त्रिकोणात्मक टी-ट्वान्टी श्रृंखला
नेदरल्यान्ड्समाथि नेपालको सजिलो जित
काठमाडौँ: शनिबार सुरु त्रिकोणात्मक टी–ट्वान्टी अन्तराष्ट्रिय श्रृंखलाको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको छ । टि–ट्वान्टी टिममा डेब्यू गरेका कुशल भुर्तेल र आशिफ शेखले अर्धशतक प्रहार गरेपछि नेपालले पाहुना टोलीमाथि नौ विकेटको जित हासिल गर्यो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस जित्दै बलिङ रोज्यो । पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेटको क्षतीमा १३६ रनको योगफल तयार पार्यो । नेपालले १५ ओभरमा एक विकेटको क्षतिमा १४१ रन बनायो ।
आक्रमक ब्याटिङ गरेका कुशलले ४६ बल सामना गर्दा ६२ रन बनाए । कुशलले पाँच छक्का प्रहार गरे भने उति नै चौक्का हिर्काए । त्यसैगरी आशिफले ३८ बलमा ५४ रन जोडे । चार छक्का र चार चौका प्रहार गरेका आशिफ अविजित रहे । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले १३ रन बनाए । डच टिमका लागि युलियान डे मेले एक विकेट हात पारे ।
नेपालले पहिलो तीन ओभरमा दुई विकेट लिँदै पाहुना टोलीलाई दबाबमा राख्यो । पहिलो ओभरको अन्तिम बलमा सन्दिप लामिछानेले म्याक्स ओडोडलाई एलबीडब्लूमा पारे । ओडोडले १० रन जोडे । त्यस्तै बेन कुपर पनि एलबीडब्लू धरापमा पारे । उनी शून्यमा आउट भए ।
डच टिमका अर्का ओपनर स्कट एडवार्डसले ३० रन बनाएर इनिङ सम्हाल्ने प्रयास गरे । बास डे लिडेले ४१ रन बनाए । सन्दिपको बलमा पभेलियन फर्कनुअघि लिडेले ४९ बल सामना गर्दा दुई छक्का र तीन चौका प्रहार गरे ।
डच कप्तान पिटर सिलारले अविजित २२ रन बनाए भने एन्टोनियस स्टालले २० रन जोडे । उनी पनि अविजित रहे । नेपालका लागि सन्दिपले २२ रन खर्चेर दुई विकेट हात पारे भने सोमपाल र शाहब आलमले एक–एक विकेट लिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया