जोसे मौउरिन्होलाई बिर्साउने एन्टोनियो कोन्टे
काठमाडौँ : सन् १९९७ मा सिरी ए सिजनको पहिलो दिन । टुरिनको स्टाडियो डेल्ले आल्पीमा युभेन्टस र लेचेबीचको उद्घाटन खेल । खेलको अन्तिम १० मिनेट भित्र युभेन्टसले सरासर दुई गोल गर्यो । पहिलो गोल गरे फिलिप्पो इन्जाघीले । युभेन्टसका मुख्य स्ट्राइकरले ८४ औँ मिनेटमा गोल गरेपछि पालो आयो एन्टोनियो कोन्टेको । मिडफिल्डर कोन्टेले ९३ औँ मिनेटमा हेडर गोल गरे । कोन्टेलाई पास मिलाउने खेलाडी थिए, जिनेदिन जिदान ।
गोलपछि कोन्टेले गज्जबको सेलब्रेसन गरे । त्यसबखत कोन्टेले लेचे आफ्नो पूर्वक्लब भएको बिर्से । अनि लेचे आफ्नै सहर भएको पनि सम्झेनन् । सेलब्रेसनका क्रममा कोन्टेले एउटा मात्रै घुँडाको सहयोगमा ‘स्लाइड’ हाने । त्यसो त घुडाँकै चोटका कारण लामो समयसम्म उनी मैदान बाहिर रहेका थिए । गोल सेलब्रेसनमा उनले आफ्नो घुँडा बलियो भएको संकेत गर्न खोजेका थिए ।
त्यस गोल र सेलब्रेसनले कोन्टेलाई लेचे समर्थकबीच अलोकप्रीय बनायो । कोन्टे करियरको अन्त्यमा लेचे फर्किए । तर लेचे समर्थकको रिस अझैँ मरिसकेको थिएन । जसका कारण कोन्टेले सन्यास नै लिए । प्रशिक्षण करियरको सुरुवात गर्न कोन्टे बारीतर्फ लागे । लेचे समर्थक फेरि रिसाए । कारण थियो, लेचे र बारीबीचको प्रतिद्वन्द्विता ।
कोन्टेले सन् २०१८ मा चेल्सी छाडे । त्यसपछि उनी इटाली फर्किए । अनि इन्टर मिलानको जिम्मेवारी लिए । पहिलो सिजनमा कोन्टेले इन्टरलाई उपाधि नजिक पुर्याए । इन्टर च्याम्पियन युभेन्टस भन्दा एक अंकले मात्रै पछाडि रह्यो । यस सिजन भने इन्टरले कमाल गरेको छ । सिरी ए मा ११ अंकको अग्रता कायम गरेको छ । आइतबार नेपोलीलाई हराए इन्टर अरु पाँच जितको सहयोगमा लिग विजेता बन्नेछ ।
इटालीमा पछिल्लो एक दशक युभेन्टसको दबदबा रह्यो । पछिल्ला नौ सिजन युभेन्टसले अर्को टिमलाई लिग जित्न दिएको छैन । त्यसकारण पनि इन्टरले यस सिजन देखाएको लय महत्वपूर्ण छ । इन्टर भन्दा युभेन्टस आर्थिक रूपमा बलियो टिम हो । इन्टरको भन्दा करिब दुई गुणा ठूलो बजेट छ, युभेन्टसको । यस अर्थमा पनि कोन्टेको सफलता गर्व गर्न लायकको छ ।
कोन्टे शान्त प्रशिक्षक होइनन् । बारम्बार गनगन गरिरहन्छन् । गत सिजन उनको गुनासा अचम्मलाग्दा थिए । च्याम्पियन्स लिग खेल्नु परेकाले सिरी ए जित्न नसकेको उनको भनाइ थियो । अनि आफ्नो टिममा गतिला खेलाडी नभएको पनि बताइरहेका थिए । उनले रोमेलु लुकाकु अनुबन्ध गरेको तथ्य हेक्का राखेनन् । अनि निकोलो बरेल्ला र स्टेफानो सेन्सीलाई पनि बिर्सिए ।
यस सिजन पनि उनी सन्तुष्ट देखिएनन् । च्याम्पियन्स लिगका रेफ्रीहरू एकपक्षीय भएको आरोप लगाए । अनि कोभिड-१९ र इन्टर व्यवस्थापनले अपेक्षाकृत बजेट नदिएको गुनासा त छँदैछन् । चेल्सीमा पनि कोन्टे फरक थिएनन् । बारम्बार गुनासो गरिरहन्थे ।
युभेन्टसमा छँदा कोन्टेले दिएको एउटा प्रतिक्रिया लोकप्रिय बन्यो । ‘युभेन्टसले मलाई च्याम्पियन्स लिग जित्न दबाब दिनु भनेको महंगो रेष्टुरेन्ट गएर १० यूरोमा पेटभर खाना खाउ भन्नु जस्तै हो,’ कोन्टेले भनेका थिए । ५१ वर्षीय कोन्टे रोचक व्यक्ति भएकोमा दुई मत छैन । उनले इटाली र इंगल्यान्डमा लिग जितेका छन् । जसले उनलाई विश्वकै सफल प्रशिक्षकहरूको सूचीमा उभ्याएको छ । यद्यपि उनी पूर्वसहकर्मी जिदान वा पेप ग्वार्डिओला जस्तो ‘आइकन’ बन्न सकेका छैनन् ।
