नेपाललाई १३७ रनको लक्ष्य
काठमाडौँ: शनिबार सुरु त्रिकोणात्मक टी-ट्वान्टी अन्तराष्ट्रिय श्रृंखलाको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सबाट १३७ रनको लक्ष्य पाएको छ । नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १३६ रन बनायो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जित्दै बलिङ रोज्यो । नेपालले पहिलो तीन ओभरमा दुई विकेट लिँदै पाहुना टोलीलाई दबाबमा राख्यो ।
पहिलो ओभरको अन्तिम बलमा सन्दिप लामिछानेले म्याक्स ओडोडलाई एलबीडब्लूमा पारे । ओडोडले १० रन जोडे । त्यस्तै बेन कुपर पनि एलबीडब्लू धरापमा पारे । उनी शून्यमा आउट भए ।
डच टिमका अर्का ओपनर स्कट एडवार्डसले ३० रन बनाएर इनिङ सम्हाल्ने प्रयास गरे । बास डे लिडेले ४१ रन बनाए । सन्दिपको बलमा पभेलियन फर्कनुअघि लिडेले ४९ बल सामना गर्दा दुई छक्का र तीन चौका प्रहार गरे ।
डच कप्तान पिटर सिलारले अविजित २२ रन बनाए भने एन्टोनियस स्टालले २० रन जोडे । उनी पनि अविजित रहे । नेपालका लागि सन्दिपले २२ रन खर्चेर दुई विकेट हात पारे भने सोमपाल र शाहब आलमले एक-एक विकेट लिए ।
नेपालका तर्फबाट तीन खेलाडीले नेपालको टी-ट्वान्टी टिमका लागि डेब्यू गरे । आसिफ शेख, कुशल भुर्तेल र शाहबले यसै श्रृंखलाबाट नेपालको टी-ट्वान्टी टिममा पहिलो पटक मौका पाएका हुन् । त्यसमध्ये पनि शाहब पहिलो पटक राष्ट्रिय टिममा परेका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया