युरोपा लिगः आर्टेटा भन्छन्, ‘उनाई एम्री युरोपामा सर्वाधिक सफल प्रशिक्षक’
काठमाडौँ: युरोपा लिगको सेमिफाइनल समीकरण पुरा भएको छ । इंगल्यान्डका म्यानचेस्टर युनाइटेड र आर्सनलले युरोपाको अन्तिम चारमा स्थान पक्का गरेका छन् । त्यस्तै, इटालीको एएस रोमा र स्पेनको भिल्लारियल पनि सेमिफाइनलमा पुगेका छन् ।
पहिलो सेमिफाइनलमा युनाइटेडले रोमाको सामना गर्दा दोस्रो सेमिफाइनलमा आर्सनल र भिल्लारियल भिड्नेछन् । कुनै समय आर्सनलकै प्रशिक्षक रहेका उनाई एम्री भिल्लारियलको टिमसँगै आर्सनल फर्कनेछन् ।
युरोपामा एम्रीको रेकर्ड लोभलाग्दो छ । एम्रीले स्पेनी क्लब सेभियालाई लगातार तीन पटक युरोपा जिताएका थिए । अनि आर्सनललाई पनि फाइनलसम्म पुर्याए । एम्रीको यही रेकर्डको सम्मान गर्दै आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले युरोपाकै इतिहासमा एम्री सबैभन्दा सफल प्रशिक्षक भएको प्रतिक्रिया दिएका छन् ।
आर्सनलमा प्रशिक्षक रहँदा एम्री निरन्तर आलोचित रहे । एम्रीलाई प्रतिस्थापन गरेका आर्टेटा पनि आलोचनाबाट बच्न सकिरहेका छैनन् । इंग्लिस प्रिमियर लिगको नऔँ स्थानमा रहेको आर्सनलका लागि भिल्लारियलसँगको खेल महत्वपूर्ण छ । प्रिमियर लिगको शीर्ष चारमा रहेर चयाम्पियन्स लिगका लागि छनौट हुने सम्भावना कम रहेकाले आर्सनलको लक्ष्य युरोपा जित्नु हो । युरोपा जित्न सके आर्सनलले अर्को सिजन च्याम्पियन्स लिग खेल्न पाउनेछ ।
यद्यपि युरोपामा भिल्लारियललाई हराउन सहज नहुने आर्टेटाको भनाई छ । ‘आर्टेटा युरोपामा सर्वाधिक सफल हुने प्रशिक्षक हुन् । त्यसकारण उनको टिमसँग खेल्न हामीलाई पक्कै पनि सजिलो हुनेछैन । हामीले त्यस खेलका लागि बलियो तयारी गर्नुपर्छ । हामी सुधारिएको खेल देखाउन तयार हुनुपर्छ,’ आर्टेटाले बेलायती टेलिभिजन बीटी स्र्पोटर्ससँग भनेका छन् ।
प्रिमियर लिगमा एम्रीले आर्सनललाई कुल ५१ खेलमध्ये २५ मा जित दिलाएका थिए । आर्सनलले लिगमा आर्टेटाको नेतृत्वमा त्यत्ति नै खेल खेलेको छ । र, २२ जित दर्ता गरेको छ । उपाधि जित्ने मामलामा भने आर्टेटा अगाडि छन् । एम्रीले आर्सनल बसाईमा एउटै पनि उपाधि जित्न नसकदा आर्टेटाले भने एफए कप र कम्युनिटी शिल्ड जितिसकेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया