खेलकुद

लिभरपुलका खेलाडीलाई क्लपको चुनौती, 'च्याम्पियन्स लिगमा फर्कन मन भए त्यही अनुसारको खेल देखाउ'

इकागज |
बैशाख २, २०७८ बिहिवार १४:३४ बजे

काठमाडौँ: यस सिजनका लागि लिभरपुलको च्याम्पियन्स लिग यात्रा सकिएको छ । यससँगै लिभरपुलसँग अब एउटै उपाय मात्र बाँकी छ । इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा रहने । र, अर्को सिजन च्याम्पियन्स लिगमा फर्कने । बुधबार राती रियल म्याड्रिडसँग गोलरहित बराबरी खेलेपछि लिभरपुल समग्रमा ३-१ ले पछि रह्यो । च्याम्पियन्स लिगबाट बाहिरिएपछि लिभरपुलका प्रशिक्षक योर्गन क्लपले आफ्ना खेलाडीलाई चुनौती दिएका छन् । घरेलु लिगमा शीर्ष चारमा पर्दै च्याम्पियन्स लिगका लागि छनौट हुने । 

शीर्ष चारमा पर्न लिभरपुललाई सजिलो भने छैन । जुन क्लपले पनि बुझेका छन् । ‘हामीलाई आफ्नो अवस्था बारेमा थाहा छ । हामीले धेरै मेहेनत गर्नुपर्ने अवस्था छ । हामी बाँकी खेलमा ध्यान दिनेछौँ । अबको खेल लिड्स युनाइटेडसँग छ । जुन अवशय पनि सजिलो हुनेछैन । तर हामीलाई आवश्यक पर्ने नतिजाका लागि लड्नु नै छ,’ रियलसँगको खेलपछि क्लपले भने । 


के क्लप लिभरपुल शीर्ष चारमा पर्छ भन्नेमा विश्वस्त छन् ? ‘म सधैँ आत्मविश्वासी रहने ब्यक्ति हो । तर आत्मविश्वासले सफलताको ग्यारेन्टी गर्दैन । मलाई आफ्नो टिम कुन लयबाट गुज्रिरहेको छ भन्ने बारेमा ज्ञान छ । मैले अंक तालिका हेरेको छु । यदि हामीलाई च्याम्पियन्स लिगमा फर्कन मन छ भने त्यही अनुसारको खेल देखाउन जरुरी छ,’ क्लपको भनाइ थियो । 

लिभरपुलले प्रिमियर लिगमा एस्टन भिल्ला र आर्सनलविरुद्ध बलियो खेल देखाएको पनि क्लपको भनाइ थियो । ‘तर हामीले रियलसँगको पहिलो लेगमा राम्रो खेल्न सकेनौँ । दोस्रो लेगमा हाम्रो प्रदर्शन नराम्रो थिएन । हामीले सबै खेल खराब खेलेका छैनौँ । हामीले अब अधिकतम अंक बटुल्न आवश्यक छ,’ क्लपले भने । 

प्रिमियर लिगमा यस सिजन लिभरपुलले नौ खेलमा हार व्यहोरेको छ । अंक तालिकामा छैठौँ स्थानमा रहेको लिभरपुल चौथौँ स्थानको वेस्टह्याम भन्दा तीन अंकले पछाडि छ ।  प्रिमियर लिगमा लिभरपुलले अब सात खेल खेल्न बाँकी छन् । च्याम्पियन्स लिगबाट बाहिरिएपछि लिभरपुलको ध्यान ती खेलबाट अधिकतम अंक बटुल्नमै हुनेछ । 


Author

थप समाचार
x