कोन्टे आफ्ना जमानाको राम्रो खेलाडी थिए । तर जिदान वा ग्वार्डिओलाकै स्तरका भने थिएनन् । यद्यपि कोन्टेले इटालीको सिनियर टिमका लागि २० खेल खेले । प्रशिक्षण करियर सुरु गर्दा कोन्टे, जिदान र ग्वार्डिओला जस्तो भाग्यमानी भएनन् । प्रशिक्षकका रूपमा जिदान र ग्वार्डिओलाले विश्वमै ठूला मानिएका क्लबमा मौका पाउँदा कोन्टेको सुरुवात इटालीको दोस्रो श्रेणीबाट भयो ।
कोन्टे शान्त प्रशिक्षक होइनन् । बारम्बार गनगन गरिरहन्छन् । गत सिजन उनको गुनासा अचम्मलाग्दा थिए । च्याम्पियन्स लिग खेल्नु परेकाले सिरी ए जित्न नसकेको बताएका उनले टिममा गतिला खेलाडी नभएको पनि बताए ।
कोन्टे अन्य सफल प्रशिक्षक भन्दा फरक छन् । फुटबल खेलाउने शैली फरक छ । नाम चलेका प्रशिक्षकहरूले आक्रमक फुटबलमा ध्यान दिँदा कोन्टेको इन्टर रक्षात्मक रणनीतिमा चल्छ । पछिल्ला नौ खेलमध्ये तीनमा मात्रै इन्टरले ५० प्रतिशत वा बढी बल पोसेसन राख्न सकेको छ । गत साता सासुओलोलाई पराजित गर्दा इन्टरको बल पोसेसन ३० प्रतिशत थियो ।
कोन्टेको अर्को विशेषता भनेको, सिमित खेलाडीको प्रयोग हो । उनले यस सिजन २३ खेलाडीको प्रयोग गरेका छन् । सिरी ए मा सबै टिमले इन्टरले भन्दा बढी खेलाडीको प्रयोग गरेका छन् । ती खेलाडीमध्ये लुकाकु पनि एक हुन् । जो इन्टरका सबैभन्दा महत्वपूर्ण सदस्य हुन् । उनले गरेको गोल संख्याले त्यस्तै देखाउँछ । कोन्टेको प्रशिक्षणमा ८८ खेल खेल्दा बेल्जियमका लुकाकुले ६१ गोल गरेका छन् । ‘कतिपय प्रशिक्षक, खेलाडीले राम्रो गर्न नसक्दा उसलाई गिज्याउछन् । तर कोन्टे फरक छन् । उनी हामीलाई प्रेरित गर्छन् । यही कारण हो, इन्टरका सबै खेलाडी उनीप्रति मरिहत्ते गर्छन्,’ लुकाकुले भनेका छन् ।
कुनै समय खेलाडीहरू जोसे मौउरिन्होप्रति यसरी नै कृतज्ञता व्यक्त गर्थे । फेरि कोन्टे र मौउरिन्होबीच धेरै समानाता पनि त छन् । रक्षात्मक रणनीतिदेखि सार्वजनिक रूपमा गुनासो व्यक्त गर्ने शैलीसम्म । गत आइतबार काग्लियारीविरुद्ध गोल गरेका असरफ हाकिमीलाई चुम्बन गर्न कोन्टे दौडेर मैदान प्रवेश गरे । कुनै समय मौउरिन्हो पनि यसरी आफ्ना खेलाडीहरूप्रति माया दर्शाउथे ।
तर कोन्टे र मौउरिन्होका कतिपय शैली भिन्न पनि छन् । जुनसुकै अवस्थामा पनि क्लबले आफ्ना खेलाडीहरूको बचाउ गर्नुपर्छ भन्ने मान्यता राख्छन्, कोन्टे । यस मामलामा मौउरिन्हो फरक छन् । उनी सार्वजनिकरूपमै खेलाडीहरूको आलोचना गर्छन् । जसका कारण टोटनहममा धेरै खेलाडी मौउरिन्होसँग खुशी नभएको खबर आइरहेको छ । यसै साता मात्रै पउल पोग्बाले मौउरिन्होको चर्को आलोचना गर्ने बानी ठिक नभएको अभिव्यक्ति दिएका छन् ।
पछिल्ला वर्षहरूमा मौउरिन्होले उस्तै जादु देखाउन सकेका छैनन् । उनी मैदान भित्र होस वा बाहिर, प्रतिक्रिया दिन हतारिन्छन् । खेलाडीको सानो समूहको बढी प्रयोग गर्छन् । सिमित खेलाडीहरूलाई मात्रै विश्वास गर्छन् । उनको ‘म्यान म्यानेजमेन्ट स्किल’ माथि पनि प्रश्न उठाउन थालिएको छ । मुख्य कुरा, मौउरिन्होलाई पछिल्लो समय आफ्नै शैलीले उपाधि जित्न सहयोग गरेको छैन ।
तर कोन्टे आफ्नो शैलीमा सफल छन् । उही रक्षात्मक रणनीतिको सहयोगमा पछिल्ला सात सिजनमा पाँच पटक लिग उपाधि उचालेका छन् । त्यसोभए कोन्टे र मौउरिन्होबीच तुलना किन ? किनभने, अहिलेका कोन्टे र एक समयका मौउरिन्हो उस्तै देखिन्छन् ।
अन्तराष्ट्रिय सञ्चार माध्यमको सहयोगमा
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया