बायर्न म्युनिख छाड्दै हान्सी फ्लिक, जर्मनीको प्रशिक्षकमा नियुक्त हुने सम्भावना
काठमाडौँ: बायर्न म्युनिखका प्रशिक्षक हान्सी फ्लिकले शनिबार आफ्नो निर्णय सुनाए । निर्णय थियो, जारी सिजनको अन्त्यमा क्लब छाड्ने । जर्मन सञ्चार माध्यमको खबर पत्याउने हो भने, फ्लिकले अब राष्ट्रिय टिमको जिम्मेवारी सम्हाल्ने छन् ।
फ्लिकले पछिल्ला १२ महिनामा बायर्नलाई छ उपाधि जिताएका छन् । यस सिजन पनि उनको नेतृत्वमा बायर्नले बुन्डेसलिगा जित्ने सम्भावना बलियो छ । तर पनि फ्लिकले बायर्न छाड्ने मनस्थिती बनाइसकेका छन् ।
‘मैले आफ्नो निर्णय खेलाडीहरूलाई सुनाए । क्लब प्रशासनलाई यसअघि नै जानकारी दिइसकेको थिए । यस्तो निर्णय गर्नु मेरा लागि सहज थिएन । मैले बायर्न जस्तो ठूलो क्लबमा अनुभव बटुल्ने मौका पाए । यस्तो मौका दिएकोमा क्लबप्रति आभारी छु,’ फ्लिकले भने ।
फ्लिकको बायर्नसँगको सम्झौँता सन् २०२३ मा मात्रै सकिँदैछ । सम्झौँता अघि नै जर्मन च्याम्पियनलाई छाड्न लागेका फ्लिकको अबको यात्राबारेमा केही बताइएको छैन । यद्यपि फ्लिक जर्मनीको राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त हुने सम्भावना छ ।
आगामी यूरो कपपछि योकिम लोले राजिनामा दिने भएकाले जर्मनीले नयाँ प्रशिक्षकको खोजी सुरु गरिसकेको छ । जसमा फ्लिकको नाम अग्रपंक्तिमा छ । जर्मनीले सन् २०१४ मा विश्वकप जित्दा फ्लिक लोका सहायक थिए । फ्लिक आफैँले भने जर्मन राष्ट्रिय टिम सम्हाल्नेबारेमा कुनै निर्णय भइनसकेको बताए । यद्यपि मौका पाए आफू पछि नहट्ने उनको भनाई थियो ।
बायर्न यसपटकको च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिएपछि फ्लिकले प्रशिक्षकको पद त्याग्ने हल्ला चलिरहेको थियो । पछिल्लो समय उनको र बायर्नका स्पोटर्स निर्देशक हसन सालिहामिडजिकबचि सम्बनध समुधुर रहन सकेको छैन । विशेषगरी खेलाडी खरिद विक्रिमा यी दुईबीच मतभेद रहँदै आएको छ । जसका कारण फ्लिकले यति चाँडै बायर्न छाड्ने मनस्थितीमा पुगेको बताइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया