विश्वका चर्चित खेलाडी : जो बलात्कार आरोपमा दोषी ठहरिए
काठमाडौँ- विश्वका कैयौँ चर्चित खेलाडीहरूले बलात्कार तथा नाबालिकसँग यौन सम्पर्क गरेका कारण दोषी ठहर हुँदै सजाय भोगेका छन् । अहिले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेमाथि पनि बलात्कारको आरोपमा जाहेरी परेको छ । सन्दीपमाथि लागेको आरोपको छानविन तथा अनुसन्धान जारी रहेको छ ।
यस्ता कैयौँ घटना छन् जहाँ खेलाडीहरू बलात्कार आरोपमा दोषी पाइएका छन् र कडा भन्दा कडा सजायको भागिदार बनेका छन् ।
ब्राजिलियन फुटबलर रोबिन्हो- सामूहिक बलात्कार
ब्राजिलका पूर्व फरवार्ड रोबिन्होमाथि सामूहिक बलात्कार तथा आक्रामक यौन दुर्व्यवहारको आरोप प्रमाणित भएपछि उनलाई ९ वर्षको जेल सजाय सुनाइएको छ ।
इटालीको मिलानको एक नाइट क्लबमा सन् २०१३ मा एक २३ वर्षीया अल्बानीयाकी युवतीमाथि सामूहिक बलात्कार गरेको आरोप प्रमाणित भएपछि एसी मिलानका पूर्व खेलाडी रोबिन्होलाई ९ वर्षको जेल सजाय सुनाइएको मार्का डटकमले जनाएको छ ।
अमेरिकन फुटबलर डारेन सार्पर- कैयौं महिलामाथि बलात्कार
अमेरिकन फुटबलर डारेन सार्परले लागूऔषध खुवाएर १६ महिलाको बलात्कार गरेको आरोपमा १८ वर्षको जेल सजाय सुनाइएको छ । अमेरिकी अदालतले उनलाई सन् २०१६ मा उक्त सजाए सुनाएको द गार्जियनले जनाएको छ ।
इंग्लिस फुटबलर एडम जोनसन- नाबालिकसँग यौन सम्पर्क
म्यानचेस्टर सिटी तथा सन्डरल्यान्डका पूर्व मिडफिल्डर एडम जोनसन सन् २०१६ मा कम उमेरकी बालिकासँग यौन सम्पर्क गरेको आरोपमा दोषी प्रमाणित भए । १५ वर्षकी नाबालिकसँग यौन सम्पर्क गरेको आरोपमा एडमलाई पाँच वर्ष जेल सजाय सुनाइयो । सन्डरल्यान्डले उनलाई क्लबबाट हटायो भने एडिडासले उनीसँग गरेको स्पोन्सरको सम्झौता अन्त्य गरेको फुटदबल डटकमले जनाएको छ ।
अमेरिकन फुटबलर कोरी बाटे- अचेत महिलामाथि सामूहिक बलात्कार
सन् २०१३ मा एक अचेत महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा अमेरिकन फुटबलर कोरी बाटेलाई १५ वर्षको जेल सजाय सुनाइएको ब्लिचररिपोर्टले जनाएको छ । अन्य तीन खेलाडीलाई समेत सजाय सुनाइएको थियो ।
उक्त घटनामा अचेत रहेकी २१ वर्षीया युवतीमाथि सामूहिक बलात्कार हुनुका साथै उनको भिडियो खिचिएको तथा उनको मुखमा पिसाब गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया