृष्ट खेल्दै आफूलाई बलियो सिद्द गरेको बताए । ‘आर्मीका खेलाडी मेहेनती छन् । उनीहरू एकताबद्ध भएर खेल्न सक्छन् । त्यसकारण आर्मीलाई पराजित गर्न सजिलो छैन,’ कप्तान क्षेत्रीले भने ।  

उता आर्मी प्रशिक्षक न्यौपाने भने आफ्नो टिमको रणनीति काउण्टर अट्याक नै हुने बताउँछन् । ‘हामी रक्षापंक्तिमा सुदृढ रहने प्रयास गर्नेछौँ । बेंगलुरु जस्तो बलियो टिमसँग खेल्दा हामीले धेरै मौका पाउने छैनौँ । त्यसकारण काउण्टरमा गोल गर्न प्रयास गर्ने नै हाम्रो योजना हो,’ न्यौपानेको भनाइ थियो । न्यौपानेका अनुसार बलियो बेंगलुरुलाई रोक्न आर्मीले ४-१-४-१ को संरचनामा मैदानमा उत्रने बताए । 

बेंगलुरुले आर्मीविरुद्धको खेलका लागि चार विदेशी सहित २९ सदस्य टोलीको घोषणा गरिसकेको छ । गाबोनका रक्षक योरोन्डु मुसाभु किङ, स्पेनी रक्षक जुआन गोन्जेलज, अस्ट्रेलियाका डिफेन्सिभ मिडफिलडर एरिक पार्तालु र ब्राजिलियन फरवार्ड क्लेइटन सिल्भा बेंगलुरुका विदेशी खेलाडी हुन् । त्यस्तै, भारतीय कप्तान सुनिल क्षेत्री, उडान्त सिंह, गोलरक्षक गुरपित सिंह जस्ता अनुभवी घरेलु खेलाडीहरूले बेंगलुरु सुसज्जित छ ।  


Author

थप समाचार
x