खेलकुद

च्याम्पियन्स लिग सेमिफाइनल पुगे पनि जिदान संयमित

इकागज |
बैशाख २, २०७८ बिहिवार १५:१ बजे

काठमाडौँ: लिभरपुलको चुनौती पन्छाउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको छ । उता स्पेनी ला लिगामा रियल शीर्ष स्थानको एथलेटिको म्याड्रिड भन्दा एक अंकले मात्रै पछि छ । युरोप र घरेलु लिग दुवैतिर उपाधि होडमा रहे पनि प्रशिक्षक जिनेदिन जिदान भने संयमित देखिन्छन् । 

सिजनको सुरुवातमा रियलले सोचेअनुरुपको खेल देखाउन नसक्दा जिदानको व्यापक आलोचना भयो । तर पछिल्ला महिनाहरूमा रियलले अधिकतम खेल जितेपछि जिदानका आलोचकहरू मत्थर बनेका छन् ।  


ला लिगामा केही कठिन खेलहरु बाँकी नै रहेको र च्यामिपयन्स लिगको सेमिफाइनलमा चेल्सीको सामना गर्नुपर्ने भएकाले जिदान संयमित देखिएका हुन् । ‘म अहिले नै केही प्रतिक्रिया दिन चाहन्‍न । हामी ला लिगा र च्याम्पियन्स लिग उपाधि होडमा छौँ । तर ती प्रतियोगिता जित्छौँ नै भन्‍ने केही ग्यारेन्टी छैन । हामीले अन्तिम खेलसम्म मेहेनत गर्न जरुरी छ,’ जिदानले लिभरपुलसँगको खेलपछि भने ।

प्रशिक्षकका रूपमा ११ उपाधि जितिसकेका जिदानले अहिलेको रियल म्याड्रिड दोस्रो स्थानमा खुशी हुने टिम नभएको पनि बताए । ‘हामी सबै प्रतियोगिता जित्‍नैका लागि खेल्छौँ । हामी सबैजना एकबद्ध छौँ । हाम्रो टिम प्रतिभाशाली छ । त्यसकारण जतिसुकै कठिन अवस्थासँग लड्न पनि हामी तयार छौँ,’ जिदानको भनाइ थियो । 

ला लिगामा रियलले आउँदो आइतबार गेटाफेको चुनौती सामना गर्नेछ । त्यसपछि पनि रियलले अरु दुई खेल ला लिगामै खेल्नेछ । अप्रिल २८ मा भने रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा चेल्सीसँग भिड्नेछ ।  


Author

थप समाचार
x