खेलकुद

राष्ट्रिय पौडीः विकाश र अनुभवको राष्ट्रिय कीर्तिमान

इकागज |
असोज ७, २०७९ शुक्रबार ८:२६ बजे

काठमाडौँ- प्रदेश नं. १ का विकाश कुमाल र त्रिभुवन आर्मी क्लबका अनुभव सुब्बाले २५ औँ खुल्ला राष्ट्रिय पौडी प्रतियोगितामा राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

कुमालले ५० मिटर ब्रेष्टस्ट्रोकमा ३१.०५ सेकेन्डको र अनुभवले १०० मिटर बटरफ्लाईमा ५९:०० सेकेन्डका साथ नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । २५ मिटर पुलको छोटो दुरीको प्रतियोगितमा यस अघि दुवै विधामा सयद हम्जा शाहको नाममा राष्ट्रिय कीर्तिमान रहेको थियो । शाहले ८ औं राष्ट्रिय खेलकुदमा ५० मिटर ब्रेष्टस्ट्रोकमा ३१.५५ सेकेन्ड र १०० मिटर बटरफ्लाईमा १ मिनट ००:२५ सेकेन्डको किर्तिमान आफ्नो नाममा लेखाएका थिए । 


कुमालले हिट चरणमानै शाहको नाममा रहेको कीर्तिमानलाई भंग गर्दै आफ्नो नाममा ३१.२६ सेकेन्डको किर्तिमान बनाउन सफल भएका थिए ।

५० मिटिर ब्रेष्टस्ट्रोकमा दोश्रो स्थानमा बागमतीका सेरेन सिंह र तेस्रो स्थानमा आर्मीका अनुभव सुब्बा रहे । यस्तै १०० मिटर बटरफ्लाईमा बागमतीका एल्भिन महर्जन र पुलिसका युभान लाल श्रेष्ठ दोश्रो र तेश्रो स्थानमा आए ।

४०० मिटर फ्रिस्टायलको प्रतिस्पर्धामा पुलिसका गौरव लामाले ३ मिनेट ३६.९८ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जिते । पुलिसकै सनिल कुमार थापा र एपिएफका उर्गेन महर्जन दोश्रो र तेश्रो स्थानमा आए । 

२०० मिटर ब्याक स्ट्रोकमा एपिएफका नेन्जिङ्ग नामदोल रायन गुरुङले २ मिनट १९.११ सेकेन्डका साथ स्वर्ण पाए । प्रदेश १ का प्रारम्भ भण्डारीले रजत र पुलिसका गौरव लामाले कास्य पाए । २०० मिटर फ्रिस्टायलमा बागमतीका ईरभिन श्रेष्ठले २ मिनट ४.०७ सेकेन्का साथ स्वर्ण हासिल गर्दा पुलिसका सुविज्ञ मान तुलाधरले रजत र पुलिसकै गौरव लामाले कास्य पाए । 

१०० मिटर ब्रेष्टस्ट्रोकमा प्रदेश १ का बिकास कुमालले १ मिनट ८.४६ सेकेन्डका साथ आफ्नो प्रदेशका लागि दोश्रो स्वर्ण जोडे । बागमतीका सेरेन सिंहले रजत र एपिएफका जाडेन श्रेष्ठले कास्य पाए । ५० मिटर बटरफ्लाईमा एपिएफका तेन्जिन नामदोल रायन गुरुङ्गले २७.२४ सेकेन्ड समयका साथ स्वर्ण हासिल गरे । 

यस्तै आर्मीका अनुभव सुब्बाले रजत र प्रदेश १ का बिकास कुमालले कास्य पाए ।

गण्डकी प्रदेशको पोखरामा आयोजना हुने ९ औं राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै आयोजना गरिएको प्रतियोगिताको ५० मिटर ब्रेष्टस्ट्रोकमा आर्मीकी उपास्ती महर्जनले स्वर्ण जितिन् । उनले उक्त दुरी ३६.९० सेकेन्डमा पुरा गरिन् । प्रदेश १ की सिया सुभांगी बजगाईले रजत र बागमती श्रेनु महर्जनले कास्य पाईन् । 

२०० मिटर फ्रिस्टायलमा आर्मीकी अनुसिया तण्डुकारले २ मिनट १७.०१ सेकेन्डका साथ स्वर्ण प्राप्त गर्दा पुलिसकी समिरा शोभा थापाले रजत र बागमतीकी रोशा न्यौपानेले कास्य पाईन् । १०० मिटर ब्रेष्टस्ट्रोकमा आर्मीकी उपास्तीले आफ्नो ब्यक्तिगत तथा आर्मीका लागि दोश्रो स्वर्ण जितिन् । उनले १ मिनट २२.९१ सेकेन्डका साथ स्वर्ण जितेकी हुन् । 

यस्तै प्रदेश १ की सिया सुभांगी बजगाईले रजत र एपिएफकी राभ्या श्रेष्ठले कास्य पाए । ५० मिटर बटरफ्लाईमा बागमतीकी रोशा न्यौपानेले ३३.११ सेकेन्डका साथ स्वर्ण जोडिन् । आर्मीकी अनुशिया तण्डुकारले रजत र बागमतीकी टिशा महर्जनले कास्य हासिल गरे ।
 


Author

थप समाचार
x